लकडाउन खुकुलो बनाउने निर्णयसँगै दुई सिफ्टमा कार्यालय संचालन गर्ने सरकारी निर्णय प्रभावहिन देखिएको छ । सरकारले असार १ गतेदेखि सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरि दुई सिफ्टमा संचालन गर्ने निर्णय गरेपनि कार्यान्वयनमा समस्या देखिएको हो ।
कोरोनाको बढ्दो प्रभाव, अधिकांश कर्मचारी विदामा र राजश्व संकलन र अत्यावश्यक सेवासँग जोडिएका बाहेकका कार्यालयहरूमा सेवाग्राहीनै नपुग्दा दुई सिफ्टमा कार्यालय संचालन गर्ने निर्णय कार्यान्वयनमा समस्या भएको हो ।
हाल अधिकांश कार्यालय पुग्दा कतिपय ठाउँमा सेवाग्राही पुग्ने कार्यालय बन्द रहेको हुने देखिएको छ भने कतिपय कार्यालयहरूमा कर्मचारी बस्ने तर विहान साँझ सेवाग्राही सेवा लिनै नपुग्ने समस्या देखिएको छ । सरकारले आवश्यकता र औचित्यनै नहेरी दुई सिफ्टमा कार्यालय संचालन गर्ने निर्णय गरेपनि प्रभावकारी नदेखिएको हो ।
सरकारले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल लागु गर्ने भनेपनि त्यसलाई पनि वेवास्ता गरिएको छ । मन्त्रीपरिषदको निर्णयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सिफ्टमा कार्यालय संचालन गर्नका लागि जारी गरेको १३ बुँदे निर्देशनको समेत कार्यालयहरूले पालना गरेका छैनन् । अधिकांश मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीलाई बोक्न गाडी भएपनि ति गाडीहरू समेत संचालनमा ल्याइएको छैन ।
सिंहदरबारका अधिकांश मन्त्रालयहरूमै दुई सिफ्टमा सेवा संचालन छैन । सरकारले विहान ८ बजेदेखि कार्यालय खोल्ने निर्णय गरेपनि विहान साढे नौ बजेपछि बल्ल मन्त्रालयहरूमा कर्मचारी आउने क्रम सुरु हुन्छ । केही मन्त्रालयहरूमा केही कर्मचारी बोलाएर विहान कार्यकक्षहरू खुला राख्नेसम्म गरिएको छ भने अधिकांश मन्त्रालयहरू विहान बन्द रहने गरेका छन् । ‘बेलुकी त यताउता गर्दा ढिला हुन्छ, अवेरसम्म पनि बसिन्छ तर विहान भने कार्यालय आउने १० बजेनै हो,’ सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका एक कर्मचारीले भने, ‘सिंहदरबारभित्र दुई सिफ्टको खासै पालना भएको छैन ।’
मालपोत, कर, श्रम, जिल्ला प्रशासन, कम्पनी रजिष्टार, यातायात लगायतका सेवाग्राहीको भीडभाड हुने कार्यालयहरूमा कर्मचारी पुगेर कार्यालय खुला राखेपनि सम्वन्धीत फाँट हेर्ने कर्मचारी ढिला आउने, कतिपयमा सेवाग्राहीनै नपुग्ने समस्या देखिएको छ । यसको कारण विहान पुगेका मानिसहरू पनि दिउँसोसम्म कुर्नुपर्ने र झनै भीडभाड देखिने गरेको छ ।
‘दुई सिफ्टमा भन्ने समाचारपछि म कम्पनीको एउटा काम लिएर विहान ८ बजे आएँ, नौ बजेसम्म यहाँ कोही कर्मचारीनै थिएनन्, केही कर्मचारी आए तर मेरो समस्या हेर्ने शाखाका मान्छे अहिले साढे १० बजेसम्म आएका छैनन्,’ कम्पनी रजिष्टारको कार्यालयमा सेवाग्राहीको भीडमा भेटिएका मैतीदेवीका रमण पोखरेलले भने, ‘दुई सिफ्टमा कार्यालय संचालन गर्ने भनेर के गर्नु, कर्मचारी समयमै आउँदैनन्, आएका कर्मचारीले मैले हेर्ने होइन एकछिन कुर्नुस् भन्छन् ।’
सरकारले कोरोना संक्रमण जोखिम घटाउन कार्यालयमा कर्मचारी, सेवाग्राहीमा सामाजिक र भौतिक दुरी घटाउन भनेपनि मालपोत, कर, यातायात लगायतका कार्यालयहरूमा भने दिउँसो थेग्नै नसक्ने गरि भीड लाग्ने गरेको छ । न त ति कार्यालयहरूमा आवश्यक शौचालय, हात धुने, सावुन पानीको व्यवस्था गरिएको छ न त सेवाग्राहीलाई भौतिक दुरी पालना गराइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले नीति निर्माणको काम गर्ने कार्यालयहरू दुई सिफ्ट खासै प्रभावकारी नभएको स्विकारे । ‘नीति निर्माणको काम गर्ने कार्यालयहरूमा खासै प्रभावकारी भएको छैन, तर फ्रन्ट लाइनमा सेवा प्रवाह गर्ने, सेवाग्राहीको भीडभाड हुने कार्यालयहरूमा भने प्रभावकारी देखिन्छ,’ सचिव गौतमले नागरिकसँग भने, ‘कतिपय अवस्थामा अहिले सार्वजनिक सवारी साधन नचल्दा पनि सर्वसाधारणलाई कार्यालय पुग्न समस्या हुनु, विहान बेलुकी सेवा लिन अभ्यस्त नभएका कारण पनि प्रभावकारी हुन नसकेको हो ।’
उनले यसअघि पनि दुई सिफ्टमा कार्यालय संचालन गर्दा प्रभावकारी नभएको बताउँदै यसपाली भने कोरोना रोकथामका लागि सामाजिक तथा भौतिक दुरी कायम गर्न पनि दुई सिफ्टमा सेवा संचालन गर्ने पर्ने बाध्यता रहेको बताए । ‘सेवाग्राही पनि सेवा लिनका लागि खाना खाएरै आउनुप¥र्याे,’ गौतमले भने, ‘कर्मचारीहरू पनि बाहिर छन् । सवारी साधन नभएका कर्मचारीलाई पुग्नै समस्या छ ।’
प्रकाशित: ५ असार २०७७ १२:१० शुक्रबार