१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आइजिपी बन्न दौडधुप

काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बन्न दौडधुप सुरु भएको छ। यही माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन्। आइजिपी खनाल र तीन एआइजिपी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजिपी बनाउनुपर्ने अवस्था आएको छ।

यसअघि पनि सरकारले डिआइजीबाटै आइजिपी नियुक्त गरेको थियो। नेपाल प्रहरीमा अहिले तीन एआइजी छन्। अवकाश पाउन लागेका एआइजिपी खनालका ब्याची हुन्। आइजिपी र तीन एआइजीसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले पनि सेवाबाट अवकाश पाउँदै छन्। खनाल, कार्की, राई र बस्नेत २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। ९०औं ब्याचमा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन्। प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डिआइजी तारणी लम्साल आइजिपीका दाबेदार देखिएका छन्।

आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।

९०औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा ज्ञवाली, लम्साल र सूर्यप्रसाद उपाध्याय सेवामा प्रवेश गरेका थिए। ज्ञवाली र लम्सालभन्दा बढुवामा पछाडि रहेका कारण उपाध्याय भने आइजिपीको प्रतिस्पर्धामा छैनन्। बढुवा वरीयतामा उपाध्याय पछिल्लो ९१औंको ब्याचीका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि छन्। नयाँ आइजिपीको दाबेदारमा ज्ञवाली, लम्सालसँगै थापा, पाल, शाही र कार्की पनि छन्। यी सबै डिआइजी हुन्। ज्ञवाली र लम्सालमध्ये जो आइजिपी भए पनि पाँच महिनाका लागि मात्रै हुनेछन्। ज्ञवाली केही दिनअघि मोरङबाट काठमाडौं आएका छन् भने लम्साल २२ दिनको बिदामा छन्। उनीहरू दुवैले गृह मन्त्रालय र राजनीतिक दलका नेतासँग संगत बढाएका छन्।

एआइजिपीका लागि पनि दौडधुप सुरु भएको छ। २०४९ वैशाख १९ गते सेवा प्रवेश गरेका थापा, पाल, शाही, कार्कीसँगै २०४९ चैत ११ गते भर्ना भएका विश्वराज पोखरेल पनि एआइजिपीका दाबेदार हुन्। पोखरेल ९१औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा सेवामा पसेका थिए। हालका एसएसपी पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहोरा, वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल वरीयतामा अघि परेका थिए।

के छ प्रहरी नियमावलीमा ?
प्रहरी नियमावली अनुसार आइजिपी नियुक्त गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्ने गरिन्छ। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मध्येबाट गर्ने उल्लेख छ। एआइजिपी नभएको अवस्थामा डिआइजीमध्येबाट आइजिपी बनाउन सकिनेछ। तर डिआइजीबाटै आइजिपी बनाउँदा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन तथा परिचालन गर्न सक्ने सामथ्र्यलाई आधार मान्नुपर्छ।

प्रकाशित: ५ माघ २०७६ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App