८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल–भारत विवादः भारतमा काम गर्ने नेपाली सशंकित

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेपछि चिसिएको नेपाल भारत सम्बन्ध अहिले संवादहिन अवस्थामा छ। नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि सीमा विवाद थप चर्कियो।  

सीमा विवाद जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भारत लक्षित विभिन्न अभिव्यक्ति दिए। भागवान राम नेपालमा जन्मेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएपछि त्यसको दुवै देशभा विरोध भयो। उक्त अभिव्यक्तिको भारतीय सत्तारुढ दल भाजपाका प्रवक्ताले निन्दा नै गरे। भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले अभिव्यक्तिको विरोध गर्दै आएका छन्।  

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको परराष्ट्र मन्त्रालयलेसम्म स्पष्टिकरण दिनु पर्यो। परराष्ट्रले विज्ञप्तिमार्फत प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा आघात पुर्याउने उद्देश्यले नगरिएको भन्दै विज्ञप्ति जारी गर्योर।  

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले दुईदेशको सम्बन्ध नागरिक स्तरमै बिग्रिन सक्ने आँकलन हुन थालेको छ। दुई देशका नागरिकबीचमा तिक्तता उत्पन्न हुन थालेको कतिपयले बताउने गरेका छन्। यसको मारमा भारतमा रहेको लाखौं नेपाली पर्ने उनीहरुको चिन्ता छ।

भारतको बनारसमा भएको एउटा सुनियोजित घटनाले त्यहाँ रहेका नेपालीहरुमा थप त्रास बढ्यो। घटना तीन दिनअघिको हो। बनारसमा भारतीय हिन्दु सेनाका कार्यकर्ताले एक जनाको कपाल मुण्डन गरेर नेपाल विरोधी नारा लगाउन बाध्य पारे। मुण्डन मात्रै होइन उनीहरुले प्रधानमन्त्री ओलीकाविरुद्ध बोल्न लगाउने, राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा समेत लगाउन लगाए। जुन भिडियो समेत सामाजिक सञ्जालमा भाइरल छ।  सुरुमा उनी नेपाली रहेको भारतीय सञ्चार माध्यमले समाचार सम्प्रेषण गरे। सोही आधारमा नेपालमा पनि समाचारहरु आए। 

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले दुईदेशको सम्बन्ध नागरिक स्तरमै बिग्रिन सक्ने आँकलन हुन थालेको छ। दुई देशका नागरिकबीचमा तिक्तता उत्पन्न हुन थालेको कतिपयले बताउने गरेका छन्। यसको मारमा भारतमा रहेको लाखौं नेपाली पर्ने उनीहरुको चिन्ता छ।

तर उनी नेपाली नभइ भारतीय नै रहेको त्यहाँको प्रहरीले पुष्टि गर्यो। एक भारतीयलाई नै प्रलोभनमा पारेर नक्कली नेपाली बनाइ उक्त कार्य गरिएको प्रहरीको भनाइ छ।  उक्त घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको र उनीहरुलाई कारबाहीको दायरामा ल्याइने स्थानीय प्रशासनले प्रतिवद्दता समेत जनाएको छ। यस घटनाको विषयमा नयाँ दिल्ली स्थीत नेपाली राजदूत निलाम्वर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन वार्तासमेत गरेका छन्।  

भारतमा रहेका नेपाली सशंकित

उक्त घटना सुनियोजित भए पनि भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु समेत त्रसित भएका छन्। उत्पन्न परिस्थितिका कारण भारतमा बस्न असहज हुन थालेको त्यहाँ रहेका नेपालीहरु बताउँछन्। भारतको हरियाणा राज्यको करनालमा बस्ने गोपीराम जैशी पछिल्लो समय भारतीयहरुले नेपालीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउँछन्। खास गरी भारतीय हिन्दु समुदायका मानिसहरुले नेपालीमाथि दुर्व्यवहारसम्म गर्न थालेको उनको भनाइ छ। करनालमै मःम पसल सञ्चालन गर्दै आएका गोर्खाका एक युवालाई उदृत गर्दै जैशीले भने, ‘पछिल्लो समय भारतीयहरुले नेपालीहरुलाई दुर्व्यवहार गर्न थालेका छन्। केही बोल्यो कि पसलमा नास्ता खाएर पैसा नदिएरै जान्छन्। पैसा माग्दा उल्टै धम्की दिन्छन्।’  

उनीहरुले हाम्रै नुन खाएर हाम्रैविरुद्ध बोल्ने भन्दै चेतावनी समेत दिने गरेको उनले सुनाए। जैशीकाअनुसार कतिपयले त्यहाँ रहेका नेपालीलाई आफ्नो देश फर्किन समेत चेतावनी दिन थालेका छन्। जैशीले भने, ‘अहिले नेपालीलाई कतिपय ठाउँमा अपमान गर्न थालेका छन्।’

दुई देशबीचको तिक्तताको कूटनीतिक माध्यमबाट समाधान नभए भारतमा काम गर्ने लाखौं नेपाली प्रभावित हुने उनको ठहर छ।  

त्यस्तै बैंलोरमा रहेका करण विक पनि अवस्था असमान्य रहेको बताउँछन्। भारतीयहरुले नेपालीमाथि अपशब्द प्रयोग गर्न सुरु गरेको उनको भनाइ छ।

‘पहिलेभन्दा फरक व्यवहार गर्न थालेका छन्।’ विकले नागरिकसँग भने, ‘त्यस्तो ठूलो समस्या त तत्काल देखिएको छैन। तर नेपालीहरु डराएका छन्। कारोना प्रभावले पनि नेपालीहरुले काम गुमाएका छन्। यही बेला भारतीयहरुले अर्को निहुँ पाएका छन्। कतिपय ठाउँमा कुटपिट गर्नेसम्मका घटना पनि भएका छन्।’

घटना अरु नै भए पनि अहिले प्रधानमन्त्रीको अभिव्यक्तिको र दुई देशको सीमालगायतका विवादका विषय पनि जोड्ने गरेको उनले बताए। विशेष गरी घरायसी काम गर्ने नेपालीहरु बढी डराएको उनको भनाइ छ।  

प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय  सदस्य कमल रावलले दुई देशबीचको राजनीतिक विवाद र प्रधानमन्त्री ओलीको अभिव्यक्तिले भारतमा काम गर्ने लाखौं सोझा साझा नेपालीले दुःख पाउने अवस्था आएको बताए।  

दुई देशको सम्बन्ध बिग्रिएको स्मरण गर्दै त्यसको मारमा यहाँ रहेका नेपाली परेको उनको भनाइ छ। प्रधानमन्त्रीले यो पटक मात्रै होइन यसअघिका अभिव्यक्तिले समेत भारत चिढिएको उनले बताए। विवाद दुई देशबीचको भए पनि यसको असर नागरिक स्तरमै देखिन थालेको उनको भनाइ छ।  

‘विवाद दुई देशबीचको हो। यसको तत्काल कूटनीतिक तवरले समाधान गरिएन जनस्तरमै यसको असर पर्छ। भारतमा जनस्तरमै पनि यस विषयमा कुरा गर्न थालिएको छ।’ उनले भने, ‘जस कारण यहाँ रहेका नेपाली त्रसित छन्। यो विवाद लम्बिदै गए नेपालीहरु प्रभावित हुनेमा दुई मत छैन। कतिपय ठाउँमा नेपालीहरुलाई धम्क्याउन थालिएको गुनासो आइरहेको छ।’ कोरोनाले थलिएका भारतमा रहेका नेपाली दुई देशबीचको पछिल्लो विवादले थप आहत भएको रावलले बताए।

 

प्रकाशित: ४ श्रावण २०७७ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App