१६ चैत्र २०८० शुक्रबार
राजनीति

सभामुखले संसदमा प्रतिपक्षीभन्दा सत्तापक्ष सांसदलाई बढी समय बोल्न दिएपछि...

काठमाडौं– नेपाली कांग्रेसका सांसदले सत्ता पक्षका सांसदलाई बढी समय दिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको बैठकको सुरुवातमा गुठी विधेयकविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि भएको दमनको विरोधमा कांग्रेस सांसद राजन केसीले आफ्नो भनाई राखे। लगत्तै गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए। थापाको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र सांसद देबेन्द्रराज कँडेल जुरुक्क उठे र बोल्न खोजे। अर्को तिर सत्तारुढ समाजवादी पार्टीका सांसद पनि बोल्न माग गर्दै उठिसकेका थिए। सभामुखले खाँडलाई बोल्न दिएपछि कँडेल बसे।

खाँडले घटनाको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्दै बोलिसकेपछि प्रेम सुवाललाई समय दिइयो। उनी बोल्न सुरु गर्दा सभामुख कृष्णबहादुर महराले ‘प्रश्नकर्ता माननीयले १ मिनेटमा प्रश्न राखिसक्नुहोला’ भन्दै समय तोके। टिपर आतंक नियन्त्रण गर्नुपर्ने मागसहित उनले १ मिनेटमा आफ्नो प्रश्न सके। त्यसपछि कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल र सांसद डिला संग्रौलाले एक मिनेटमै गुठी आन्दोलन र दमनबारे आफ्नो प्रश्न राखे। त्यसपछि कांग्रेसकै देबेन्द्रराज कँडेल पनि यही विषयमा बोले। उनले निर्धारित एक मिनेटमै आफ्नो प्रश्न राखे।

त्यसपछि सभामुख महराले सत्तापक्षीय सांसद समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद श्रेष्ठलाई समय दिए। उनले गुठी आन्दोलनको घटनाबारे बोल्दै ‘हिजो नै समय मागेको तर नपाएको’ गुनासो गरे। अगाडि बोल्दै गर्दा उनले संविधानविपरित गुठी विधेयक आएको र गुठीलाई भुमी व्यवस्थासँग जोडिएर आएको भन्दै आपत्ति जनाए। यो सांस्कृतिक परम्परा, सभ्यतासँग जोडिएको क्षेत्र भएको भन्दै त्यसलाई गलत ढंगले अर्को मन्त्रालयबाट ल्याएको उनको भनाई थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आउनुपर्नेमा भुमी सुधार मन्त्रालयबाट आउनु गलत भएको उनको भनाई थियो। यति बोल्दै गर्दा उनको आवाज काटियो। उनले प्रश्नभन्दा पनि गुनासो सुनाइरहेका थिए। तर, माइकको आवाज काटेर सभामुखले ‘माननीय सदस्य समय सकियो, प्रश्न गर्न मात्र समय दिएको थिए’ भन्दै अर्का सांसद देवप्रसाद तिमल्सिनालाई समय दिए।

तर, सत्तापक्षीय सांसद श्रेष्ठ बस्नै मानेनन्। सभामुख महराले प्रश्नका लागि मात्र समय दिएको भन्दै बस्न आग्रह गरे। उता समय पाएर बोल्न तयार कांग्रेस सांसद तिमल्सिनाले बोल्न सुरु गर्दै भने, ‘सभामुखज्यू सत्ता पक्षकै माननीय खडा हुनुहुन्छ।’ यति भनेर उनी रोकिए। अर्कोतिर आवाज काटिए पनि श्रेष्ठ बोलिरहेका थिए। त्यो देखेर सभामुखले श्रेष्ठलाई बस्न फेरि आग्रह गरे। तर, उनी मानेनन्, आवाज काटिए पनि बोलिरहे। सभामुख भने तिमल्सिनालाई समय दिएको भन्दै बोल्न आग्रह गरिरहेका थिए। श्रेष्ठ सीटमा नबसेर आवाजबिनै निरन्तर बोलिरहेपछि सभामुख उनको अडानसामु गले। प्रश्न मात्रै राख्नुस् भन्दै श्रेष्ठलाई पुन बोल्नका लागि समय दिए। आवाज छोडिएपछि सुरुमै श्रेष्ठले भने, ‘मैले प्रश्नै गर्न पाएको छैन्। अहिले प्रश्न मात्रै गरे। यस विषयमा मेरो विचार राख्ने नै छु।’ बीचमै सभामुखले कांग्रेस सांसद तिमल्सिनातर्फ संकेत गर्दै ‘एकछिन’ भनेर पर्खन आग्रह गरे।

श्रेष्ठले बोल्न सुरु गरे। वृद्धसमेतलाई कुटिएको, सरकारले माइतीघरमा आतंक मच्चाएको उनको आरोप थियो। यो अरिंगालको गोलोमाथि ढुंगा हान्ने कार्य भएको भन्दै गम्भीर दुष्परिणाम भोग्न चेतावनीसमेच दिए। श्रेष्ठ प्रश्न सोध्ने भन्दा पनि गुनासो तथा आक्रोश पोखिरहेका थिए। बीचमै सभामुखले प्रश्नमा केन्द्रीत हुन उनको ध्यानाकर्षण गराए। तर, श्रेष्ठ बोल्न रोकिएनन्, लगत्तै समय सकियो भन्दै सभामुखले फेरि आवाज काटे। आवाज काटिएपछि श्रेष्ठ सीटमा बस्न बाध्य भए।

सभामुखले पुनः कांग्रेस सांसद तिमल्सिनालाई बोल्नका लागि समय दिए। लगत्तै तिमल्सिनाका साथै सांसद देबेन्द्रराज कँडेलसमेत उठे। सभामुखले तिमल्सिनालाई बोल्न ताकेता गरे। तर, कँडेल आवाजबिनै सभामुखसँग केही गुनासो गरिरहेका थिए। लगत्तै तिमल्सिना बोले, ‘सबै बराबर समय दिनुपर्यो सभामुख महोदय।’ त्यसपछि पनि कँडेल उभिएर आफ्नो गुनासो गरिरहे। सभामुख भने ‘देवप्रसाद जी बोल्नुस्, देबेन्द्रप्रसाद जी बस्नुस्’ आग्रह गरिरहे। पटक पटक आग्रह गर्दा पनि कँडेल बस्न मानेनन्, देवप्रसाद पनि बोलेनन्। अन्तिममा सभामुखले ‘ध्यानाकर्षण भो माननीय सदस्य बस्नुस्’ भनेपछि कँडेल बसे। तिमल्सिनाले बोल्न सुरु गरे, ‘सत्ता पक्षले ७ मिनेट बोल्ने, हामीले एक मिनेट समय पाउने सभामुखज्यू? कुन नियमावलीमा सत्ता पक्षले बढी समय पाउने, प्रतिपक्षीले कम पाउने भन्ने छ जानकारी पाउँ’ भन्दै बोल्न सुरु गरे। तिमल्सिनाले समय विभेदबारे सभामुखको ध्यानाकर्षण गराउँदै बोले पनि आफ्नो प्रश्न भने एक मिनेट अगावै सकेका थिए।

संसद बैठकको आजको घटनाले सभामुख महराको कमजोरी प्रष्ट देखाउँछ। संसद चलाउँदा सांसदलाई कति समय दिने, सो समयमा बोल्न कसरी बाध्य गराउने, बढी समय लिने र अटेरी गर्न नदिने वातावरण बनाउने दायित्व सभामुख र संसद सचिवालयको हो। तर, त्यो वातावरण पर्याप्त नभएको आजको घटनाले देखाएको छ। यसैकारण सत्ता र प्रतिपक्षी सांसदको चेपुवामा सभामुख परे। 

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App