५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित : अर्थमन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले ढिलो भए पनि अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित भएको बताएका छन्। संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेपछि आयोजना निर्माण हुने निश्चित भएको उनले बताए।

बिहीबार काठमाडौंमा ऋण प्रदायक बैंकहरु र आयोजनाबीच दुईपक्षिय सम्झौता समेत भएको छ। सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय स्रोत जुटाउने चुनौति पनि पुरा भएको बताए। उनले ३० वर्ष लामो प्रयासपछि आयोजना निर्माण हुन लागेकोले देशको अर्थतन्त्रमा महत्वपूर्ण हुने बताए। उनले आयोजनाबाट उत्पादित विद्युतको बिक्रीका लागि पनि बजारको समस्या नरहेकोले देशले ठूलो आर्थिक लाभ लिने बताए।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले ९ सय क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सबै वित्तीय स्रोत जुटेकोले अब निर्माण कार्यले थप तीव्रता पाउने बताए।

भारतीय लगानीमा निर्माण हुन लागेको यो परियोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको हो। कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत रहेको यो परियोजनामा नेपाल र भारतका बैंकहरुले १ खर्ब रुपैयाँ भन्दा बढी ऋण लगानी गरेका हुन्। भारतको स्टेट बैंक अफ इण्डिया (एसबिआई)को नेतृत्वमा पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।

त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेका हुन्। आयोजना सन् २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: २३ माघ २०७६ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App