६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहाललाई फकाउने ओलीको प्रयास निरन्तर असफल

फाइल तस्बिर।

प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन्। नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास निरन्तर असफल हुँदै आएका छन्।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे। भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए। तर दाहालले सो विषयलाई खासै महत्व दिएनन्। मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले दाहाललाई भेटेका थिए। उनले त्यतिबेला बैठक रोकेर सहमतिका लागि आग्रह गरेका थिए। तर दाहालले यो कुरा बैठकमै राख्न भनेपछि ओलीले कुनै जवाफ फर्काएका थिएनन्। बुधबारको भेटघाटमा पूर्वएमालेका नेताहरूको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आइतबारको बैठकअघि पनि दाहालसँग निरन्तर सहकार्यको प्रस्ताव राखेका छन्।

शनिबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए। स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले दुवै अध्यक्ष मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने र पार्टी एकताको भावनाअनुसार अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए। ओली पक्षले धेरैपटक गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई कार्यान्वन गर्ने र त्यही निर्णयलाई सहमतिको आधार बनाउनुपर्ने धारणा राख्दै आएका बेला मुख्यमन्त्री पोखरेलले पनि त्यही विषयलाई सहमतिको आधार बनाएर अघि बढ्नुपर्ने, त्यसका लागि प्रधानमन्त्री ओली तयार रहेको सन्देश सुनाएका थिए। तर त्यही भेटमा दाहालले प्रधानमन्त्री ओलीले आफूसँग सल्लाह नै नगरी एकलौटी रूपमा संवैधानिक आयोगका पदाधिकारीको टुंगो लगाउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए। जवाफमा पोखरेलले प्रधानमन्त्रीले संवैधानिक आयोगमा नियुक्तिको विषयमा कुराकानी गर्न पनि चाहेको सन्देश प्रवाह गरेका थिए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश वाहकका रूपमा गएका दुई नेता शंकर पोखरेल र सुवास नेम्वाङलाई कार्यकारी अध्यक्ष दाहालले विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँबाटै निर्णय हुने बताएका थिए।

पोखरेलपछि आइतबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए। उनले पनि पोखरेलकै शैलीमा दुवै अध्यक्ष मिलेर पार्टी र सरकार सञ्चालन गर्नुपर्ने बताएका थिए। ‘दुवै अध्यक्ष मिलेर पार्टी र सरकार सञ्चालन गर्नुपर्छ। पार्टी एकताको मर्म र भावना पनि त्यही हो,’ नेम्वाङले प्रस्ताव गरेका थिए, ‘भदौ २६ को निर्णय कार्यान्वयन गरेर जाऔं, यसो गर्दा कसैलाई पनि अप्ठेरो पर्दैन। पार्टीको नेतृत्वका लागि आगामी महाधिवेशनसम्म कुरौं, अहिले पार्टी एकता मजबुत बनाउने समय हो। दुवै अध्यक्षको असहमतिले कार्यकर्तामा निराशा छाएको छ।’ स्थायी कमिटीको बैठकअघि नेम्वाङले दाहाललाई भेटेका थिए। आइतबारको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको थियो। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका थिए। ‘मैले आइतबार बिहान कार्यकारी अध्यक्षलाई भेटें। उहाँ पार्टी एकताबारे निकै सकारात्मक हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्री ओली पनि यो विषयमा चिन्तित हुनुहुन्छ,’ संसदीय दलका उपनेता नेम्वाङले भने, ‘दुवैजना पार्टी एकतालाई मजबुत बनाउने विषयमा चिन्तित रहेको पाएँ।’ ओलीको सन्देश वाहकका रूपमा गएका दुई नेतालाई दाहालले विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँबाटै निर्णय हुने बताएका थिए।

आइतबारको बैठक पनि पुस १ गतेसम्म स्थागित भएपछि अहिले दुवै पक्षका नेता आ–आफ्नो तयारीमा लागे पनि प्रधानमन्त्री ओलीनिकट नेताहरू ओली र दाहाल दुवैले राखेका प्रस्तावलाई विस्थापन गरेर दुवैको सहमतिमा साझा प्रतिवेदन ल्याउनुपर्ने अभ्यासमा समेत केन्द्रित भएका छन्। तर यो विषयमा नेम्वाङ र पोखरेलले भने दाहाललाई केही बताएका छैनन्। नेकपामा पछिल्लो समय प्रधानमन्त्री ओली र दाहालले आ–आफ्नो गुटका बैठक जारी राखेका छन्। आइतबार झापामा दाहाल–नेपाल समूहले विद्यार्थीको भेला राखेको थियो भने शनिबार ओली समूहले विराटनगरमा युवा विद्यार्थीहरुको भेला गरेको थियो।

आइतबारको स्थायी कमिटी बैठकमा गुट भेलाबारे कुनै पनि विषय उठेको थिएन। आइतबार नेकपाका केन्द्रीय सदस्य कामनसिंह लामाको निधानबारे शोक प्रस्ताव पारित गरेर सकिएको थियो। आइतबारको बैठकमा दाहालले प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठबारे कमानसिंह लामाको परिवारले उठाएको विषयवस्तुबारे सामान्य चर्चा गर्दै नारायणकाजी श्रेष्ठ निर्दोष रहेकाले उनीबारे अनर्गल प्रचार नगर्न आग्रह गरेका थिए। ‘अध्यक्ष प्रचण्डले लामा र एउटा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर जुन प्रचार भएको छ, त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न अनुरोध गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई भने।

प्रकाशित: २९ मंसिर २०७७ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App