फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले अन्तिम मतदाता नामावली प्रकाशित गर्दै आउँदो निर्वाचनका लागि उक्त संख्याका मतदाता कायम भएको जनाएको हो ।
यो २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको भन्दा २ हजार ४२ ले बढी हो । २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ ८८ हजार २ सय ८५ मतदाता कायम भएका थिए । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा १८ हजार १ सय ९० र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ जना मतदाता कायम भएको जानकारी दिए ।
आउँदो निर्वाचनका लागि सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरक गाउँपालिकामा ९ हजार ७ सय ४१, आठराई त्रिबेणी गाउँपालिकामा ९ हजार ५ सय १, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय, सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ हजार ५६ मतदाता कायम भएका छन् । ताप्लेजुङमा आउँदो निर्वाचनका लागि ८० मतदान स्थल र १ सय २८ मतदान केन्द्र कायम भएका छन् ।
यसअघि ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेकोमा अहिले ५ मतदान स्थल र उतिनै मतदान केन्द्र थप भएका हुन् ।
प्रकाशित: १३ पुस २०८२ १६:३१ आइतबार





