२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्व प्रधानन्यायाधीशहरुलाई बास्कोटाको चुनौति – प्रचण्डको पार्टीबाट चुनाव लड्न आउनुहोस्

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बास्कोटाले संसद् विघटनका सम्बन्धमा विज्ञप्ति जारी गरेका पूर्व प्रधानन्यायाधीशहरुलाई प्रचण्ड–नेपाल नेतृत्वको पार्टीको सदस्यता लिएर चुनाव लड्न आउन चुनौति दिएका छन्। ओली पक्षीय नेकपा काभ्रे जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधनका क्रममा नेता बास्कोटाले अदालतामा विचाराधीनमा मुद्दामा पूर्व प्रधानन्यायाधीशहरुले सडकबाट फैसला सुनाएको भन्दै आक्रोश व्यक्त गरे।

‘केही भूतपूर्वहरुको एउटा वक्तव्य आएको छ, यो यो हुनुपर्ने श्रीमानहरु त्यो वक्तव्य जारी गर्नुभन्दा माधव–प्रचण्डले नेतृत्व गरेको टुटफुटकारी, राष्ट्रविराधी, विकासविरोधी, न्यायविरोधी, स्थिरताविरोधी पार्टीको सदस्य बनेर चुनाप लड्न आउनुहोस्, त्यस्तो वक्तव्य जारी नगर्नुहोस्,’ उनले भने,‘हिजो न्यायालयमा विचाराधीन मुद्दामाथि बोल्न पाइदैन भन्ने तपाईंहरु आज राजनीति गर्नुहुन्छ? आउनुहोस् न राजनीति गर्ने भए, स्वतन्त्रता छ चुनावमा जाने, भूतपूर्वहरुले होइन फैसला गर्ने वर्तमानले गर्ने हो।’

यसअघि हिजो शुक्रबार सर्वोच्च अदालतका चार जना पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षसहितको संयुक्त विज्ञप्ति जारी गरेका थिए।

अर्को प्रसंगमा उनले नेकपाको वैधानिक अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरे। ‘पहिलो अध्यक्ष ओली हो, वैधानिक अध्यक्ष ओली हो र सूर्य चिन्ह हाम्रो हो,’ उनले भने,‘ओली भएको नेकपा आधिकारिक पार्टी हो।’

सम्बोधनका क्रममा उनले सरकाले थुप्रै राम्रा काम गरेको भएपनि पार्टीभित्रैबाट त्यसको विरोध भएको दाबी गरे। ‘सरकारले गरेका कामको विरोध गर्ने काम प्रतिपक्ष पार्टीको हो, तर यहाँ त पार्टीभित्रैबाट विरोध भयो,’ उनले भने। 

प्रकाशित: २५ पुस २०७७ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App