१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध युवा अनशनमा

सडकमै सुतेर, पम्प्लेट बाँडेर सरकारविरुद्ध गर्दै आएको सडक प्रदर्शनलाई युवाहरूले फरक रूप दिएका छन्। १ महिनादेखि देशभर सरकारविरोधी प्रदर्शन गर्दै आइरहेका उनीहरू आफ्नो माग पूरा गराउन ६ दिनदेखि अनशन बसिरहेका छन्।  

ललितपुरको सम्पदा क्षेत्र मानिने पाटन मंगल बजारमा दुई युवा अनशनरत छन्। सरकारले आफ्नो माग पूरा नगरेसम्म अनशन नतोड्ने दाबी उनीहरूको छ। युवाहरूले पिसिआर परीक्षणको दायरा बढाउन, आरडिटी टेस्ट रोक्न, क्वारेन्टिनको उचित व्यवस्थान गर्न, खर्च विवरण पेस गर्न, नागरिकप्रति उत्तरदायी हुन र महामारीका बेला सरकार गम्भीर हुनुपर्ने माग राख्दै आएका छन्।

विवेकशीलका केन्द्रीय सदस्य पुकार बम र सदन गुरुङ अनशनमा बसेका हुन्। उनीहरूसँगै अनशन बसेकी युवती सुभानी सिजापतिलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ।  

उनीहरूको अवस्था बुझ्न बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांगे्रस केन्द्रीय सदस्य गगनकुमार थापा र रवीन्द्र मिश्र मंगलबजार पुगेका थिए। उनीहरूले अनशन बसेका युवाको माग सरकारले पूरा गर्नुपर्ने तर्क राख्दै समर्थन जनाए।

कांगे्रस केन्द्रीय सदस्य थापाले युवाहरूले सरकारलाई ध्यानाकर्षण गराउन खोजेको भए पनि सरकारले त्यसलाई चासो नदिएको बताए। ‘युवाहरूले धेरै तरिकाले सरकारको ध्यानाकर्षण गराए तर कसैले कुरा सुनेन, उनीहरू निराश हुँदै अनशनमा आएका छन्,’ उनले भने, ‘मैले ऐक्यबद्धता जनाउँदै युवाको आवाज उठाउँदै आएको छु।’

कोरोना भाइरस नियन्त्रणमा सरकारको कामकारबाही सही नभएको बताउँदै स्वतन्त्र युवा समूह ‘इनफ इज इनफ’ र ‘काभिड–१९’ ले प्रदर्शन गर्दै आइरहेका थिए। यिनै समूहमा आबद्ध युवाले प्रदर्शनको शैली परिवर्तन गर्दै अशसन बनेका हुन्। प्रदर्शनको नेतृत्व गर्दै आइरहेको महेश तण्डुकारका अनुसार अनशनमा सहभागीले पानीसमेत खाएका छैनन्। तर, उनीहरूको आवाज भने सरकारले सुनेको छैन। उनले सरकारले आफ्नो माग पूरा नगरे प्रदर्शनको शैली बदल्ने बताए।  

यसअघि प्रदर्शन गर्दै उनीहरूले विदेशबाट नेपालीलाई समयमै उद्धार गर्न नसकेको, क्वारेन्टिनको बेहाल अवस्था, महामारीका बेला पनि सरकारले गरेको कर असुली, महामारीविरुद्ध लड्न झिनो व्यवस्थापनलगायत विषयको पनि विरोध गरेका थिए।  

सरकारको केही समयअघि कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको घोषणा गरेको थियो। त्यसलगत्तै त्यसको विवरण माग्न युवा सडकमा उत्रिएका थिए।

उक्त समूहले सरकारले आफ्ना माग नसुनेको भन्दै बुधबार प्रेस विज्ञप्ति पनि जारी गरेको थियो। त्यसमा सरकारले सामान्य माग पूरा गर्न नदिएको विषय उल्लेख छ। ‘सरकारले यस्तो बेलामा पनि आफ्नो लाचारीपन प्रस्तुत गर्दै आइरहेको छ, यो निकै लाजमर्दो विषय हो,’ विज्ञप्तिमा भनिएको छ। युवाले सरकारी कामकारबाहीको विरोध गर्दै हस्ताक्षर संकलन पनि गरेका छन्। साथै जनप्रतिनिधिलाई एसएमएसमार्फत प्रश्नको जवाफ माग गर्दै आइरहेका छन्। युवा समूहले एक महिनायता मुलुकभर सयभन्दा बढी स्थानमा शान्तिपूर्ण र सिर्जनात्मक विरोध प्रदर्शन गर्दै आइरहेका छन्।

महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रामेश्वर ट्वाटीले भिडभाडलाई नियन्त्रण गर्दै अनशन बस्न दिइएको बताए। ‘केही दिन भिडभाड पनि भयो, त्यसलाई हामीले नियन्त्रण गर्दै दुरी कायम राखेर अनशन बस्न दिएका छौं,’ उनले भने। उनका अनुसार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा शुक्रबारदेखि युवाहरू अनशन बस्दै आइरहेका छन्।

प्रकाशित: १८ असार २०७७ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App