प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी बस्ती व्यवस्थापनमा अपनाएको रणनीतिको रवीन्द्र मिश्रले प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै मिश्रले सिधै डोजर नचलाई सरकारले अपनाएको चरणबद्ध प्रक्रियाको सराहना गरेका हुन्।
कुनै पनि काम के गर्ने भन्दा पनि कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण हुने उनले स्मरण गराएका छन्।
‘पहिले सूचना, अनि सहयोग, अनि अस्थायी व्यवस्थापन, अनि प्रमाणीकरण, अनि स्थायी व्यवस्थापन,’ मिश्रले लेखेका छन्, ‘यस्तो अवस्थामा चालिएका कदम योभन्दा राम्रो हुन सक्दैनथ्यो।’
विगतका प्रयासहरूमा जस्तै सिधै लगेर डोजर चलाएको भए आफूले त्यसको भर्त्सना गर्ने मिश्रले सुनाए। यति ठूलो काम गर्दा केही पीडा हुनु स्वाभाविक भए पनि जसको कोही हुँदैन, तिनका लागि राज्य हुनैपर्नेमा उनले जोड दिएका छन्।
यसैगरी, मिश्रले प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग गरेको पहिलो भेटघाटको शैलीलाई पनि अत्यन्तै उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।
प्रधानमन्त्री शाहले वाचा गरेअनुरूप नै आगामी दिनमा देशभरका अतिक्रमित जमिन यसैगरी संवेदनशीलतापूर्वक खाली गरिने र वास्तविक सुकुमबासीको व्यवस्थापन हुनेमा मिश्रले विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: १२ वैशाख २०८३ १९:०८ शनिबार





