१ मंसिर २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाँच दिनमै अस्तव्यस्त बन्यो अमेरिका : विमान रोकिए, माइक्रोसफ्ट बन्द, बैंकिङ सेवामा पनि समस्या

अमेरिकामा पाँच दिनभित्रै एकपछि अर्को प्रविधि प्रणालीमा समस्या देखिएपछि सर्वसाधारणमा चिन्ता बढेको छ।

पहिले माइक्रोसफ्टका इमेल तथा कार्यालयसम्बन्धी सेवा अवरुद्ध भए। त्यसपछि हवाई उडान प्रभावित भए भने सोमबार (स्थानीय समयअनुसार) बैंकिङ सेवा र पैसा पठाउने प्रणालीमा समेत समस्या देखियो।

अमेरिकाको संघीय उड्डयन प्रशासनको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या आएपछि देशभरका उडान केही घण्टाका लागि रोकिएका थिए। माइक्रोसफ्टको आउटलुक, टिम्स र कोपाइलटलगायत सेवा पनि अवरुद्ध भएका थिए।

सोमबार जेपी मोर्गन चेज बैंकको प्राविधिक समस्याले हजारौँ ग्राहकलाई अनलाइन बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ भयो। युनाइटेड एयरलाइन्सको प्रणालीमा आएको समस्याले पनि उडान प्रस्थानमा ढिलाइ भएको थियो।

लगातारका यी घटनाले सामाजिक सञ्जालमा समेत चिन्ता बढाएको छ। कतिपय प्रयोगकर्ताले बैंकिङ सेवा, माइक्रोसफ्ट र हवाई उडानमा एकपछि अर्को समस्या देखिनु असामान्य भएको भन्दै प्रश्न उठाएका छन्। तर विज्ञहरूले यी घटनाबीच समन्वित साइबर आक्रमण भएको कुनै प्रमाण नरहेको बताएका छन्।

मूर इनसाइट्स एन्ड स्ट्राटेजीका संस्थापक प्याट्रिक मूरहेड यी घटनाले प्रविधि प्रणाली पूर्ण रूपमा ध्वस्त भएको संकेत नगर्ने बताउँछन्। उनका अनुसार समस्या महत्वपूर्ण पूर्वाधार केही सीमित प्रविधि प्रणालीमा अत्यधिक निर्भर हुनु हो। ‘एउटा प्रणालीमा समस्या आउँदा त्यसको असर राष्ट्रिय स्तरसम्म पुग्छ,’ उनले भने।

नोट्रे डेम विश्वविद्यालयका प्राध्यापक माइक च्यापलका अनुसार आधुनिक प्रविधि प्रणाली एकअर्कासँग जोडिएकाले एउटा सानो त्रुटिले पनि धेरै सेवामा असर पार्न सक्छ। उनका अनुसार सरकारी ठेकेदारको उपकरण वा जडानसम्बन्धी त्रुटिका कारण हवाई ट्राफिक नियन्त्रण प्रणाली प्रभावित भएको थियो।

त्यस्तै, माइक्रोसफ्टको समस्या सञ्जालमा गरिएको परिवर्तन र त्यससँग जोडिएको प्राविधिक त्रुटिका कारण आएको थियो। भर्जिनिया टेकका प्राध्यापक अली बटका अनुसार सामान्य प्राविधिक परिवर्तनले पनि ठूलो प्रणालीमा अप्रत्याशित असर पार्न सक्छ। त्यसैले कुनै परिवर्तन गर्नुअघि त्यसले अन्य प्रणालीमा पार्ने प्रभावको परीक्षण गर्न आवश्यक छ।

सोमबार अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको समस्याको मुख्य कारण जेपी मोर्गन चेजको आन्तरिक प्रणालीमा आएको सफ्टवेयर त्रुटि थियो। अमेरिकाको सबैभन्दा ठूलो बैंक चेजले प्राविधिक समस्याका कारण कारोबारमा ढिलाइ भएको र सेवा पुनः सञ्चालनका लागि काम भइरहेको जनाएको थियो।

समस्याका कारण बैंकका केही ग्राहकले अनलाइन खाता र कारोबारमा कठिनाइ भोग्नुपरेको थियो। बैंक अफ अमेरिका, सिटीग्रुपलगायत अन्य बैंकका ग्राहकले पनि चेजसँग जोडिएका कारोबार गर्दा ढिलाइ भएको अनुभव गरेका थिए। यद्यपि ती बैंकका आफ्नै सेवा प्रणालीमा समस्या नरहेको चेजका प्रवक्ता जो इभान्जेलिस्टीले बताए।

पैसा पठाउने प्रणाली जेलेमा पनि चेजका ग्राहकसँग सम्बन्धित कारोबारमा ढिलाइ भएको थियो। तर जेलेको आफ्नै सञ्जालमा भने समस्या नरहेको सञ्चालक कम्पनी अर्ली वार्निङ सर्भिसेजले जनाएको थियो।

चेजले उक्त समस्या साइबर आक्रमणका कारण नभई सफ्टवेयर त्रुटिका कारण आएको स्पष्ट पारेको थियो। बैंकका अनुसार ग्राहकको खाता र रकम सुरक्षित थिए। सोमबार दिनको अन्त्यसम्ममा समस्या समाधान हुने अपेक्षा गरिएको थियो।

अमेरिकी अधिकारी र सम्बन्धित कम्पनीहरूले बैंकिङ, माइक्रोसफ्ट र हवाई सेवामा देखिएका समस्या एकअर्कासँग सम्बन्धित नरहेको बताएका छन्। यी सबै घटना केही दिनको अन्तरालमा भए पनि समन्वित साइबर आक्रमणको प्रमाण भेटिएको छैन।

तर विज्ञहरूले आधुनिक जीवनका अत्यावश्यक सेवा सीमित प्रविधि प्रणालीमा निर्भर हुँदै जाँदा यस्ता समस्या भविष्यमा अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

प्राध्यापक अली बटका अनुसार प्रविधि प्रणालीमा परिवर्तन गर्नुअघि त्यसको सम्भावित प्रभाव परीक्षण गर्ने, चरणबद्ध रूपमा लागू गर्ने र समस्या देखिएमा त्यसलाई अन्य प्रणालीमा फैलिन नदिने व्यवस्था आवश्यक छ। ‘मानिसहरू आत्तिनुपर्छ? पर्दैन। तर राम्रो इन्जिनियरिङको माग गर्नुपर्छ,’ उनले भने। एजेन्सीको सहयोगमा

प्रकाशित: १ मंसिर २०८३ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App