coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–भारत संयुक्त आयोग बैठकः बहुपक्षीय सहयोग र सीमा विवादमा केन्द्रित

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली। तस्बिर : नागरिक

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक शुक्रबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरको अध्यक्षतामा हैदराबाद हाउसमा बसेको संयुक्त आयोगको बैठकमा दुई देशबीच बहुपक्षीय सहयोगका सबै क्षेत्रमा बृहत छलफल र समीक्षा गरियो।  

बैठकमा नेपाल–भारत सीमा विवादलाई छिटो टुंग्याउने विषयमा पनि छलफल भयो। बैठकमा नेपाली पक्षले १९५० को शान्ति र मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने, नेपाल–भारत प्रबुद्ध समूहले पेस गरेको रिपोर्टलाई अन्तिम रूप दिनुपर्ने र भारतले नेपाललाई हवाई प्रवेशद्वार उपलब्ध गराउनुपर्नेलगायत विषय राखेको थियो।  

बैठकमा दुई देशबीच कनेक्टिभिटी, अर्थतन्त्र, व्यापार, ऊर्जा, तेल, ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षासम्बन्धी विषय, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, संस्कृति, शिक्षा र क्षमता अभिवृद्धि, आपसी सम्बन्ध सुधारलगायत सहयोगका विविध क्षेत्रमा छलफल भएको बताइएको छ। यसैगरी कोरोना महामारीविरुद्ध दुई मुलुकबीच भइरहेको सहकार्यको समीक्षा गर्दै भारतले कोभिड भ्याक्सिन उत्पादनमा प्राप्त गरेको सफलताका लागि नेपाली पक्षले बधाई दिएको थियो। भारतमा उत्पादन भएको कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन पनि नेपाली पक्षले अनुरोध गर्‍यो। जबाफमा भारतीय पक्षले नेपाललाई आवश्यक पर्ने भ्याक्सिन उपलब्ध गराउने विश्वास दिलाएको र नेपाल उसको प्राथमिकतामा पर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

बैठकमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै उक्त पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र पूर्वी क्षेत्रमा भारतको सिलगुढीबाट झापासम्म नयाँ पाइपलाइन स्थापना गर्ने विषयमा पनि छलफल भयो। जयनगरबाट जनकपुर हुँदै कुर्तासम्मको पहिलो यात्रुबाहक रेल लाइनको काम पूरा भएको भन्दै दुवै पक्षले त्यसको स्वागत गरेका छन्। साथै रेलवे सेवा सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि गराइयो। त्यस्तै सम्भावित रक्सौल–काठमाडौं–ब्रोडगेज रेलवे लाइन निमार्णलगायत अन्य अन्तरदेशीय रेल सञ्जाल परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ।  

संयुक्त आयोगले सीमा क्षेत्रमा नागरिकहरूको आवतजावत र वस्तुको आयात निर्यातलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ। वीरगन्ज र विराटनगरमा स्थापना गरिएको एकीकृत जाँचचौकी, नेपालगन्जमा निर्माण हुँदै गरेको तेस्रो एकीकृत जाँच चौकीका विषयमा पनि छलफल भयो। भारतले भैरहवामा पनि छिट्टै अर्काे एकीकृत जाँच चौकी स्थापनाको काम अघि बढाउने जानकारी गराएको छ। त्यस्तै पञ्चेश्वर बहुउदेश्यीयलगायत संयुक्त जलविद्युत् आयोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको छ। अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय सहयोगका विविध पक्षमा बैठकको विचार र अनुभव आदानप्रदान भयो। संयुक्त अयोगको अर्काे बैठक दुवै पक्षलाई उपयुक्त हुनेगरी बस्ने सहमति भएको छ।  

असमझदारी हटाउनुपर्ने  

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवादलाई लक्षित गर्दै दुई देशबीच देखिएका असमझदारीका विषयलाई लामो समयसम्म अल्झाएर राख्न नहुने बताएका छन्।इन्डियन काउन्सिल अफ वर्ड अफेयर्सले शुत्रबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले दुवै पक्ष छलफलबाटै सीमा विवाद समाधानका लागि तयार रहेको बताए। उनले दुई देशबीच उत्पन्न असमझदारी आपसी छलफलबाट हटाउने प्रयास निरन्तरता भइरहेको पनि बताए। 

उनले नेपालले सीमा विवाद टुंग्याउने विषयमा पनि छलफल अघि बढाउन चाहेको बताए। सीमा विवाद समाधान भए दुई देशबीचको सम्बन्धमा पनि थप विश्वासको वातावरण बन्ने बताए। उनले नेपाल–भारत सम्बन्धका विविध पक्षमा बोलेका थिए।

प्रकाशित: ३ माघ २०७७ ००:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App