१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रिन्स माइकेलकाे उपस्थितिमा नेपाली दूतावासले मनायाे संविधान दिवस

लन्डन - लण्डन स्थित नेपाली दूताबासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ। समारोहमा प्रमुख अतिथि  बेलायती राजपरिवारका सदस्य प्रिन्स माइकेल अफ केन्ट रहेका थिए। कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच उच्चस्तरीय भ्रमणको तयारी गर्ने बेला भएको बताए। लण्डनको प्रसिद्ध केन्सिङटन प्यालेस गार्डेन्स प्रांगणमा आयोजित एक भव्य समारोहलाई संवोधन गर्दै डा.सुवेदीले गोर्खा सैनिकहरु र बेलायतमा बसोबास गर्ने एकलाख बढी गैरआवासीय नेपालीहरुले दुबै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले नेपालको विकास प्रयासमा बेलायती सरकार र जनताबाट लगातार साथ र सहयोग प्राप्त भैरहेको बताउँदै त्यसको प्रशंसा गरे।

समारोहका प्रमुख अतिथि प्रिन्स माइकेल अफ केन्टले ब्रिटेन र नेपालबीचको सम्बन्ध अरु कैयौं मुलुकहरुको भन्दा निकै पुरानो रहेको बताए। उनले दुई देशबीचको सम्बन्ध बहुआयामिक र घनिष्ठ रहेको बताए। गोर्खा सैनिकहरु संसारमै सबैभन्दा साहसी सैनिकको रुपमा चिनिने बताउँदै प्रिन्स माइकेलले  उनीहरुको साहस र अनुशासनको खुलेर प्रशंसा गरे। उनले निकट भविष्यमै नेपाल जाने आफ्नो योजना रहेको खुलासा गरे।

प्रिन्स माइकेलले दूतावासमा आयोजित नेपाली चित्रकला प्रदर्शनीको समेत उद्घाटन गरे। कार्यक्रममा राजदूत सुवेदीले प्रमुख अतिथिलाई कलात्मक खुकुरी तथा नेपाली चित्रकला उपहार दिएका थिए। समारोहमा ब्रिगेड अफ गोर्खाजमा कार्यरत गोर्खा सैनिकहरुले खुकुरी नाच तथा अन्य कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७५ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App