१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार अझै २/३ वर्ष चलोस् भन्ने कांग्रेसको कामनाः नेता बस्नेत

नेपालगन्जमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता मोहन बस्नेत । तस्बिर : अर्जुन/नागरिक

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताएका छन्। नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय खेलकुद विभागले शुक्रबार नेपालगन्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य बस्नेतले सरकारको दिनगन्ती सुरु भएपनि नेपाली कांग्रेसले यो सरकार अझै २/३ वर्ष चलोस् भन्ने कामना गरिरहेको बताए। आगामी चुनावमा जनताले नेकपालाई मूल्यांकन गर्ने उनको विश्वास छ।  

सरकारको गतिविधिबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रै तीव्र असन्तुष्टि ब्यक्त भइरहेको उनले स्पष्ट पारे। वर्तमान सरकारले कांग्रेस कार्यकर्तालाई विभिन्न बहानामा दुःख दिने काम गरिरहेको र प्रहरी प्रशासनलाई सरकारले गलत रुपमा प्रयोग गरिरहेको आरोप लगाए। सरकारले जनताका अपेक्षा र चाहनालाई कत्तिपनि पुरा गर्न नसकेको बताउँदै पूर्वमन्त्री बस्नेतले भने, ‘सरकारले गर्नुपर्ने काम कांग्रेसले गरिरहेको छ, हामीलाई काम गर्दा ठाउँ–ठाउँमा रोक्ने काम भइरहेको छ।’ विगतमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेको, पटक पटक सरकारको नेतृत्व गरेपनि कांग्रेसले कहिल्यै बदलाको भावना नराखेको उनको भनाइ छ।  

शुक्रबार नै नेपाली कांग्रेस बाँकेको कार्यालयमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता बस्नेतले कोरोना महामारीलाई कारण देखाएर पार्टीको अधिवेशन अब लम्ब्याउन नहुने तर्क गरे। उनले भने, ‘कोरोना ठिक होला र हामीले अधिवेशन गरौला भन्ने हो भने अधिवेशन कहिल्यै हुँदैन, भारत र अमेरिकामा त चुनाव भइसक्यो।’  

पार्टीमा कसलाई कहाँ र कुन भूमिका दिने, कसलाई कहाँ सुरक्षित गर्ने भन्ने मात्रै विषय रहेको स्पष्ट पारे। कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले बिधानले दिएको अधिकार अनुसार नेतृत्व चयन हुने बताए। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको आन्तरिक कलहमा नेपाली कांग्रेस अहिले समावेश हुन नसक्ने उनले जोड दिए। कांग्रेस बाँकेका सभापति किरण कोइरालाले जिल्लामा कांग्रेस कार्यकर्ताहरु सुरक्षित भएर काम गर्न कठिनाइ भएको बताए। नेकपा कार्यकर्ताको रबैयाका कारण कांग्रेस कार्यकर्तालाई आफ्नो ज्यान बचाएर काम गर्न समस्या भइरहेको दुखेसो पोखिन्।

प्रकाशित: १२ मंसिर २०७७ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App