१० माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले सहभागिता जनाउने भएका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदातासमेत जोड्दा कुल मतदाता संख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको छ। यो संख्या २०७९ को निर्वाचनको तुलनामा एक लाख २८ हजारभन्दा बढीले वृद्धि भएको हो। अघिल्लो निर्वाचनमा कर्णालीमा नौ लाख आठ हजार चार सय ३३ मतदाता थिए।

जिल्लागत रूपमा सबैभन्दा धेरै मतदाता सुर्खेतमा रहेका छन्। सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ मतदाता छन्, जसमा पुरुष एक लाख २१ हजार आठ सय ८९ र महिला एक लाख २७ हजार ५४ छन्। सबैभन्दा कम मतदाता डोल्पामा रहेका छन्, जहाँ २४ हजार एक सय १५ मतदाता छन्। डोल्पामा पुरुष ११ हजार नौ सय २८ र महिला १२ हजार एक सय ८७ मतदाता छन्।

त्यसैगरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९ मतदाता रहेका छन्, जसमा पुरुष ८३ हजार तीन सय २१ र महिला ७९ हजार एक सय २८ छन्। दैलेखमा एक लाख ६१ हजार दुई सय चार मतदाता छन्, जसमा पुरुष ८१ हजार ९९ र महिला ८० हजार एक सय ५ जना छन्। जाजरकोटमा एक लाख सात हजार ९१ मतदाता छन्, जसमा पुरुष ५६ हजार सात सय ५ र महिला ५० हजार तीन सय ८४ छन्।

रुकुमपश्चिममा एक लाख छ हजार छ सय ६० मतदाता रहेका छन्। त्यहाँ पुरुष ५४ हजार दुई सय ६३ र महिला ५२ हजार तीन सय ९६ छन्। कालीकोटमा ८४ हजार छ सय ४६ मतदाता छन्, जसमा पुरुष ४४ हजार छ सय ३ र महिला ४० हजार ४३ छन्। जुम्लामा ७१ हजार सात सय ३९ मतदाता रहेका छन्, जसमा पुरुष ३७ हजार चार सय ५९ र महिला ३४ हजार दुई सय ८० छन्। मुगुमा ३६ हजार ३१ मतदाता छन्, जसमा पुरुष १८ हजार पाँच सय ९८ र महिला १७ हजार चार सय ३३ छन्। हुम्लामा ३४ हजार तीन सय ७२ मतदाता रहेका छन्, जसमा पुरुष १८ हजार २१ र महिला १६ हजार तीन सय ५१ छन्।

सूचना अधिकारी चौलागाईंका अनुसार प्रदेशका १० जिल्लाका लागि कुल नौ सय ४१ मतदान स्थल र एक हजार चार सय ३७ मतदान केन्द्र तोकिएका छन्। मतदान स्थलको संख्या सुर्खेतमा सबैभन्दा धेरै एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुमपश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० रहेको छ।

त्यसैगरी, मतदान केन्द्र सुर्खेतमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुमपश्चिममा एक सय ४०, कालीकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९, डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकामा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर संख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको छ। यसमध्ये पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता छन्।

सुरक्षाका दृष्टिले कर्णाली प्रदेशका चार सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। त्यस्तै, तीन सय एक मतदान केन्द्रलाई सामान्य र छ सय ५१ मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर १४ हजार सात सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ।

प्रकाशित: ८ माघ २०८२ १९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App