१५ चैत्र २०८० बिहीबार
राजनीति

एक महिनापछि अनुसन्धान सुरु

भिमदत्त नगरपालिका–२ मा रहेको रोशनी बमको घर। निर्मला यही घरमा पढ्न आएकी थिइन्। तस्बिर : दिलबहादुर/नागरिक

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन्। यस क्रममा अदालतको अनुमति लिएर रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले घटनाबारे थालेको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्ट जनाउँदै स्थानीयले महेन्द्रनगरमा आन्दोलन चर्काएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक डिल्ली बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलगायत गृह मन्त्रालय तानिएका थिए। उनीहरूको सट्टामा गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख खटाएपछि उनीहरूको नेतृत्वमा स्थानीयको मागबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना भएको छ। ‘एक महिनापहिले गरिनुपर्ने अनुसन्धान हामीले फेरि शून्यबाटै सुरु गरेका छौं’, प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘घटनामा संलग्न सानोदेखि ठूलासम्म सबैलाई कारबाहीको दायरामा ल्याएरै छाड्छौं ।’ अनुसन्धानका क्रममा दोषी देखिएमा यसअघिका प्रहरी अधिकारीलाई पनि निलम्बनसहित कारबाही गरिने उनको भनाइ छ।

निर्मला बेपत्ता भएको घरबाट अनुसन्धान सुरु गर्नुपर्ने स्थानीयको माग बेवास्ता गर्दा १ महिना लामो आन्दोलन र क्षति भोग्नुपर्ने अवस्था आएको उनले बताए। ‘दोषी हुने नहुने कुरा अनुसन्धानबाट खुल्ने हो। हामीले सुरु गरेको अनुसन्धान सुरुबाटै गरिनुपथ्र्यो,’ उनले भने। उनले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउने तवरले कसैले काम गरेको भए जोकोही भए पनि कारबाहीमा पर्ने बताए। प्रहरीसँग भएका सबै प्रविधि, उपकरण र क्षमता प्रयोग गरेर दोषी पत्ता लगाउन प्रयास गरिने उनले बताए।

महेन्द्रनगरमा एक महिनासम्म भएको प्रदर्शनमा गोली लागेर किशोर सन्नी खुनाको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन्। ‘छोरीको शव पाएकै दिनदेखि बम दिदीबहिनीमाथि अनुसन्धान गरिदिनुप-यो भन्ने मेरो आग्रह प्रहरीले एक महिनापछि मानेको छ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘यही अनुसन्धान सुरुबाट गरिदिएको भए हामीलाई यति पीडा हुन्थेन। एक महिनासम्म आन्दोलन पनि चर्कंदैनथ्यो।’

दिदीबहिनीमाथि अनुसन्धान सुरु गरेको भए त्यो घरमा को आएको थियो भनेर पत्ता लाग्ने निर्मलाकी आमा दुर्गाले बताइन्। ‘रोशनी र बबिताले मेरो छोरी मारे भनेकी होइन, उनीहरूलाई त्यो घरमा को आयो र छोरी कसले मा-यो भन्ने थाहा हुन सक्छ’, उनले भनिन्, ‘हामीले पहिलो दिनदेखि भनेको कुरा बल्ल पूरा भएको छ, सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही होस्।’ बमको घरमा एसपी डिल्ली बिष्ट र उनका छोरा बारम्बार आउने गरेको दुर्गाले बताइन्।

निर्मला बेपत्ता भएको घरबाट अनुसन्धान सुरु गर्नुपर्छ भन्ने माग प्रहरीले सुनिदिएको महेन्द्रनगरमा जनधनको क्षति नहुने स्थानीय सन्तोषकुमार भट्टले बताए। ‘प्रहरीले सुरुमै शंका लागेको ठाउँबाट अनुसन्धान गरिदिएको भए महेन्द्रनगरवासीले दुःख पाउँदैनथे’, उनले भने।

निर्मलाका छिमेकी तथा भूतपूर्व सैनिक मोतीबहादुर नेपाल साउन ११ गते नै अनुसन्धान गर्न माग गर्दा प्रहरीले आफूलाई थर्काएको बताउँछन्। ‘मैले त्यही दिन बमको घरबाट रोशनी गएको दिसा खुल्दैन। यही घरबाट अनुसन्धान गनुपर्छ भन्दा प्रहरीले थर्कायो’, उनले भने, ‘अहिले बल्ल प्रहरीले दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान गफ्यो, यही कुरा त्यतिबेला गरेको भए यति धेरै क्षति हुने थिएन ।’

तीन सातासम्म प्रहरी प्रशासनले स्थानीयको कुरा नसुनेको अधिकारकर्मी उर्मिला शाही बताउँछिन्। ‘हामीले आन्दोलन गर्दा पनि प्रहरीको घटना ढाकछोप गरेर दोषी उम्काउनमै जोड ग-यो’, उनले भनिन्, ‘प्रहरी आफैंले गर्नुपर्ने अनुसन्धानका लागि पनि एक महिना लामो आन्दोलनमा एकजनाको मृत्यु र कयौं घाइते हुने अवस्था आयो।’ सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. मुकन्दप्रसाद कलौनी एक महिनासम्मको आन्दोलनले बजार, शिक्षण संस्था, यातायात बन्दले करोडाैंको क्षति भएको बताउँछन् । राजनीतिक दलका नेताले पनि प्रहरीको गलत व्यवहारलाई संरक्षण दिएको उनको आरोप छ। रोशनी र बबिताले भने निर्मला आफ्नो घरबाट विज्ञानको गृहकार्य गरी २ बजे नै घरबाट गएको बताएका छन्।

उच्चस्तरीय समिति गठन गर्न माग
प्रदेश ७ का नेकपाका शीर्ष नेता तथा स्थायी कमिटी सदस्य लेखराज भट्टले घटनाको संवेदनशीलताबारे पटकपटक अवगत गराउँदा पनि सरकार उदासीन बनेकाले घटना कठिन मोडमा पुगको बताएका छन्। ‘घटनालाई संवेदनशील रूपमा लिई अनुसन्धान र कारबाही गर्न माग गर्दा पनि राज्य गम्भीर नहुँदा अहिले घटनाले अनपेक्षित मोड लिएको छ’, उनले भनेका छन्। उनले गृह मन्त्रालयअन्तर्गतको छानबिन समितिले पनि घटना छानबिन गर्न नसक्ने अवस्था रहेको भन्दै उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्न विज्ञप्तिमार्फत माग गरेका छन्।

प्रकाशित: १० भाद्र २०७५ ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App