सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि दलीय तथा स्वतन्त्र गरेर २१० जना उम्मेदवार मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी(नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लगायतका पार्टी तथा स्वतन्त्र उम्मेदवार गरेर २१० जना मैदानमा उत्रिएका हुन्।
जिल्लागत रूपमा सबैभन्दा बढी ५ निर्वाचन क्षेत्र रहेको कैलालीबाट ७८ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कैलाली
नेकपा एमालेबाट कैलाली–१ मा एमालेका द्वारिकाप्रसाद न्यौपाने, कांग्रेसका जनकराज चौधरी, नेकपाका रामलाल डगौरा, रास्वपाका कोमल ज्ञवाली उम्मेदवार छन्।
यो क्षेत्रमा २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित भएकी थिइन्। उनी अहिले नेकपासँग एकीकरण गरेर उतै समाहित भएकी छन्।
नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ दल खोलेका रेसम चौधरीले पनि कैलाली–१ मै मनोनयन दर्ता गरेका छन्।
कैलाली–२ मा एमालेका सूर्यबहादुर थापा, कांग्रेसबाट भरतबहादुर स्वाँर, नेकपा बाट नन्दबहादुर साउँद, रास्वपाबाट केपी खनाल चुनावी मैदानमा छन्। पुराना नेता मोहनसिंह राठोरले यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँ रेसम नेतृत्वकाे नाउपा नेपालबाट पतिराम चाैधरी उम्मेदवार छन्।
कैलाली–३ एमालेका गौरीशंकर थारु, कांग्रेसका भीम बडुवाल, नेकपाका वीरभान चौधरी र रास्वपाका जगतप्रसाद जोशी मैदानमा उत्रिएका छन्। यहाँ नाउपा नेपालबाट विक्रम चाैधरी उम्मेदवार छन्।
उता कैलाली–४ मा एमालेका तर्फबाट उपमहासचिव लेखराज भट्ट, कांग्रेसबाट गोरखबहादुर विष्ट(आनन्द), नेकपाबाट हरेराम चौधरी र रास्वपाबाट खेमराज कोइराला चुनावी मैदानमा उत्रिएका छन्।
कैलाली–५ मा कांग्रेसका नरनारायण शाह मनु, एमालेका यज्ञराज ढुंगाना, नेकपाका प्रेम आले र रास्वपाका आनन्द चन्दले मनोनयन दर्ता गरेका छन्।
कञ्चनपुर
तीन क्षेत्र रहेको कञ्चनपुरमा ५५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। कञ्चनपुर–१ मा नेकपाबाट तारा लामा तामाङ, कांग्रेसबाट गोपी उपाध्याय, नेकपाबाट बिना मगर र रास्वपाबाट जनकसिंह धामी उम्मेदवार छन्।
यस्तै कञ्चनपुर–२ मा कांग्रेसबाट एनपी साउद, एमालेबाट बचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरा उम्मेदवार बन्दा कञ्चनपुर–३ मा एमालेबाट डा. दीपकप्रकाश भट्ट, कांग्रेसबाट हरि बोहरा, नेकपाबाट मानबहादुर सुनार र रास्वपाबाट ज्ञानेन्द्र महता चुनावी मैदानमा उत्रिएका छन्। यो क्षेत्रबाट ०७९ को निर्वाचनमा कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका थिए। उनले यस पटक टिकट पाएनन्।
डडेलधुरा
डडेलधुरामा १३ जनाले मनोनयन गरेका छन्। २०४८ यता भएका सबै ७ पटकका संसदीय निर्वाचनमा निरन्तर जित्दै आएका शेरबहादुर देउवा यसपटक उम्मेदवार छैनन्। देउवा ५ पटक मुलुकको प्रधानमन्त्री पनि बनिसकेका छन्।
यसपटक कांग्रेसले युवा नेता नैनसिंह महरलाई टिकट दिँदा एमालेबाट चक्र बहादुर स्नेही चुनावी मैदानमा छन्। उनी पूर्व राष्ट्रियसभा सदस्य हुन्। नेकपाबाट मानसिंह माल, रास्वपाबाट डा.तारा जोशी उम्मेदवार छन्।
बैतडी
एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाले मनोनयन दर्ता गरेका छन्। जहाँ एमालेका दामोदर भण्डारी, कांग्रेसका चतुरबहादुर चन्द, नेकपाका परमानन्द भट्ट र रास्वपाबाट हरिमोहन भण्डारी मैदानमा उत्रिएका छन्।
दार्चुला
यस्तै दार्चुलामा ११ जना चुनावी मैदानमा उत्रिँदा एमालेले गणेश ठगुन्ना, कांग्रेसले धर्मानन्द जोशी, नेकपाले लक्ष्मणदत्त जोशी र रास्वपाले राजेश सिंह सामन्तलाई चुनावी मैदानमा उतारेका छन्।
डोटी
उता एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा ९ जनाले मनोनयन दर्ता गरेका छन्। जसमा कांग्रेसका भरतबहादुर खड्का, एमालेबाट दीपक धामी, नेकपाबाट पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र रास्वपाबाट नरेन्द्र खड्का चुनावी मैदानमा छन्।
अछाम
उता दुई निर्वाचन क्षेत्र रहेको अछाममा १७ जनाले मनोनयन गरेका छन्। अछाम–१ मा एमालेबाट दीपक साउद, काग्रेसबाट भरतबहादुर स्वाँर, नेकपाबाट भीम रावल र रास्वपाबाट ओमप्रकाश रावल चुनावी मैदानमा छन् भने अछाम–२ बाट एमालेका यज्ञबहादुर बोगटी, कांग्रेसका पुष्पबहादुर शाह, नेकपाबाट बलबहादुर कुँवर र रास्वपाबाट भूपदेव शाह चुनावी मैदानमा छन्।
बाजुरा
बाजुरामा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। एमालेबाट लालबहादुर थापा, कांग्रेसबाट जनकराज गिरी, नेकपाबाट प्रकाशबहादुर शाह र रास्वपाबाट हेमराज थापाले मनोनयन दर्ता गरेका छन्।
बझाङ
उता बझाङमा ७ जनाले मनोनयन दर्ता गरेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेबाट ऐन महर, कांग्रेसबाट सह–महामन्त्री प्रकाश रसाइली, नेकपाबाट मीनबहादुर कुँवर र रास्वपाबाट शैलशकुमार सिंहले मनोनयन दर्ता गरेका छन्।
प्रकाशित: ७ माघ २०८२ १६:०० बुधबार





