२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

'कम्युनिस्टबाट शासन व्यवस्थामै खतरा'

नेपाली कांग्रेसका शीर्ष नेताहरूले कम्युनिस्ट शासनका कारण संविधानसभाबाट जारी नयाँ संविधानसहित लोकतान्त्रिक शासन व्यवस्थामाथि नै खतरा उत्पन्न भएको बताएका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल थापासहित नेता तथा कार्यकर्तालाई मंगलबार पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेताहरूले नयाँ संविधानद्वारा स्थापित मूल्यमान्यता र स्थापित शासन प्रणालीको रक्षामा लाग्नुपर्ने समय आएको बताएका हुन्।  

कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार राज्यका सबै अंगहरू आफ्नो नियन्त्रणमा राख्न सक्रिय भएको बताए। संवैधानिक अंग, सञ्चारमाध्यमदेखि सबैलाई नियन्त्रण गर्न सरकार सक्रिय रहेको भन्दै देउवाले भने, ‘मिडिया, फोन ट्यापिङदेखि सरकार सबैतिर नियन्त्रण गर्न खोज्दै छ। यो बेला प्रजातान्त्रिक शक्तिहरू एक हुन जरुरी छ।’

राप्रपा परित्याग गरेर कांग्रेसको सदस्यता लिएका थापाले मुलुकमा लोकतान्त्रिक शक्ति र लोकतान्त्रिक संस्थालाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताए।

कार्यक्रममा नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरू संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयनका लागि तयार नभएको आरोप लगाए। नयाँ संविधानले आत्मसात् गरेका व्यवस्थालाई स्वीकार गर्नभन्दा त्यसलाई भत्काउनमै उनीहरू सक्रिय भएको बताउँदै पौडेलले परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले फेरि एक पटक संघर्ष गर्नुपर्ने समय आएको बताए। त्यस्तै, उपभापति विमलेन्द्र निधिले कम्युनिस्टहरूबाट संविधान, शासन व्यवस्था र बहुदलीय प्रणालीमा संकट आइपरेको धारणा राखे। त्यसको संरक्षणका लागि सुनीलबहादुर थापासहित नेताहरू कांग्रेस प्रवेशले लोकतन्त्रवादी शक्ति थप बलियो बनाएको निधिले दाबी गरे।  

राप्रपा परित्याग गरेर कांग्रेस सदस्यता लिएका थापाले कांग्रेससँगको ६५ वर्षअघिको पुरानो सम्बन्धलाई जोडेको बताए। मुलुकमा लोकतान्त्रिक शक्ति र लोकतान्त्रिक संस्थालाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको थापाले बताए। थापालाई कांग्रेस सहमहामन्त्रीको जिम्मेवारी दिने सहमति भए पनि पार्टी प्रवेश कार्यक्रममा सभापति देउवासहित नेताले साधारण सदस्यता र माला लगाएर पार्टी प्रवेश गराएका थिए। थापाले कांग्रेस प्रवेश गर्न चाहने आफूसहित राप्रपाका ४२ नेता तथा कार्यकर्ताको नाम कांग्रेसलाई पहिल्यै बुझाइएका थिए। तीमध्ये पाँच नेताले कांग्रेस केन्द्रीय सदस्य र दुईले आमन्त्रित सदस्यको जिम्मेवारी पाउनेछन्।  

प्रकाशित: १४ श्रावण २०७७ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App