७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

जगाती बस स्टप अन्यत्र सार्न खोजिएको भन्दै विरोध

अरनिको राजमार्गअन्तर्गत भक्तपुर खण्डमा रहेको ऐतिहासिक जगाती बस स्टप अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्।

राजमार्ग निर्माणदेखि नै प्रयोगमा रहेको यो बस स्टपलाई स्थानान्तरण गर्न खोजिएको भन्दै स्थानीयहरुले सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएका छन्।

स्थानीय ९३ घरपरिवारका सदस्यहरूको हस्ताक्षरसहितको ज्ञापनपत्र सडक विभागअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनाका प्रमुखलाई बुझाइएको छ।

स्थानीयले बस स्टप स्थानान्तरण नगरि यथास्थानमै राख्न माग गर्दै संघर्ष समिति समेत गठन गरेका छन्। समितिका संयोजक सीताराम खाइजूले बस स्टप हटाउने निर्णय जनविरोधी रहेको भन्दै यसलाई तत्काल रोक्न माग गरेका छन्।

सडक विस्तार परियोजनाको सुरुवाती डिपिआरमा बस स्टपलाई यथावत् राख्ने योजना भए पनि पछिल्लो डिजाइनमा स्थानान्तरणको प्रयास गरिएको छ। यसले स्थानीय जनजीवन र परम्परागत संस्कृतिमा प्रत्यक्ष असर पर्ने स्थानीयको दाबी छ।

बस स्टप स्थानान्तरण गर्दा भक्तपुरको ख्वप कलेज, ख्वप अस्पताल, बागीश्वरी मावि, हनुमानघाटजस्ता महत्त्वपूर्ण स्थानमा आवतजावत गर्ने यात्रुहरूलाई असुविधा हुने उनीहरूले बताएका छन्।

स्थानीयले बस स्टपलाई व्यवस्थित र आधुनिक बनाउने तर्फ काम गर्न सुझाव दिएका छन्। बस स्टप स्थानान्तरणका लागि आर्थिक चलखेल भएको आशंका गर्दै उनीहरूले यस्तो निर्णय सच्याउन माग गरेका हुन्।

सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद दासले बस स्टप स्थानान्तरणसम्बन्धी निर्णय आफूले माथिल्लो निकायको निर्देशनअनुसार मात्र कार्यान्वयन गर्ने बताए। तर, स्थानीयको जायज मागलाई सम्बोधन गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए।

जगाती बस स्टप ऐतिहासिक महत्त्वको स्थान हो। १९६७ मा राजा महेन्द्रको पालामा चीनको सहयोगमा निर्माण गरिएको अरनिको राजमार्ग नेपाल-चीन सम्बन्धको प्रतीक हो। हाल यो राजमार्ग बनेपा-सिन्धुली-बर्दिबास सडकसँग जोडिएपछि काठमाडौंलाई तराईसँग जोड्ने छोटो मार्गका रूपमा पनि परिचित छ।

प्रकाशित: ७ पुस २०८१ १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App