५ वैशाख २०८१ बुधबार
राजनीति

'सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्न चाहिँ नागरिक समाज ?'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गैरसंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरूको साथ खोज्दै हातेमालो गर्न प्रस्ताव राखेको छ। उक्त समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीमा देखिएको ‘बा प्रवृत्ति’ का कारण लोकतन्त्र खतरामा परेको भन्दै यसलाई जोगाउन नागरिक समूहका अगुवाहरूसँग हातेमालो गर्न प्रस्ताव राखेका हुन्।

अन्तर्क्रियामा पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्नचाहिँ नागरिक समाज चाहिने ?’ यस्तो अवस्था आउनुमा केपी ओली मात्रै दोषी नभएको उनले बताए। ‘त्यसमा  तपाईंहरूको पनि दोष छ। तपाईंहरूले हामीलाई किन बोलाउनुभयो ? तपाईंहरूले गरेको फोहोरचाहिँ हामीले सफा गर्ने हो ? यस्तो अवस्था आउनुमा कुनै एक पक्षलाई अस्वीकार गर्नु पनि रहेको छ,’ उनले भने।

अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नागरिक अगुवा एवं अधिकारकर्मी कृष्ण पहाडी, अख्तियार दुरूपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, अधिकारकर्मी मोहना अन्सारी, राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमुख्यसचिव लीलामणि पौडेल, सम्पादक नारायण वाग्लेले नेकपाबाट भएका कमजोरी र गल्तीप्रति नेताहरूले जनतासामु माफी माग्नुपर्ने बताएका थिए। उनीहरूले नेकपाको झन्डामुनि जनता सडकमा आउन मुस्किल हुने समेत बताए।  

मानवअधिकारकर्मी पहाडीले विगतमा नेकपाबाट भएका सैद्धान्तिक र नीतिगत भुलको समीक्षा गरी नेताहरूले गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएमात्रै हातेमालो गरेर आन्दोलनमा जान सकिने बताए। उनले गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि बताए। वरिष्ठ अधिवक्ता दाहालले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सबै दललाई एक भएर आन्दोलनका कार्यक्रम गर्न सुझाए। पूर्वमुख्यसचिव पौडेलले मुलुक अस्थिरतातर्फ र संवैधानिक संकटतर्फ जाने खतरा बढेको बताए। अख्तियारका पूर्वप्रमुख आयुक्त उपाध्याले संविधान बनाउनेहरू अहिले संविधानमाथि ‘कु’ हुँदा समेत बोल्न नसकेको बताए।

‘संविधान बनाउनेले स्वार्थका लागि अहिले नबोलेका होलान्, हामी उत्तरदायित्व भुल्दैनौं, कसैको पछि लाग्दैनौं, देखेजानेका कुरा बोल्छौं,’ उनले भने। सम्पादक वाग्ले र पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रधानमन्त्री ओलीको कदमको कडा शब्दमा विरोध गरे। ‘दोस्रो जनआन्दोलन रिभिजिट’ भएको उनीहरूले बताएका थिए। ‘हिजोको आन्दोलन नबिर्सौं, आन्दोलनपछि दलहरूले बाटो बिराए। अब नागरिक आन्दोलनको जरुरी छ,’ वाग्लेले भने।

प्रकाशित: २४ पुस २०७७ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App