८ वैशाख २०८१ शनिबार
राजनीति

नेताको बोली किन असहिष्णु ?

ग्राफिक्स : कमल सुवेदी

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बन्यो। एकातिर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको गठबन्धन बन्यो भने अर्कोतिर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीको एकल समूह खडा भयो। संसद् विघटन लगत्तै प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा विभिन्न कार्यक्रमको आयोजना चरणबद्ध आन्दोलन सुरु गर्योत। ओली समूहले भने संसद् विघटनको बचाउमा विभिन्न कार्यक्रमहरु गर्न थाल्यो।  

दुबै समूहले एक–अर्कालाई आरोप–प्रत्यारोप लगाउँदै देशभैर विभिन्न कार्यक्रमहरु गर्न थाले। आफूले चालेको कदम सकारात्मक भएको सन्देशसहित प्रधानमन्त्री ओली पश्चिम नेपालको धनगढीसम्म पुगे। ओलीले चालेको कदम राष्ट्रघाती भएको सन्देशसहित प्रचण्ड–नेपाल समूहका अध्यक्ष नेपाल सुर्खेतसम्म पुगेका छन्। देशको राजधानी काठमाडौं उपत्यकामा भएका दर्जनौ कार्यक्रममा यी तीन नेता (ओली, प्रचण्ड र नेपाल)को सहभागिता रहँदै आएको छ।  

तर, रोचक के छ भने प्रचण्ड र नेपालले ओलीलाई गाली गर्दै एक–अर्काको तारिफ गर्दै आएका छन् भने ओली एक्लैले प्रचण्ड–नेपाललाई वाँणयुक्त शब्दले सेक्दै आएका छन्। त्यतिमात्र होइन नेकपाका शीर्ष नेताहरुले ‘सहिद भएको भए श्रद्धञ्जली दिनुहुन्थ्यो’ देखि ‘मांसाहारी आन्दोलनको आवश्यक’ जस्ता असहिष्णु शब्द को प्रयोग गर्ने गरेका छन्।  

प्रसंग १

गत सोमबार (माघ ५ गते) प्रचण्ड–नेपाल पक्षीय अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेडाको संज्ञा दिए। ‘हामीले केपी ओलीजस्ता भेडाहरुसँग लामो समय संगत गर्यौं। त्यसैले अलिअलि भेडाजस्ता हामी पनि भएका छौं कि क्या हो?,’ उनले भनेका छन्, ‘त्यसकारण हामीले एकपट यसो ऐना बोकेर हेरौं। हामी त सिंहका सन्तान हौं। जुरूक्क उठेर गर्जियो भने केपी ओलीजस्ता भेडाहरु सकिन्छन्।’  

प्रसंग २

संसद् विघटनको विरोधमा पुस १४ गते प्रचण्ड–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको आमसभामा माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आक्रामक भाषण गरे। भाषणका क्रमममा नेता नेपालले ओलीले सबैको अपमान गर्ने गरेको आरोप लगाएका थिए। ‘तपाईं (ओली) ले सबैको अपमान गर्दै आउनुभएको छ। अरुलाई मान, सम्मान दिने बानी तपाईंको रहेनछ,’ नेता नेपालले भनेका थिए।

सोही कार्यक्रममा प्रचण्डले नेपालको राजनीति इतिहासबाट ओलीको पत्तासाफ हुने ठोकुवा गरेका थिए। ‘जबसम्म ओलीले म आफैंले बनाएको संविधान बलात्कार गरेँ, म अपराधी हुँ भन्ने छैनन् तबसम्म इतिहासले उनलाई माफी दिने छैन,’ प्रचण्डले भनेका थिए।

त्यसको अर्कोदिन पुस १५ गते सुदूरपश्चिमका ओली पक्षीय कार्यकर्ताले काठमाडौंको एक पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा माधव नेपालको क्यारिकेचर गर्दै प्रधानमन्त्री ओलीले ‘मलाई मान गरेनन् अपमान गरे’ भन्छन् भनेर व्यङ्ग्य गरेका थिए। त्यतिमात्र होइन उनले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको समेत टिप्पणी गरेका थिए।  

सोही कार्यक्रमबाट ओलीले प्रचण्डलाई समेत कडा शब्दमा जवाफ दिएका थिए। उनले कांग्रेसँग मिलेर पनि आफ्नो छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्रलाई धरापमा पारेको आरोप लगाए थिए। ‘छोरी जिताउन तपाईं(प्रचण्ड) कांग्रेससँग मिलेर चुनाव लड्नुभएको थाहा छ हामीलाई, छोरी जिताउन नसकेपछि प्रजातन्त्रको धुजाधुजा पार्नुभयो।’

सोही कार्यक्रमबाट ओलीले प्रचण्ड र नेपाललाई लक्षित गर्दै पार्टी एकता जोगाइराख्न आफूले धेरै मिहिनेत गरेको भएपनि अर्को पक्षले नमानेको बताएका थिए। ‘तीन वर्षमा डोभ साबुनका धेरै डल्ला, स्याम्पु, साबुन, ड्रमका ड्रम, ट्याङकीका ट्याङ्की पानी सकियो, प्रचण्डलाई धुँदा धुँदा। साबुन लगायो, पखाल्यो जस्ताको तस्तै। अन्तिममा तपाईंहरूले देखिहाल्नुभयो,’

उनी त्यतिमा मात्र सीमित भएनन्। उनले अगाडि भनेका थिए, ‘पोहोर म बिरामी परेँ, मरिहाल्छ भने। बैंकक गएँ, काठको  बाकसमा फर्किन्छ भने। तर, म प्लेनको सिटमै फर्किएँ। अस्ति अप्रेसन भयो, इन्फेक्सन हुन्छ, अब गयो भने। उहाँहरूले भविष्यवाणी हुने खालको गर्नै हुन्न। म मर्न त मर्छु, उहाँहरूको आकांक्षा पूरा हुन्छ, अगाडि पछाडि कहिले कसको टुंगो हुँदैन। सत्य हो मर्छु। तर, मान्छे मरोस् भन्ने कल्पना विरोधी शत्रुलाई पनि गर्ने सभ्यता राम्रो हैन।’

प्रसंग ३

गत पुस १९ गते ओली पक्षीय अनेरास्ववियूले काठमाडौंको कार्की बैंक्वटमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड, नेपाललाई लक्षित गर्दै ‘तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्ने अभिव्यक्ति दिएका थिए। ‘ तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो। तपाईंहरु सहिद त होइन। अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन। खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो,’ ओलीले भनेका थिए।  

प्रसंग ४

गत आइतबार (पुस ४ गते) आफू पक्षीय अनेरास्ववियूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसद् विघटनविरूद्ध आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिए। ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो्, आक्रामक हुनुपर्यो । बाघ–सिंह गर्जिएजस्तो गर्जिनुपर्योह ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस्। अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन,’ उनले भनेका थिए। उनले आवश्यक परे आफू ‘टाउको फुटाउन तयार रहेको’ समेत बताएका थिए।

प्राय सबै कार्यक्रममा उनीहरुले एक–अर्कालाई आरोप–प्रत्यारोप, गालीगलौज गर्दै आएका छन्। नेपाली राजनीतिका शीर्ष नेताहरुले अति निम्न स्तरका शब्दहरु प्रयोग गर्न थालेपछि जनस्तरबाट उनीहरुको आलोचना हुन थालेको छ। देशका शीर्ष नेतृत्वबाट नै यस किसिमका प्रवृत्ति दोहोरिनाले समग्र नेपाली समाजलाई कस्तो प्रभाव पर्ला भन्ने प्रश्न उब्जिएको छ।

राजनीतिक विश्लेषक हरि रोका नेपालका सबै राजनीतिक दलमा संस्कार र संस्कृतिको अभाव  रहेको बताउँछन्। उनी पार्टीभित्र वैचारिक बहसहरु नचल्दासम्म अहिलेको जस्तो समस्याहरु निम्तिरहने बताउँछन्। ‘राजनीतिक दलहरुमा सैद्धान्तिक, वैचारिक र सांस्कृतिक विषयहरुमा छलफल एकदम कम हुने गरेको छ। नेपालका राजनीतिक दलहरुले संस्कार निर्माण गर्न सकेनन्। छलफल, अध्ययन, अध्यापनको अभावले नेपालको राजनीति आन्दोलनमा सांकृतिक पाटो कमजोर भएको छ,’ उनले भने।  

उनी भन्छन्, ‘केपीजी त पुख्र्यौलीदेखि नै ‘भल्गारिज्म’को नायक नै हुनुभयो। उखान, टुक्का, व्यंग्यात्मक कुराहरु उहाँ पहिलेदेखि नै गर्नुहुन्थ्यो। त्यो कुनै राजनीतिक संस्कारभित्र पर्ने कुरा थिएन। अब अहिले आएर माधव र प्रचण्डजीले जे बोलिरहनुभएको छ त्यो अलि धेरै अराजनीतिक, अशिष्ट नै देखिन्छ। यसको पछाडिको कारण भनेको पार्टीभित्र संस्कारको विकास नहुनु हो। संस्कार भन्ने कुरा बहस, छलफल, अन्तरक्रिया, अध्ययन, अध्यापन, आम मानिससँगको सहकार्यले सिकाउने हो।’ यस्ता प्रवृत्तिले दूर्गामी प्रभाव पर्ने विश्लेषक रोकाको भनाई छ।

 

प्रकाशित: ६ माघ २०७७ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App