१६ चैत्र २०८० शुक्रबार
राजनीति

लगानीको वातावरण बनेन

काठमाडौं – मुलुकमा लगानीको वातावरण बनाउन विद्यमान समस्या सुल्झाउनको साटो सरकार कठोर बन्दै गएपछि निजी क्षेत्र सशंकित बनेको छ। विभाजित रूपमा सरकारसमक्ष जाँदा निजी क्षेत्रका अजेन्डालाई मन्त्रीहरूले नसुनेपछि उद्योगी व्यवसायी एकजुट हुने तयारीमा छन्।

निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मसमा आबद्ध व्यवसायीले यसबारे दुईतीन चरणमा छलफल गरिसकेका छन्। अब अर्को छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ आबद्ध व्यवसायीलाई समेटिनेछ।

सरकारले आफ्ना अजेन्डा नसुनेको, लगानीको वातावरण नबनाएको, लगानीमैत्री कानुन संशोधन नगरेको र उल्टै निजी क्षेत्रप्रति कठोर बनेपछि सशंकति भएका व्यवसायी एउटै अजेन्डा लिएर जान बाध्य भएका हुन्।

‘तीनवटै छाता संस्थाको आवाज एउटै होस् भनेर छलफल अगाडि बढाएका छौं,’ परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘हाम्रा समस्या साझा भएकाले एकै आवाजमा सरकारसँग मत राख्दा राम्रो हुन्छ।’ शर्माले सबै छाता संगठन एक भएर सरकारलाई अप्ठ्यारो नपार्ने बरु सहयोग र सहज वातावरण बनाउने स्पष्ट पारे। संगठित भएर अजेन्डा राख्दा सरकारले सकारात्मक रूपमा लिने विश्वास उनको छ।

‘तीनवटै छाता संस्थाको आवाज एउटै होस् भनेर छलफल अगाडि बढाएका छौं। हाम्रा समस्या साझा भएकाले एकै आवाजमा सरकारसँग मत राख्दा राम्रो हुन्छ।’ –हरिभक्त शर्मा, अध्यक्ष नेपाल उद्योग परिसंघ

दुई तिहाइको सरकारले निजी क्षेत्रलाई सम्बोधन गर्नुको सट्टा संकुचित बन्दै गएको बुझाइ निजी क्षेत्रको छ। अजेन्डामा छलफल गर्नुको सट्टा कुरै नसुनी दबाउन खोजेको गुनासो उनीहरूको छ। कतिपय व्यवसायीले स्पष्ट रूपले बाहिर बोल्नसमेत डर मानिरहेको अवस्था छ। व्यवसायीलाई थप अप्ठ्यारो वातावरण सिर्जना भएको भन्दै उनीहरूले एउटै अजेन्डा बनाएर सरकारसँग लबिङ गर्न लागेका हुन्।

सरकार खुला बजार अर्थतन्त्रभन्दा अर्को बाटोतिरबाट हिँड्न खोजेको आशंका व्यवसायीको छ। सरकारले हालै निजी स्कुललाई सात वर्षभित्रको समय सीमा दिएर सामुदायिकमा परिणत गर्ने नीति ल्याउन खोजेको छ। यसको सर्वत्र आलोचना भइरहेको छ। ‘भोलि उद्योगका नाममा पनि कुनै नीति नल्याउला भन्न सकिन्न,’ एक उद्योगीले भने।

‘समग्र समस्या समाधान गर्ने गरी आवाज बनाउनुपर्छ भनेर हामी लागेका हौं। थप छलफल आवश्यक छ। महासंघसँग पनि छलफल गरिनेछ।’ – राजेशकाजी श्रेष्ठ, अध्यक्ष नेपाल चेम्बर्स अफ कमर्स

अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले समस्या सुल्झाउन कुनै चासो नदिएको व्यवसायीको गुनासो छ। ‘अर्थमन्त्री व्यवसायीका समस्या सुन्न चाहँदैनन्,’ ती उद्योगीले भने, ‘उद्योगमन्त्रीको व्यवहार रूखो छ। उहाँ व्यवसायीलाई गाली मात्र गर्नुहुन्छ।’ती उद्योगीका अनुसार यस्तो अवस्थामा एक्लै समस्या लिएर तालुक मन्त्रालयमा जानुको कुनै तर्क छैन।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एउटै आवाज बनाउने विषयमा छलफल भइरहेको बताए। केही समयदेखि छलफल भइरहेको र चाँडै निचोडमा पुग्ने उनको भनाइ छ। ‘समग्र समस्या समाधान गर्ने गरी आवाज बनाउनुपर्छ भनेर हामी लागेका हौं,’ श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘थप छलफल आवश्यक छ। महासंघसँग पनि छलफल गरिनेछ।’

‘हामी एकै भएर अजेन्डा राख्नुपर्छ भनेर छलफल भइरहेको छ। सबैका समस्या एउटै हुन्। एउटै आवाज हुन जरुरी छ भनेर महासंघले पहिलेदेखि भनिरहेको छ।’ –भवानी राणा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पहिलेदेखि नै एउटै आवाज बनाउने प्रयास भइरहेको बताइन्। ‘हामी एकै भएर अजेन्डा राख्नुपर्छ भनेर छलफल भइरहेको छ,’ उनले भनिन्, ‘सबैका समस्या एउटै हुन्। एउटै आवाज हुन जरुरी छ भनेर महासंघले पहिलेदेखि भनिरहेको छ।’ संगठित भएर अगाडि बढ्नु सबैका लागि सकारात्मक पक्ष भएको र यसले सरकारलाई पनि सहयोग गर्ने अपेक्षा राणाको छ।

विगतमा पनि अप्ठ्यारो पर्दा एकै ठाउँ भएको भन्दै अहिले पनि तीनै छाता संगठन एकै ठाउँ आएर साझा अजेन्डा बनाउन लागेको उद्योगी व्यवसायी बताउँछन्। ‘सबैका साझा समस्या छन्,’ शर्माले भने, ‘एकै आवाज बनाउँदा राम्रो पनि हुन्छ।’ निजी क्षेत्रका तीन ठूला छाता संगठनले एउटै आवाज बनाउन पहिलेदेखि नै प्रयास गर्दै आए पनि अहिले थप आवश्यक परेको उनीहरू बताउँछन्।

मुख्यतः मुलुकमा लगानी आउन नसकेको र ऐनकानुन आवश्यक सुधार हुन नसकेको सन्दर्भमा एउटै आवाज बनाएर सरकारलाई घच्घच्याउने तयारी छ। सरकारले निजी क्षेत्रको आवाजलाई हल्काफुल्का लिएको भन्दै अब पनि यस्तै भए गम्भीर दुर्घटना हुनसक्ने चेतावनी उनीहरूको छ।

सरकार पनि समस्यामा रहेकाले निजी क्षेत्रको यो प्रयास सहयोगी हुने शर्माले बताए। ‘हामी सरकारलाई आर्थिक विकासको खाका प्रस्तुत गर्नेछौं,’ शर्माले भने, ‘सरकारले आर्थिक विकासको खाका खोजिरहेकाले यसले सहयोग हुने विश्वास छ।’

मुलुकमा आर्थिक क्षेत्रमा रहेका समस्या समाधानका उपायसहितको प्रतिवेदन तयार रहेको उनले बताए। सबै डकुमेन्ट तयारी अवस्थामा रहेकाले एउटै आवाज बनाउन समय नलाग्ने व्यवसायीको भनाइ छ।

प्रकाशित: १९ पुस २०७५ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App