राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकीबाट दुई पदका लागि आज भएको निर्वाचनमा २२३ मत खसेको छ। कुल २२९ मतमध्ये ६ जना अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ।
गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ १७० जना मतदाता रहेका थिए। जसमध्ये प्रदेशसभा सदस्यतर्फ २७ पुरुष र २० महिला गरेर ५७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ। प्रदेश सभातर्फ दुई सदस्य अनुपस्थित रहे।
त्यस्तै, स्थानीय तहतर्फ १०२ पुरुष र ६४ महिला गरेर कुल १६६ जनाले मतदान गरेको कार्यालयको अभिलेखमा उल्लेख छ।
राष्ट्रिय सभामा गण्डकीमा दुई सदस्यका लागि निर्वाचन भएको हो। गण्डकीमा खुल्लातर्फ १ र महिला क्लष्टरमा १ गरी दुई सदस्यका लागि निर्वाचन भएको हो। जसका लागि यहाँ कांग्रेस–एमालेले गठबन्धन गरेका छन्। उनीहरूले खुल्लातर्फ कांग्रेसका डा.जगत तिमिल्सिना र महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटालाई उम्मेदवारका रूपमा खडा गरेका छन्।
यहाँ नेकपाले कपिल लामा र गोमा घिमिरे लुईटेल (रुची)लाई तथा राष्ट्रिय जनमोर्चाले शंकर बराल र लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाएको छ।
प्रदेश निर्वाचन कार्यालयले केहीबेरमै मतगणना सुरु गर्ने र अपराह्न ५ बजेसम्ममा मतपरिणाम आइसक्ने जनाएको छ।
प्रकाशित: ११ माघ २०८२ १५:२९ आइतबार





