४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

‘केपी ओली देशका सम्पत्ति हुन्, जतनसाथ माटोमुनि गाडिदिनुपर्छ’ भन्ने स्टाटस देख्दा दया लाग्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूलाई देशको सम्पत्ति भन्दै जिउँदै गाड्नुपर्ने आसयसहित लेखिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो हिंसात्मक सोच राख्नेहरूको बुद्धिप्रति आफूलाई दया लागेको बताए।

अध्यक्ष ओलीले नयाँ भनिएका राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा देखिएको अराजक र असभ्य अभिव्यक्तिको प्रसंग कोट्याएका हुन्।

उनले भने, ‘मैले एउटा स्टाटस हेरेको थिएँ, केपी ओली देशका लागि अत्यन्त महत्त्वपूर्ण हुनुहुन्छ, सम्पत्ति हुनुहुन्छ। त्यसैले उहाँलाई जतनसाथ माटोमुनि गाडिदिनुपर्छ।’

आफूलाई सम्मान गरेको शैलीमा जिउँदै मार्ने धम्कीपूर्ण भाषा प्रयोग गरिएको भन्दै ओलीले त्यस्तो मानसिकता बोक्नेहरूबाट देश बन्न नसक्ने टिप्पणी गरे।

उनले व्यंग्य गर्दै भने, ‘महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ, देशको सम्पत्ति हुनुहुन्छ, त्यसैले जतनले राख्नुपर्छ, माटोमुनि गाडिदिनुपर्छ ! मान्छे जिउँदै गाडिदिने कस्तो पवित्र भावना ? कस्तो मति, कस्तो बुद्धि ? के यस्तो राजनीतिक संस्कार बोकेकाहरूले देश बनाउँछन् ?’

अध्यक्ष ओलीले राजनीतिमा विचार र तर्कको साटो हिंसात्मक अभिव्यक्ति र असहिष्णुता देखिन थालेकोमा चिन्ता व्यक्त गरे।

उनले नयाँ पुस्ताका भनिएकाहरूमा देखिएको यस्तो कुरुप राजनीतिक चेतले समाजलाई सभ्य बनाउन नसक्ने भन्दै एमाले मात्र सुसंस्कृत र सभ्य समाज निर्माणको बाटोमा रहेको दाबी गरे।

प्रकाशित: १० माघ २०८२ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App