१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ ‘लोगो’बारे सांसद भन्छन्: नेपालको नक्सा स्कुल पढ्दा बनाएजस्तो पनि छैन

पुनः ‘फिनिसिङ’ गर्न दिने सचिवालयको तयारी

नेपालको अद्यावधिक नक्साअनुसार नयाँ बनाइएको संघीय संसदको प्रतीक (लोगो) भद्दा भएको भन्दै व्यापक आलोचना भइरहेको छ। यसबारे अहिले सामाजिक सञ्जाल र सांसदहरूले व्यापक टिप्पणी गरिरहेका छन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद नविना लामाले पनि नयाँ लोगो भद्दा भएको प्रतिक्रिया दिइन्। आफूले लोगो नलिएको भए पनि फिनिसिङ राम्रो नभएको उनको टिप्पणी छ।  

‘मैले पनि सामाजिक सञ्जालमा हेरें,’ नागरिकसँग उनले भनिन्, ‘फिनिसिङ कत्ति पनि मिलेको देखिएन। त्यस्तो त नहुनुपर्ने! निकै आलोचना पनि भइरहेको छ।’ फिनिसिङ राम्रो बनाएर लोगो पुनः फिनिसिङ गर्नुपर्नेमा उनले जोड दिइन्। ‘यो नेपाली कला र संस्कृतिसँग पनि जोडिएको कुरा हो। लोगो फेरि फिनिसिङ गर्नुपर्छ,’ उनले भनिन्।

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही) ले पनि हाल बनाइएको लोगो आकर्षक नभएको बताए। नेपालको नक्सा ठ्याक्कै देखिने गरी बनाउनुपर्ने उनको भनाइ छ। २०६४ को संविधानसभाको लोगो पनि हातले नै बनाइएको स्मरण गर्दै उनले अहिलेको एकदमै भद्दा देखिएको टिप्पणी गरे। ‘लोगोमा नेपाली कला र कलाकारिताको प्रयोग देखिएन,’ उनले भने, ‘यसअघिको लोगो उत्कृष्ट थियो। 

अहिले पनि सोही लोगोमा नेपालको अद्यावधिक नक्सामा समेटिएको कालापानी र लिपुलेक थपिएको भए हुन्थ्यो। तर त्यस्तो देखिएन। नेपालको नक्सा पनि हुबहुजस्तो देखिँदैन। एउटा इँटामा चुचुरो बनाएजस्तो भयो। हामी स्कुल पढ्दा बनाएको जस्तो पनि भएन।’ पहिलेकै ढंगले पुनः नयाँ लोगोे बनाउनुपर्नेमा उनले पनि जोड दिए।  

नयाँ डिजाइन गरिएकाे लाेगाे। तस्वीर साैजन्यः संसद सचिवालय

जनता समाजवादीकी सांसद चन्द्रा चौधरीले पनि अहिलेको लोगो राम्रो नभएकाले अर्को बनाउनुपर्ने बताइन्। पहिलेको राम्रै भए पनि यसपटकको लोगोको फिनिसिङ नमिलेको जस्तो देखिएको उनको भनाइ छ। यो परिवर्तन नगरे आगामी संसदमा पनि कुरा उठाउने उनले बताइन्।

पुनः फिनिसिङ गर्न दिने सचिवालयको तयारी

व्यापक आलोचना भएपछि केही लोगोलाई पुनः फिनिसिङ गर्ने तयारीमा संसद सचिवालय पुगेको छ। फरकफरक कलाकारले बनाएकाले केही लोगो अस्वाभाविक देखिएको स्वीकार गर्दै परिवर्तनका लागि केही लोगो दिइने सचिवालयले जनाएको छ।  

सचिवालयका सहायक प्रवक्ता दशरथ धमालाले लोगो हस्तनिर्मित भएकाले मेसिनले बनाएजस्तो हुन नसकेको स्वीकार गरे। ‘हस्तनिर्मित भएको हुनाले मेसिनले बनाएको भन्दा फरक पर्नु स्वाभाविकै हो,’ उनले भने, ‘एक जनाले वा मेसिनले बनाएको होइन। एकभन्दा बढी कलाकारले बनाएका हुनाले केही लोगोमा सामान्यतः केही भिन्नता छन्। जुन स्वाभाविक हो।’

कतिपय अस्वाभाविक देखिएका लोगोलाई पुनः फिनिसिङका लागि दिइने उनले बताए। ‘कतिपय हामीलाई प्राप्त अस्वाभाविक खालका लोगो हामीले फिर्ता पठाएर पुनः बनाउन लगाउँछौं, लगाइरहेका छौं।’  

सांसदहरूले यसअघि संविधानसभामा बनाइएका लोगो राम्रो भएको टिप्पणी गरिरहे पनि सहप्रवक्ता धमालाले भने पहिलेको र अहिलेको लोगोमा खासै भिन्नता नभएको दाबी गरे। ‘पहिले पनि हातैले त्यही ठाउँबाट बनाएको हो। त्यति बेलाको र अहिलेकोमा खासै भिन्नता छैनन्,’ उनले भने।  

सुरुमै केही अस्वाभाविक लोगो बाहिर गएकाले बढी आलोचना भएको उनले दाबी गरे।  

साउन ३२ गते नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण गरिएको थियो। संघीय संसदका महासचिव भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए।

गत जेठ ११ गते प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यले प्रयोग गरिरहेका लोगो नेपालको वास्तविक सीमाअनुरूपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा र रोस्ट्रममा प्रयोग भइरहेको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो।  

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो। प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको संसद सचिवालयले जनाएको छ। ८७ वर्षीय टेकवीर मुखियाले संसदको लोगो डिजाइन गरेका हुन्।

प्रकाशित: २ भाद्र २०७७ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App