राष्ट्रिय जनमोर्चाले श्रीमती हत्याको आरोपमा सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका पूर्वडिआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएकोमा ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले जुन आधार देखाएर त्यो फैसला गरेको छ, त्यो सही नभएको बताएका छन्। 'त्यो हत्याको घटना तत्काल आवेगमा आएर अप्रत्यासित रुपमा भएको होइन। त्यतिबेला नै घटनाको अनुसन्धान गर्दा घटना नियोजित रुपमा भएका तथ्यहरु प्राप्त भएका थिए। जहाँसम्म साना बालबालिकाको संरक्षणको कुरा छ, त्यस प्रकारका बर्बर हत्याराबाट बालबालिकाको संरक्षण हुन सक्दैन भन्ने नजीर अदालतबाट स्थापित भइसकेको छ। अहिले ती बालबालिका ठूला भइसकेका छन्। त्यसकारण सर्वोच्च अदालतको त्यो फैसला सही छैन', विज्ञप्तिमा भनिएको छ।
उक्त फैसला भ्रष्टाचार वा अनुचित प्रभावका आधारमा भएको हुन सक्ने जनमोर्चाले औल्याएको छ। सरकारले मुद्दाको पुनरावलोकन गर्न निवेदन दिएकोमा पार्टीले त्यसको स्वागत गरेको छ।
न्यायलयमा हुने भागवण्डाले समेत विभिन्न प्रश्न उठाउने गरेको केसीले बताएका छन्। 'प्रायः न्यायपरिषद्, प्रधानन्यायाधीश, न्यायाधीशमा हुने नियुक्ति, तिनका निर्णय तथा कार्यहरुका बारेमा प्रश्न उठ्ने गरेका छन्। त्यसले न्यायपालिकाको स्वस्थ, स्वच्छ र न्यायिक छवि बिग्रदै गएको छ'', विज्ञप्तिमा भनिएको छ, 'न्यायपालिकाप्रतिको जनविश्वास र भरोसा पनि खतम हुँदै गएको छ। ठूला दलहरुले उच्च निकायहरुका अधिकारीहरु नियुक्ति गर्ने बेलामा तिनको योग्यता, क्षमता तथा इमान्दारिताको आधारमा नभई भागवण्डाको आधारमा नियुक्ति गर्दा यसप्रकारका काम कारबाही हुने गरेका छन्।'
अहिलेका प्रधानन्यायाधीशको तल्ला अदालतहरुमा छँदा नै राम्रो छवि नभएको जनमोर्चाले बताएको छ।
प्रकाशित: ११ श्रावण २०७७ ०८:२९ आइतबार





