coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको जागरण अभियान : संगठनलाई क्रियाशील बनाउला?

काठमाडौं- काठमाडौंस्थित राष्ट्रिय सभागृहमा वुधबार दिउँसो १२ बजे कांग्रेसले जागरण अभियानको उद्घाटन गर्ने तय गर्‍यो। १२ बजे भनेपनि तल्ला तहका नेता/कार्यकर्ताहरु ११ बजेदेखी नै कार्यक्रमस्थलतिर टहलिन थालिसकेका थिए।

१२ बजेसम्म सभागृहको हल भरिसकेको थियो। नेताहरु आएका थिएनन्। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा रहेको ‘नेपाली कांग्रेस’ बोलको गीत गुञ्जीरहेको थियो। भरीभराउ हल नेताहरुको प्रतिक्षामा थियो। गर्मीले धेरैलाई सास्ती तुल्याएको थियो। खानेपानीको व्यवस्था नहुँदा कार्यकर्ता मुरमुरिएका थिए। माइकबाट पटक–पटक आग्रह सुनिन्थ्यो– विशिष्ट व्यक्तित्वहरुलाई छुट्याएको सिटमा नबसिदिनु होला।  जागरण अभियानको पहिलो दृश्य यस्तै थियो।

एकातिर नेता आइनपुगेका, अर्कातिर गर्मी। कार्यक्रममा उपस्थित दर्शकदिर्घाको अनुहारमा आक्रोस देखिन्थ्यो।

काँग्रेस सभापती शेरबहादु देउवा डेढ बजे कार्यक्रम स्थलमा देखा परे। अर्थात, तोकिएको समयभन्दा डेढ घण्टा ढिलो।

११ बजे नै कार्यक्रम स्थलमा आइपुगेकी धुम्बाराहि बस्ने देवकी तामाङ भन्छिन्, ‘पहिला त नेताहरुकै दिमागमा जागरण ल्याउनु पर्ने भएको छ। सत्तामा जानु बाहेक अरु सोच्नु छैन। मान्छेलाई यत्रोबेर कुराउँछन्। लाज नभएका।’

देउवा आएसँगै कार्यक्रम सुरु भयो।

सभापति शेरबहादुर देउवा, बालकृष्ण खाँड, प्रकाशमान सिंह लगायतका नेताहरुले राष्ट्रिय अभियानका बारेमा प्रष्ट्याउन थाले।

‘हिमाल, पहाड, तराई–मधेशी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नारा कांग्रेसले दिएको छ। यस अभियानमार्फत पार्टीले सरकार बिरुद्ध खबरदारी गर्ने र संगठनमा सुदृढ गर्ने काँग्रेसले बताएको छ।

‘जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोलसम्मलाई नै राष्ट्रिय जागरण अभियानले समेट्नेछ,’ गत मंगलबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा भनेका थिए।

पार्टीलाई बलियो बनाउन जागरण अभियान मार्फत काँग्रेसले बिभिन्न योजनामा काम गर्ने प्रवक्ता शर्माको भनाई थियो।

महासमितीबाट पारित नीति, कार्यक्रम तथा संशोधित विधानबारे पार्टीका स्थानीय तहसम्म सुचिकृत गर्ने काँग्रेसको योजना छ। यसै अभियानमार्फत विगतमा आँफुले हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएको कामलाई जनतामा व्यापक ढंगले सम्प्रेशित गर्ने पनि उसको उदेश्य छ।

अभियानले नागरिक हित र मुलुकको समद्धि सम्बन्धमा पनि आवाज उठाउने प्रवक्ता शर्माले बताएको छन्।

सामाजिक सुरक्षाको प्रत्याभुती गराउने योजनालाई पनि काँग्रेसले अभियान मार्फत अघि सारेको छ। महिला हिंसाका घटना विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, प्राकृतीक विपद(भुकम्प, हावाहुरी, आगलागी, बाढी आदी–आदी)मा परेकालाई सहयोग गर्ने कांग्रेसको उदेश्य छ। त्यसका लागि स्वयंसेवी समूह नै खडा गर्ने उसको योजना छ।

अभियानलाई प्रेसको स्वतन्त्रताको रक्षामा अघि बढाइने भएको छ। कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढेको, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न अनेको प्रयत्न गरेको काँग्रेसको ठहर छ।

नेपाली काँग्रेसलाई सशक्त बनाउन आफूहरुले राष्ट्रिय अभियान सञ्चालन गरेको नेता वालकृष्ण खाँड बताउँछन्। यस जागरण अभियानले नेपाल र नेपालीमा नयाँ रक्तसञ्चार गर्ने उनको भनाईछ।

संगठनलाई ‘मोविलाइज’ गर्न जागरण अभियानहरुले महत्वपूर्ण भूमिका खेल्ने काँग्रेस नेता प्रदिप पौडेलको बुझाई छ। काँग्रेसको यो कार्यक्रम पनि आफ्ना संगठनहरुलाई क्रियाशील राख्ने बाटो भएको उनी बताउँछन्।

‘यस कार्यक्रमले आन्तरिक र बाह्य दुबै रुपमा काँग्रेसलाई सहयोग पुर्याउँछ,’ पौडेल भन्छन्, ‘आन्तरिक फाइदाको कुरा गर्दा हाम्रा संगठनहरु सक्रिय हुन्छन्। बाह्य फाइदाको कुरा गर्दा कुनै खास विषयमाथि हाम्रो बुझाई, अवधारणा के हो भन्ने प्रष्ट हुन्छ। त्यसैले यो जागरण अभियानले काँग्रेसलाई फाइदै पुर्याउँछ।’

पछिल्लो निर्वाचनमा हार व्यहोरपछि निरास बनेका कार्यकर्तालाई जागरुक बनाउन पनि कार्यक्रम अघि बढाउनुपरेको नेता पौडेल बताउँछन्।

लथालिङ्ग संगठनलाई सुधार गर्न काँग्रेसमा यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन्। भन्छन्, ‘काँग्रेसको तल्लो तह त अहिले सक्रिय छैन। चुनाब हारेपछि कार्यकर्ता हतोत्साहित छन्। संगठन गतिलो छैन। अभियानले उनीहरुलाई सक्रिय गराउला भन्ने कांग्रेसको अपेक्षा हो।’

अधिवेशन नभइरहेकाबेला जागरण अभियानले कार्यकर्तालाई सक्रिय बनाउन गतिलो भूमिका खेल्ने पोखरेलको विश्लेषण छ। जनतासम्म पुग्न पनि राजनीतिक दलहरुलाई यस्ता कार्यक्रम जरुरी हुने बताउँछन् उनी।

 

 

प्रकाशित: २६ वैशाख २०७६ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App