१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार मनको गरिब छैन, निजी क्षेत्रलाई गच्छे अनुसार सहयोग गर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ले अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउनका लागि सरकारले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन्।  

नेपाल उद्योग वाणिज्य महासंघको साधारणको बिहीबार उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएको दाबी गरे। ‘सरकार मनको गरिब होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो क्षमता र गच्छे अनुसार निजी क्षेत्रलाई सहयोग गर्छौ।’ कोभिडले अर्थतन्त्रमा पारेको असरलाई पराजित गरेर माथि उठाउन निजी क्षेत्रलाई साथ दिन अनुरोध गरे।

विकसित मुलुकले विभिन्न प्याकेज ल्याएको भए पनि नेपाल सरकारको क्षमता कम भएकाले गच्छे अनुसार अपेक्षा गर्न उनले उद्योगी, व्यवसायीलाई आग्रह गरे। ‘अभिभावकको क्षमता अनुसार अपेक्षा गर्न अनुरोध गर्दछु,’ ओलीले भने।

अर्थतन्त्रमाथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे। नीति निर्माण र व्यवहारिक समस्या समाधान गर्न साथ दिने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गरे। निजी क्षेत्रले अवसर र मौका पाए राम्रो काम गर्ने गरेको बताए। ‘सरकारले भन्दा निजी क्षेत्रले सृजनात्मक काम गरेको छ,’ उनले भने।  

कोभिड-१९ र अबको अर्थतन्त्रको बारेमा छलफल गरेर महासंघले सुझाव दिने विश्वास व्यक्त गरे। अहिले साझा समस्या भोगेकाले संयुक्त प्रयासबाट हुने बताए। ओलीले उत्पादन बढाउन, रोजगारी सृजना गर्ने उद्योग सञ्चालन गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक वृद्धिदरका लागि सरकारले निजी क्षेत्रलाई सघाउनु पर्ने बताइन्। प्रधानमन्त्रीबाट निजी क्षेत्रको विकासमा प्रयास गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्यको अपेक्षा व्यक्त गरिन्।

महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ। निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन्। ढकालको प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार रहेका छन्।

प्रकाशित: ११ मंसिर २०७७ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App