२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्योलमा कांग्रेस कार्यकर्ता

रुकुम पश्चिम कांग्रेसले गोतामकोटमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति प्रेमप्रकाश ओली । तस्बिर : नागरिक

संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनको मुखमा मात्र पुर्‍याएन, (दाहाल–नेपाल) समूहलाई सडकसम्म पुर्‍यो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्। नेपाली कांग्रेसको पनि जिल्लास्तरीय विरोधसभा हुँदै कांग्रेसको सडक संघर्ष वडातहसम्ममा पुगेर सकिएको छ। वडातहसम्म आन्दोलनमार्फत पुगेको कांग्रेसले नागरिकको खुल्दुली भने मेटाएन।

कार्यकर्ताको एउटै प्रश्न छ, ‘संसद् पुनस्र्थापना कि चुनाव ?’ कांग्रेसभित्रको यही दुईधारे लाइनले कार्यकर्ता अन्योलमा छन्। झट्ट हेर्दा कांग्रेसका दुईवटा लाइन देखिन्छन्। ‘संसद् पुनस्र्थापना वा चुनावमा जाने।’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संविधानमाथि प्रहार भएकोले पहिलो प्राथमिकता संविधानको रक्षा गर्ने बताउँदै आएको छ। महामन्त्री शशांक कोइरालाले पनि विभिन्न कार्यक्रममा संसद् पुनस्र्थापना पहिलो प्राथमिकता भएको बताउँदै आएका छन्।  

अर्काे पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक त भनेको छ। तर, संसद् पुनस्र्थापनाभन्दा चुनाव पहिलो प्राथमिकता भएको घुमाउरो शैली प्रस्तुत गरेको छ। अहिले दुईतिहाइ मत पाएको नेकपा विभाजनको अन्तिम बिन्दुमा पुगेकाले कांग्रेसले सहज जित्ने आँकलन उक्त पक्षको छ। पार्टीभित्रको गुटगत असरले गर्दा कांग्रेसले निचोड निकाल्न सकेको छैन, जसको प्रभाव तल्लो तहका कार्यकर्तासम्म पुगेको छ। आफू पक्षीय केन्द्रको सर्कुलरअनुसार कार्यकर्ता विभाजित प्रतिक्रिया दिँदै आएका छन्।

नेतृत्वले साझा निणर्य गर्न नसक्दा कार्यकर्तामा अन्योलता मात्र होइन यस्तो संकटमा कांग्रेसभित्रै एक मत नहुनुले उनीहरू चिन्तितसमेत भएका छन्। जिल्ला तहका नेताहरू पनि दोधारे देखिन्छन्। पार्टीभित्र स्पष्ट एक लाइन नहुँदा उनीहरू जनतालाई परिस्थितिअनुसार चल्न सुझाव दिँदै आएका छन्।  

अहिले कांग्रेसले संसद् पुनस्र्थापना की मध्यावधि चुनावको पक्ष भन्न नसकिने भएकाले जनतालाई परिस्थितिअनुसार चल्न सुझाव दिइएको नेपाली कांग्रेस सल्यानका सभापति गणेश चन्दले बताए। ‘संविधानमा व्यवस्था नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुभयो,’ उनले भने, ‘अदालतले ठिकै छ भन्यो भने चुनावमा नगइ भएन। यदी प्रधानमन्त्रीको कदम गलत भन्यो भने संसद् पुनस्र्थापना हुन्छ।’  

पार्टीले वडास्तरसम्मै विरोध कार्यक्रम गरेकाले पार्टीको आधिकारीक धारणा नै संसद् पुनस्र्थापनाको भएको नेपाली कांग्रेस सुर्खेतका नेता नारायण कोइरालाले बताए। ‘प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नभए पनि गैरसंवैधानिक ढंगले संसद् विघटन गर्नुभयो,’ उनले भने, ‘यो प्रतिगामी कदम नै हो।’ उक्त विषय अदालतसम्म पुगेकाले अदालतको निर्णयलाई पर्ख र हेरको स्थितिमा कांग्रेस रहेको उनको भनाइ छ। ‘अदालतले संसद् पुनस्र्थापना गर्छ भने ठीकै छ,’ उनी भन्छन्, ‘चुनावमा जाने भन्छ भने कांग्रेस चुनावमा जान्छ।’ अदालतको निर्णय आउन बाँकी भए पनि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु गैरसंवैधानिक भएको जनतालाई बुझाउन कांग्रेस वडातहसम्म पुगेको उनले जनाए।

संसद् पुनस्र्थापना की चुनावमा जाँदा ठिक हुन्छ भन्ने विषयमा आफूहरू अन्योलमा रहेको हुम्लास्थित सिमकोट वडा नम्बर १ का उपसभापति जय भण्डारीले बताए। ‘कांग्रेसले यतिबेला स्पष्ट भएर वडासम्म पुग्नु पथ्र्याे,’ उनले भने, ‘दुई धारे कुरा आउँदा हामी जनतालाई कसरी बुझाउन समस्यामा छौं।’ अन्य दलहरू भने संसद् पुनस्र्थापना नै पहिलो प्राथमिकता भएको भन्दै प्रधानमन्त्री ओलीको विरुद्धमा विरोध सभा गर्दै आएका छन्। नेपाली कांग्रेसले संसद् विघटनलाई प्रतिगामी र असंवैधानिक कदमभन्दै विरोध गरे पनि स्पष्ट लाइन नदेखिएकाले तल्लो तहसम्मका नेता तथा कार्यकतालाई समस्या भएको छ।

प्रकाशित: १५ माघ २०७७ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App