१३ असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ः प्रदेश पदक र स्वास्थ्य सेवा विधेयक पारित

प्रदेश २ को प्रदेशसभा बैठकले सोमबार दुईवटा विधेयक पारित गरेको छ। प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो।  

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्तुत गरेको प्रदेश पदकसम्बन्धी विधेयक र सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्तुत गरेको स्वास्थ्य सेवासम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ। बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समिति सभापति रामचन्द्र मण्डलले प्रदेश वन विधेयक २०७७ उपर दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा पेस गरेका छन्।

त्यस्तै, पूर्वाधार विकास अध्ययन विशेष समितिका अध्यक्ष परमेश्वर साहले प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक उपर दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन पेस गरेका छन्।

प्रदेशमा उत्कृष्ट कार्य गर्नेलाई प्रदेश सरकार स्थापना दिवसको अवसरमा १५ पदकबाट सम्मन गर्ने विधेयक प्रदेश पदक पनि पारित भएको छ। विधेयकमा सरकारले सम्मानित गर्ने व्यक्तिलाई नगद पुरस्कार समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

मनोबल बढाउन सरकारले दिने पदक वितरण गर्दा अख्तियार गर्ने विधि र प्रक्रिया सहि नभए पदकको अपमान हुने भन्दै वितरण समिति प्रभावकारी बनाउन सांसदहरुले सुझाव दिएका छन्।

कोभिड १९ को महामारीका तीन महिनादेखि अवरुद्ध रहेको प्रदेशसभा बैठक आइतबारदेखि सुचारु भएको हो। सोमबार एकै दिन दुईवटा विधेयक पारित गरेपछि सभामुख सरोजकुमार यादवले अर्को बैठक मंगलबार दिउँसो एक बजे आह्वान गरेका छन्।

प्रकाशित: २६ आश्विन २०७७ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App