२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाङमा राजावादीहरूको विशाल प्रदर्शन

बिहीबार घोराहीमा राजसंस्थाको पक्षमा गरिएको प्रदर्शन । तस्बिर : देवेन्द्र/नागरिक

राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा बृहत प्रदर्शन गरिएको छ। राज संस्था पुनर्स्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले ठूलो शक्ति प्रदर्शन गरे। सैयौैँको संख्यामा मोटरसाइकल र्‍याली गरेका उनीहरुले घोराही बजार परिक्रमा गर्दै राजाको पक्षमा नाराबाजी गरेका थिए। विशाल र्‍यालीमा सहभागी उनीहरुले ‘राजा आउ देश बचाउ’, हिन्दु राज्य कायम गर लगाएतका नारा लगाएका थिए।

युवाहरुको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा राजावादीहरु मात्रै नभई गणतन्त्रवादी दलका कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो। केहि प्रत्यक्ष रुपमै र्‍यालीमा सहभागी भएका देखिए भने केहि गणतन्त्रवादी राजनीतिक दलका कार्यकर्ताहरुले अनौपचारिक रुपमा उक्त आन्दोलनलाई सहयोग समेत गरेका थिए। ‘म आँफू आन्दोलनमा जान मिलेन, तर उक्त आन्दोलनमा मेरो पूर्ण समर्थन छ,’ एक कांग्रेसका कार्यकर्ताले भने ‘आन्दोलनलाई सहयोग पु्र्‍याउनका लागि मैले मेरो मोटरसाइकल आन्दोलनमा प्रयोग गर्न दिएँ।’  

राजावादी बाहेकका दलका कार्यकर्ताहरुले खुलेरै सामाजिक सञ्जाल मार्फत राजावादी आन्दोलनमा सहभागी हुने समेत सार्वजनिक गरेका थिए। ‘अहिलेको शासन प्रणाली भन्दा राजा आएकै बेस भन्ने आभाष देखिन थाल्यो,’अर्का एक स्थानीयले भने ‘राजा ठिक भन्दा पनि अहिलेको शासन व्यवस्थाले राजावादी आन्दोलनको उदय भएको हो।’ दाङमा राजवादीहरुको प्रदर्शनलाई कमजोर आंकलन भने गरिएको थियो। प्रदर्शन गरिएपनि उल्लेख्य संख्यामा जनसहभागिता नहुने आंकलन गरिएको भएपनि बिहीबार घोराहीमा उनीहरुले देखाएको शक्ति प्रदर्शनले अन्य राजनीतिक दललाई चकित तुल्याईदिएको छ।  

र्‍याली पश्चात् आयोजना गरिएको कोणसभामा अहिलेको शासन व्यवस्था र शासकहरुको चर्को आलोचना गरेका प्रदर्शनकारीहरुले मुलुकको बृहत्तर हितका निम्ती राजसंस्था अपरिहार्य रहेको बताएका थिए।

प्रकाशित: १८ मंसिर २०७७ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App