७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपामा फेरि जबज चर्चा

पार्टी एकीकरणका बेला एकीकृत पार्टीको राजनीतिक कार्यदिशा के हुने भन्नेमा माथापच्ची भएको नेपाल कम्युस्टि पार्टी (नेकपा) मा फेरि जनताको बहुदलीय जनवाद (जबज) को विषय उठान भएको छ। पछिल्लोपटक यो विषय वरिष्ठ नेता माधव नेपालले उठाएका हुन्। उनले अब हुने एकता महाधिवेशनमा बहुदलीय जनवादलाई छलफलको विषय बनाउनुपर्ने बताएका छन्।  

खुमलटारमा आइतबार बिहान भएको भेलामा नेपालले भने, ‘जबजको सिद्धान्त नै नेपालको कम्युनिस्ट आन्दोलनको मार्गचित्र हो। म यसको पक्षमा छु। तपाईंहरु अर्ली महाधिवेशनको कुरा गर्दै हुनुहुन्छ। जबजमा खुला छलफल आवश्यक छ। महाधिवेशनअघिबाटै यसलाई बहसको विषय बनाएर जाऔं।’ उनले थपे, ‘अहिले पनि जबज सान्दर्भिक रहेकाले यस्तो प्रस्ताव गरेको हुँ। यसमा कसैले अन्यथा मान्नुपर्दैन।’

पार्टी एकीकरणका बेला नेपालकै संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखिएको थियो। त्यहाँ राजनीतिक कार्यदिशा भनेर जनताको जनवाद उल्लेख छ। ‘पार्टी एकताको सन्दर्भमा जनताको जनवादलाई स्वीकार गरिएको हो। महाधिवेशन भएको छैन। सबै चिज महाधिवेशनले निर्धारण गर्ने हो। त्यसकारण पनि जबज नै अहिलेको मूल कार्यदिशा हुनुपर्छ भन्ने मेरो लाइन हुनेछ’, स्रोतले नेता नेपालको उद्धृत ग¥यो। पार्टीभित्र सचिवालय सदस्य ईश्वर पोखरेलले पनि जबज नै पार्टीको मूल कार्यनीति हुनुपर्ने भन्दै आएका छन्। यस विषयमा नेता नेपाल हालसम्म मौन थिए।

शनिबार भएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि नेता नेपालले जबजको कुरा उठाएका हुन्।  

नेपाल समूह दाहालसँग सशंकित
आन्तरिक विवादमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पूर्वअडानमा अडिग रहे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने ढुलमुले देखिएका छन्। आन्तरिक विवाद बढ्दै जाँदा ओलीको विरोधमा साथ लिएका सहयात्रीलाई धोका दिँदै दाहालले पूर्वअडानमा कायम गर्न नसक्दा उनको स्वभाव ढुलमुले देखिएको हो।

आन्तरिक विवादमा नेता नेपालको बलियो साथ पाएका दाहालले शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई साथ दिएका थिए। मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्ने थाहा हुँदा पनि दाहालले ओलीको प्रस्तावलाई साथ दिएपछि दाहालले आफूहरुलाई धोका दिएको महसुस नेपाल पक्षले गरेको थियो। ओली र दाहाल एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानु र त्यहाँ पार्टी एकताको समयमा साक्षी बसेका महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुले नेपाल पक्ष झन् सशंकित भएको हो।  

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि वरिष्ठ नेता नेपालले जबजको कुरा उठाएका छन्।

दुवै पदबाट राजीनामा नदिने, अरु विषयमा छलफल गर्ने ओली अडान यथावत् छ। नेपाल पनि पार्टी पद्धतिअनुसार सञ्चालन हुनुपर्ने, एक पद एक जिम्मेवारी हुनुपर्ने अडानमा अडिग छन्। दाहालले नेपालको अडानमा सहमत हुँदै प्रधानमन्त्री राजिनामा मागेका थिए तर शनिबार अर्ली महाधिवेशनको प्रस्तावमा सहमति जनाउन पुगे। ओलीसँगको पटकपटकको छलफलबारे दाहालले नेपाललाई ब्रिफिङ गरे पनि पछिल्ला घटनाक्रमबाट भने नेपाल पक्ष सशंकित बनेको छ। चाँडै महाधिवेशन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा केही पद हेरफेर गरेर सहमति गर्नेजस्ता विषयमा दाहाल लचिलो बन्दै गएका छन्।  

ओलीको प्रस्तावमा दाहालले सहमति जनाएपछि शनिबार बैठकमै नेपालले दुवै अध्यक्षले चोचोमोचो मिलाएर सहमति गरे आफू विधि र पद्धतिको विषयमा देशव्यापी रुपमा कार्यकर्तामाझ जाने बताएका थिए।  

दाहालले धोका दिएको महसुस गरेपछि नेपालले शनिबार राति नै निकटका नेतासँग छलफल गरेका थिए। आइतबार बिहान पनि दाहाल निवास पुगेर नेपालले यस विषयमा छलफल गरेका हुन्।  

दाहालले नेपाल रिसाएको थाहा पाएपछि राति नै आफ्नो सचिवालयमार्फत कुनै सहमति नभएको भन्दै बचाउ गरेका  थिए। आइतबारको छलफलमा आफू परिबन्दमा परेको समेत बताएर दाहालले नेपाल समूहलाई आस्वस्त पार्न खोजेका थिए। पार्टी सचिवालय र स्थायी कमिटीमा ओलीका विपक्षमा बहुमत हुँदा पनि दाहालले अडान कायम राख्न सकेका छैनन्। नेपाल समूहका एक नेताका अनुसार दाहाल ओलीसँग ‘पावर सेयरिङको बार्गेनिङ’ गर्ने र लाभ लिने काममा लागेका छन्। ‘हामीले सुरुदेखि नै विधिविधानको कुरा गरेका थियौं। पदलाई पहिलो प्राथमिकता दिएनौं। माधव नेपालले प्रधानमन्त्री वा अध्यक्ष दुवै पद आफूलाई चाहिँदैन भनेर धेरैपटक भन्नुभएको छ। हाम्रो कुरा के हो भने पार्टीभित्र विधि र पद्धति हुन्छ, त्यसअन्तर्गत आएको एक जिम्मेवारी एक व्यक्तिको विषय अहिले पनि अडानकै रुपमा छ, दायाँबायाँ भएको छैन’, नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने।  उनका अनुसार नेपालको अडानका बारेमा ओली पक्ष स्पष्ट छ। उनीहरु नेपालले राखेका विषयमा भन्दा पनि दाहाललाई फकाएर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद कायम राख्ने र नेपाल पक्षलाई कमजोर बनाउने रणनीतिमा भएको उनले बताए। ओली समूहका नेताहरुले दाहालसँग अर्ली महाधिवेशन गर्ने र उनलाई एकल अध्यक्ष दिने बताइरहेका छन्।  

गत वैशाख १५ मा नेपाललाई पनि ओलीले ‘अर्ली महाधिवेशन’ कै प्रस्ताव गरेर अध्यक्ष बनाउने बताएका थिए, जसलाई नेपालले अस्वीकार गरे। त्यही प्रस्ताव ओलीले ३१ असारको ‘वान टु वान’ छलफलमा दाहालसमक्ष राखे। बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न नसक्ने बरु मंसिरमा महाधिवेशन गरेर अध्यक्ष पद लिन भनेपछि दाहाल फेरिए। फलस्वरुप शनिबार सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव दुवै अध्यक्षका तर्फबाट आएको भन्दै प्रस्तुत गरियो।

‘दाहालले आगामी मंंसिरमा एकता महाधिवेशन गरेर विवाद समाधान गर्ने ओलीको प्रस्तावमा आफू एक्लैले समर्थन नगर्ने बताउनुभयो’, आइतबार बिहान दाहाललाई भेट्न पुगेका नेपाल पक्षधर एक नेताले भने। आइतबार खुमलटारस्थित आफ्नै निवासमा दाहालले वरिष्ठ नेताहरू झलनाथ खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोलाएर ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए। उनले महाधिवेशको प्रस्ताव ओलीको मात्रै भएको स्पष्टीकरण पनि दिए। छलफलमा नेपालले निश्चित पदको लेनदेनका लागि नभई पार्टी र सरकारलाई ठीक तरिकाले सञ्चालन गर्न निश्चित पद्धति बनाउनुपर्नेमा जोड दिएका थिए।

जवाफमा दाहालले भने, ‘त्यो (अर्ली महाधिवेशन) प्रधानमन्त्रीको मात्रै प्रस्ताव हो। मैले त सदस्यताको टुंगो छैन, नवीकरण र अभिलेखीकरण प्रक्रिया बढेकै छैन, विचारको प्रश्नमाथिको छलफल बाँकी नै छ भनेर प्रश्न गरिरहेको छु।’ खुमलटार भेलामा गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, वर्षमान पुन, जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल, रघुजी पन्त, मुुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, युवराज ज्ञवाली, बेदुराम भुसाललगायतका स्थायी समिति सदस्यहरु पनि सहभागी थिए। दाहालले वामदेव गौतम र रामबहादुर थापा तथा विष्णु पौडेलसँग भने बिहान छुट्टै छलफल गरेका थिए।

दिनभर नेपालनिकट र आफूनिकट नेतासँग छलफल गरेर दाहाल साँझ ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। दुई अध्यक्षको भेटमा महासचिव पौडेल र शर्मा पनि सहभागी थिए। करिब दुई घण्टा भएको छलफलका विषयवस्तुबारे कुनै जानकारी बाहिर आएको छैन।

प्रकाशित: ५ श्रावण २०७७ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App