१६ चैत्र २०८० शुक्रबार
राजनीति

अाेली सरकारले बाँड्याे ७ कराेड

काठमाडौं - सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।

प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

ओलीले दोस्रोपटक सरकारको नेतृत्व २०७४ फागुन ३ मा सम्हालेका थिए । अर्थ मन्त्रालयको तथ्यांकअनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ ।

पाँच महिनामा कुल ६ करोड ८४ लाख ३ हजार १ सय ७७ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायताका नाममा वितरण भएको छ ।सरकारले पछिल्लोपटक असारमा फरार अभियुक्त वृजकिशोर गिरीको औषधि उपचार गर्दा लागेको खर्चबापत सम्बन्धित निकायलाई २ लाख ८८ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । यस्तै असार ३ गते मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौंको सेल्टर आश्रमलाई आर्थिक सहायता उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालयका नाममा २० लाख ५८ हजार ३ सय १६ रुपैयाँ निकासा गरेको छ ।

गत असार २० गते मन्त्रिपरिषद् बैठकले एकै दिन विभिन्न व्यक्तिलाई ६९ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १० लाख, झापाका भम्पा राईलाई १० लाख, झापाकै अमिषा बस्नेतलाई २० लाख, पाँचथरका लक्ष्मीप्रसाद सुहाङलाई ३ लाख, झापाका देवीप्रसाद बराललाई ३ लाख, ताप्लेजुङका ताराहाङ लिम्बुलाई ३ लाख, पूर्वसांसद डिलबहादुर नेपालीलाई ५ लाख, स्व. हरिशरण लामिछानेको नजिकका हकदारलाई १० लाख र धरानका जुगल सुब्बालाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयका नाममा रकम निकासा भइसकेको छ।

सरकारले असार २४ गते गरेको निर्णयअनुसार अखिल नेपाल कबड्डी संघलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत १५ लाख रुपैयाँ रकम आर्थिक सहायता शीर्षकमा निकासा भएको छ । यस्तै असार २४ गते मन्त्रिपरिषद् बैठकले युवा संघ नेपालको आयोजनामा विश्व प्रजातान्त्रिक युवा संघको जनरल काउन्सिल मिटिडङका लागि आर्थिक सहायतास्वरूप २५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त रकम अर्थ मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयमार्फत निकासा गरेको छ।

प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

सरकारले जेठ २० गते चारजनालाई ४३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयअनुसार उक्त रकम अर्थले गृहको नाममा निकासा गरिसकेको छ । जेठ २० गते मन्त्रिपरिषद्ले डा. मिमाङ तेम्वे मालापथलाई १२ लाख, नरेन्द्रराज पोखरेललाई ६ लाख, खगेन्द्र चुडाललाई १५ लाख र श्रीचन्द्र शर्मालाई १० लाख रुपैयाँ औषधि उपचारबापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारको वैशाख २४ गतेको निर्णयअनुसार चितवन भरतपुर निवासी ध्रुव घिमिरेलाई उपचार खर्चबापत ७ लाख रुपैयाँ गृह मन्त्रालयमार्फत उपलब्ध गराइएको छ।

गत वैशाख ११ गतेको सरकारको निर्णयअनुसार विराटनगरका लव प्रधानलाई १० लाख र विश्वेश्वरा दाहाललाई ७ लाख रुपैयाँ आर्थिक सहयाता गृह मन्त्रालयमार्फत उपलब्ध गराइएको छ ।सरकारले गत चैत १२ गते एकै दिन चारजनालाई ३५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो जुन रकम अर्थले गृह मन्त्रालयमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएको छ । चैत १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार लालबहादुर मुखियाले ५ लाख, सरिता राईले १५ लाख, जैविक राईले १० लाख र मञ्जु पन्तले ५ लाख रुपैयाँ आर्थिक सहयाता प्राप्त गरेका छन् । सरकारले गत चैत १४ गते पूर्वमन्त्री खुमबहादुर खड्काको उपचारका लागि १५ लाख र पूर्वसांसद जागृतप्रसाद भेटवाललाई १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो।

सरकारको नेतृत्वमा जुनसुकै दल पुगे पनि आर्थिक सहायताका नाममा ठूलो रकम दलका नेता तथा कार्यकर्तालाई बाँडिदै आएको छ । यसअघिको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटभन्दा बढी रकम आर्थिक वर्षको पहिलो ६ महिनामा नै वितरण गरेर सकेको थियो । आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याइएको भए पनि देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामा साढे ३२ करोड रुपैयाँ खर्च गरेको थियो ।

देउवाले २०७४ जेठ २३ देखि माघ महिनासम्म ३९ करोड ८१ लाख ९० हजार रुपैयाँ आर्थिक सहायताका नाममा वितरण गरेका थिए । खासगरी निर्वाचनको मुखमा, सरकार छाड्ने बेला, चाडबाडको मुखमा र आर्थिक वर्षको अन्त्यतिर आर्थिक सहायताका नाममा ठूलो रकम सरकारले वितरण गर्ने गरेको देखिन्छ ।देउवाभन्दा अघिको तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि बजेटमा व्यवस्था गरिएभन्दा दुगुना बढी रकम आर्थिक सहायताका नाममा दलका नेताकार्यकर्तालाई वितरण गरेको थियो । दाहालले आफ्नो १० महिने कार्यकाल (२०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म) मा ५९ करोड ४६ लाख ७१ हजार १ सय २ रुपैयाँ आर्थिक सहायताका नाममा वितरण गरेका थिए । त्यो वर्ष आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याइएको थियो।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि आर्थिक सहायताका नाममा दिल खोलेर रकम बाँडेका थिए । प्रधानमन्त्रीका रूपमा ओलीको पहिलो कार्यकाल (२०७२ असोज २४ देखि २०७३ साउन १८ सम्म) मा १२ करोड २५ लाख १३ हजार ६ सय ३५ रुपैयाँ आर्थिक सहायताका नाममा वितरण भएको थियो।
                                                

प्रकाशित: ९ श्रावण २०७५ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App