७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

सोमबार राति एकै ठाउँ ५ जनाको हत्या गरिएको मिक्लाजुङ–३, आरुबोटेस्थित धनराज शेर्माको घर । तस्बिर : नागरिक

इलाम– पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ। 

हत्या गरिएका स्थानीय २ परिवारका ९ जना र घटनास्थलभन्दा केही टाढा आत्महत्या गरी शंकास्पद अवस्थामा भेटिएका अर्का व्यक्तिको शवसमेत धरान लैजान लागिएको घटनास्थलमै रहेका धरानस्थित संघीय प्रहरी कार्यालयका एसएसपी सरद खत्रीले बताए। ‘हामी अब यहाँको सबै काम सकेर हिँड्नै लागेका छौं,’ मंगलबार राति ८ः५५ बजे खत्रीले नागरिकन्युजसँग भने। 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज नेउपानेले १० जनाकै शव धरान ल्याउन लागिएको बताए। ‘हत्याको घटना निकै संवेदनशील भएकाले धरानमा विशेषज्ञहरूबाट पोस्टमार्टम गर्नेगरी अहिले राति नै तीन शव धरान ल्याइँदैछ,’ उनले भने, ‘घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएकाले पोस्टमार्टम र प्रयोगाशाला परीक्षणका लागि शवहरू धरान ल्याउन लागिएको हो।’ 

सोमबार राति घरमा आएको मुकुण्डोधारी व्यक्तिले स्थानीय बमबहादुर फियाकको परिवारका ४ र उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो। प्रहरीका अनुसार राति १० बजेपछि आएको अज्ञात व्यक्तिले अन्दाजी ७५ वर्षे बमबहादुर, उनकी पत्नी त्यही उमेरकी पुर्सीहाङ्मा फियाक, छोरी २७ वर्षीया मनकुमारी र घरमा पढ्न बसेकी साहिँली छोरीकी छोरी (बमबहादुरकी नातिनी) १२ वर्षीया बालिका आशिका खजुमको हत्या गरेको थियो। 

बमबहादुरकै घरभन्दा करिब ३० मिटर माथि रहेको उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका अन्दाजी ४५ वर्षे धनराज, उनकी पत्नी ४० वर्षीया जस्मिता, छोरीहरू १४ वर्षीया युहाना, १२ वर्षीया मुना शेर्मा र धनराजकी भाइकी छोरी (भतिजी) ५ वर्षीया इच्छा शेर्माको समेत हत्या गरिएको थियो। बमबहादुरकी साहिँली छोरीकी छोरी (नातिनी) अन्दाजी १४ वर्षीया सीता खजुम हतियारधारीको आक्रमणबाट उम्किन सफल भएकी थिइन्। 

घटनास्थलभन्दा करिब २ घण्टाको पैदल दूरीमा रहेको मिक्लाजोङ गाउँपालिका–७, लिम्बाका मानबहादुर माखिमको पनि मंगलबार दिउँसो झुन्डिएको अवस्थामा शव भेटिएको थियो। बमबहादुरकै कान्छा ज्वाईं मानबहादुरको शवनजिकै रगत लत्पतिएको खुकुरी, रगत लागेका लुगाफाटो र उनको मोबाइलसमेत भेटिएको छ । ‘हत्याको घटना हुनु, प्रत्यक्षदर्शीले पनि एकजना मुकुण्डोधारीले खुकुरीले छपाछप प्रहार गरेको भन्नु र आत्महत्या गरेका व्यक्तिको वरिपरि शंकास्पद वस्तु भेटिनुले हत्यामा संलग्न व्यक्तिको आशंका जन्माएको छ,’ प्रवक्ता नेउपानेले ‘तर, गहन अनुसन्धानबिना यसै भन्न सकिने अवस्था चाहिँ छैन।’ 

प्रहरीका अनुसार बमबहादुरकी कान्छी छोरी मनकुमारी र उनका पति मानबहादुरको सम्बन्धमा दरार आएकाले मनकुमारी केही समयदेखि माइतमै बस्थिन्। पाँचथर जिल्ला अदालतमा उनीहरूको सम्बन्धविच्छेदको मुद्दासमेत चलिरहेको छ। त्यसअघि पनि दुवैको वादविवादलाई लिएर रवि प्रहरी कार्यालयमा छलफलसमेत भएको प्रहरीले जनाएको छ । 

प्रकाशित: ७ जेष्ठ २०७६ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App