ताप्लेजुङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ९६ हजार २३८ पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ५१ हजार ८१८ पुरुष र ४४ हजार ४२० महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जिल्लामा हालसम्म तेस्रो लिङ्गी मतदाता भने दर्ता भएका छैनन्।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ९० हजार ३२७ मतदाता थिए। त्यतिबेला ४८ हजार २८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता कायम थिए। त्यसयता मतदाताको संख्या ५ हजार ९११ ले वृद्धि भएको देखिन्छ।
आर्थिक वर्ष २०८२/८३ मा कार्यालयमा उपस्थित भई जैविक विवरणका आधारमा १ हजार १७७ पुरुष र ९४० महिला गरी २ हजार ११७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
त्यसैगरी राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा ८६३ पुरुष र ५९७ महिला गरी १ हजार ४६० जनाको नाम मतदाता नामावलीमा थपिएको छ। यसरी एक आर्थिक वर्षमा कुल २ हजार ४० पुरुष र १ हजार ५३७ महिला गरी ३ हजार ५७७ जना नयाँ मतदाता नामावलीमा समावेश भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सोही अवधिमा ३१ पुरुष र १० महिला गरी ४१ जनाले मतदाता नामावलीको प्रतिलिपि प्रमाणित गरिदिन निवेदन दिएका थिए।
यस्तै, अघिल्लो आर्थिक वर्षमा ७७४ जनाले मतदाता नामावलीमा ठेगाना परिवर्तन गरेका, १२३ जनाको विवरण सच्याइएको, २०४ जनाको नाम हटाइएको तथा १७० जनाको दोहोरो मतदाता नामावली खारेज गरिएको सूचना अधिकारी दुलालले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालयले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरिसकेका तर मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई अनलाइनमार्फत पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ १५:५० बिहीबार


-600x400.jpg)


