coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नेता पौडेलको आरोपः प्रधानमन्त्री ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुल्दी खोला मोटरेबल पुलको उद्घाटन गर्दै । तस्बिर : श्रीहरि/नागरिक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको लडाई भ्रष्टाचार, पक्षपात र कुशासनको विरुद्ध भएको बताएका छन्। व्यास नगरपालिका १, १० र ११ जोड्ने पुल उद्घाटन कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले सो भनाइ व्यक्त गरेका हुन्। ‘ठूल्ठूला घोटाला गर्ने, अर्बौंको काण्डका रचयिताहरुलाई संरक्षण दिने, साना भुरा माछा खाँदै हिँड्ने तर ठूला माछा संरक्षण गर्ने अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलनको जरुरी छ,’ पौडेलले भने। अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन न्यायीक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुने पौडेलले दाबी गरे।

७० वर्षको लडाइनमा पुलिसको दमन र पुलिसको पेलानले कहिले पनि नछोडेको उनले बताए। ‘लोकतन्त्र आएपछि पनि पुलिसको पेलानमा पनुपर्ने स्थिति विद्यमान रहनाले लोकतन्त्र अझै साकार पार्नुपर्ने सिद्ध भएको छ,’ पौडेलले भने। लोकतन्त्र भ्रष्टाचार अन्त्य सुशासन देशको समृद्धि र देशमा आम्दानी र रोजगारीको लागि एकपटक सर्घष गर्नुपर्ने बताए।

बुधबार तनहुँमा पुल उद्घाटनका लागि जाँदा प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीमाथि पौडेल बिहीबार थप आक्रोशित बनेका थिए। प्रहरीको पेलानका कारण शरीर दुखेको बताएका पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाए। ‘जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ नगरे हुन्छ,’ पौडेलले भने। एउटा वाक्य लेखेको भए छुट्ने अवस्थामा पनि अस्वीकार गरेर लोकतन्त्रका लागि लामो समय जेल बसेको पौडेलको भनाइ थियो। ‘०६२/६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै हुन्,’ उनले भने।

राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको छ पौडेलले भने।  

बिहीबार कांग्रेसको शक्ति प्रदर्शन  

नेपाली कांग्रेस तनहुँले बरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको विरुद्धमा तनहुँको दमौलीमा बिहीबार शक्ति प्रदर्शन गरेको छ। पार्टी कार्यालय दमौलीबाट निस्केको विरोध र्‍याली अनचौतारी, सफासडक, पृथ्वीराजमार्गमा हुँदै कार्यक्रम स्थलमा पुगेको थियो। विरोध र्‍याली ओली सरकार र स्थानीय प्रशसानविरुद्ध चर्को नाराबाजी गर्दै करिब ३ किमी दूरी पार गर्दै व्यासको तालघरे १, १० र ११ स्थित पुल उद्घाटन स्थलमा पुगेका थिए। कार्यक्रम सकिन साथ तरुण दलले दमौलीमा साँझ मोटरसाइकल र्‍याली निकोलेको छ।

कांग्रेसको कुनै आह्वान विना पनि सामाजिक संजालको सूचनाका माध्यमबाट नै केपी ओलीको अधिनायकवाद विरुद्ध हजरौ कांग्रेस कार्यकर्ता दमौली झरेका थिए। बरिष्ठ नेता पौडेलसहित कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदिप पौडेल, ध्रुव वाग्ले लगायतका नेता तनहुँ आएका थिए। 

तर, आज भने स्थानीय प्रशासनले पुल उद्घाटन कार्यक्रमलाई कुनै पनि अवरोध गरेन। तत्कालिन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम अन्तरगत २०७३ बैशाखमा पुलको निर्माण काम सुरु गरेको थियो। २ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

प्रकाशित: १८ मंसिर २०७७ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App