१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

काठमाडौं - नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र बृहत एकता कायम भएको दाबी गरेको एक साता पनि बित्न नपाउँदै गुटगत सक्रियता बढाएका छन्। पार्टीभन्दा व्यक्तिगत स्वार्थका लागि कांग्रेसभित्र गुट मौलाउँदै गएको गुनासो गर्दै पुस ९ गते सम्पन्न महासमिति बैठकले त्यसभन्दा माथि उठेर संगठन सुधारमा लाग्ने संकलप गरेका थिए। सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरूले पार्टीभित्रको आन्तरिक विवाद समाप्त भएको भन्दै आगामी निर्वाचनमा पार्टीलाई पहिलो दल बनाउन एकताबद्ध भएर लाग्ने घोषणा गरे।

नेताहरूको उक्त सन्देशसहित महासमिति सदस्यहरू जिल्ला पुग्न नभ्याउँदै नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरूले पार्टीमा आफ्नै छुट्टै अस्तित्व रहेको सन्देश प्रभावह गरेका छन्। १३ औं महाधिवेशनसँगै तेस्रो धारका रूपमा उदाएका सिटौला बिहीबार पत्रकारहरूसँग भेटमा महासमिति बैठकको समापनमा सभापति देउवा र नेता पौडेलले गुटको राजनीति अन्त्य गरी एकताको सन्देशका लागि आफूहरूबीच ‘इमोसनल एट्याचमेण्ट’ र ‘डिप लभ’को कुरा गरे पनि आफ्नो लाइन फरक रहेको स्पष्ट पारे। देउवा र पौडेलबीच भनिएको डिप लभमा लष्ट (हरायो) भने सकिने टिप्पणी गर्दै उनले भने, ‘१३औं महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भयो। त्यसपछि मैले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता मान्न सकिन जुन अहिले पनि कायमै छ।’

पार्टी सभापति र वरिष्ठ नेताका रूपमा आँफूले सहयोग भने गरी रहेको जिकिर गर्दै सिटौलाले १४ औं महाधिवेशन घोषणासँगै आफ्नो भूमिका स्पष्ट पार्ने बताए। नयाँ विधान अनुसार पार्टीको १४औं महाधिवेशन तत्काल गर्नुपर्ने धारणा राख्दै सिटौलाले पार्टीभित्र आफुहरू झिगा नभएर कर्मशील मौरी बन्ने दाबी गरे। ‘विधान अनुसार हालको कार्यसमितिको नियमित रुपमा १४ महिना र त्यसपछि एक वर्ष थपगरी दुई वर्षको कार्यकाल भए पनि हामीले सभापतिलाई अर्लि महाधिवेशन गरौँ भनेका छौँ,’ सिटौलाले भने,‘तत्काल महाधिवेशनमा गयो भयो आगामी जेठ सम्ममा पार्टीको १४ औं महाधिवेशन गर्न सकिन्छ।’

निकट केन्द्रीय सदस्यहरू गगनकुमार थापा, उमाकान्त चौधरी र शिव हुमागाईलाई साथै राखेर पत्रकारसँग भेट गरेका सिटौलाले भद्रगोल र अव्यवस्थाबीच महासमिति सम्पन्न भए पनि सबै तहमा निर्वाचनको माध्यमबाट समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था खुला गरेको दाबी गरे।

मेलमिलाप मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि
कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टी महासमिति बैठकको निर्णय अनुसार पार्टी केन्द्रीय कार्यालयले बिहीबार केन्द्रीय सदस्यहरूलाई जिल्ला प्रतिनिधि खटाएको हो। कांग्रेसको महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाद्वारा घोषणा गरेको जनाउँदै कांग्रेसले भनेको छ, ‘उक्त दिवस विविध प्रभावकारी कार्यक्रमहरू (आमसभा, गोष्ठी, र्‍याली, कोणसभा लगायतका कार्यक्रम) व्यापक र वृहत रुपमा संचालन गरी मनाउन पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ।’

सोहीअनुसार सभापति शेरबहादुर देउवा काठमाडौं, नेता रामचन्द्र पौडेल गोरखा, उपसभापति विमलेन्द्र निधि सिराहा, नेता कृष्णप्रसाद सिटौला झापा खटाइएको छ। पुस ९ गते महासमिति बैठक समापन गर्दै सभापति देउवाले मेलमलिाप दिवसकै दिन पारेर पार्टी संगठन सुधार तथा सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने उद्घोष गरेका थिए। विभिन्न कार्यक्रसहित उक्त दिनको स्मरण गर्ने गरेको कांग्रेसले यस वर्ष सरकारविरुद्धको अभियान र पार्टी संगठन सुधारको कार्यक्रम सुरुवात गर्ने तयारी गरेको छ।

प्रकाशित: १३ पुस २०७५ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App