१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘इनफ इज इनफ’ अभियानमा कांग्रेसको ऐक्यबद्धता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूले सतप्रतिशत पिसिआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका मागसहित अनशनमा बसेका ‘इनअफ इज इनअफ’ अभियान्ताको मागप्रति ऐक्यबद्धता जनाएका छन्। सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै असार २३ गतेदेखि वसन्तपुरमा अनशनमा बसेका युवाको अभियानमा कांग्रेस शीर्ष नेताले समर्थन जनाएका हुन्।  

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेताहरू वसन्तपुर पुगेर अभियानले अघि सारेको मागप्रति समर्थन गरेका छन्। सभापति देउवा शनिबार वसन्तपुर पुगेर अभियानप्रति ऐक्यबद्धता जनाए। अभियन्तासँगको भेटमा राजनीतिक दलहरूले पनि जनताको पक्षमा काम गर्ने जनाउँदै सभापति देउवाले ‘इनअफ इज इनअफ’ले अघि सारेका माग जनताको हितमा रहेको बताए। पिसिआर परीक्षणको दायरा बढाउन, क्वारेन्टिनको अवस्था सुधार गर्न कांग्रेसले पनि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको जनाउँदै देउवाले भने, ‘हाम्रो पार्टीको ऐक्यबद्धता छ। उहाँहरूको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनुहुन्न। ओली सरकारले तुरुन्तै युवाहरूको माग सम्बोधन गरोस्।’

अनशनरत युवाहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै देउवाले शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरिरहेकोप्रति पनि असन्तुष्टि जनाए। सभापति देउवासँगै वसन्तपुर पुगेका पूर्वमहामन्त्री सिटौलाले अनशनरत युवाहरूले उठाउँदै आएका माग देश जनताको हितमा रहेकाले सम्बोधन गर्न सरकारसँग माग गरे।

त्यस्तै, कांग्रेस नेता पौडेलले पनि आइतबार वसन्तपुर पुगेर अभियानप्रति ऐक्यबद्धता जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारलाई अटेरीको संज्ञा दिँदै पौडेलले पिसिआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अनशन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए। ‘अनशनपछि पनि राज्यले ध्यान नदिनु सरकारको चरम लापरबाही हो,’ नेता पौडेलले भने, ‘यसको जति निन्दा गरे पनि पुग्दैन। सरकारले तुरुन्त माग सम्बोधन गरोस्।’  

केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु,  शेखर कोइराला, गगनकुमार थापासहितका नेताले पनि आइतबार नै वसन्तपुर पुगेर अनशनप्रति ऐक्यबद्धता जनाएका थिए।  यसअघि पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीसहितका नेता पनि वसन्तपुर पुगेर अभियानप्रति समर्थन जनाएका थिए।

प्रकाशित: १९ श्रावण २०७७ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App