निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आफ्ना एजेन्डा सहितका घोषणापत्र सार्वजनिक गरेका छन्। शुक्रबारसम्म ४१ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन्।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार राजनीतिक दल तथा उम्मेदवारलाई घोषणापत्र सार्वजनिक गरी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी दल तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो।
आयोगका अनुसार ४१ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरी जानकारी गराएका छन्। अन्य राजनीतिक दलहरुले भने आफ्ना घोषणापत्रको कार्यतालिका तयार पारिरहेको आयोगले जनाएको छ ।
त्यसैगरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले प्राप्त उजुरीमाथि जाँचबुझ तथा कारबाही प्रक्रिया समेत अगाडी बढाएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा शुक्रबारसम्ममा ७५ वटा उजुरी परेकोमा ५२ वटा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
जिल्लास्तरमा अनुगमन प्रभावकारी बनाउन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र विषय र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १७:२७ शुक्रबार





