१६ चैत्र २०८० शुक्रबार
राजनीति

गैरअावासीय नेपाली नेकपाको सदस्य हुन नपाउने

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन)लाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ।

तर नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था खारेजीका लागि सर्वाेच्च अदालतमा रिट परे पनि सर्वाेच्चले खारेज गरिदिएकाले एनआरएनलाई नेकपाको सदस्य हुने बाटो बन्द भएको नेकपाका केन्द्रीय सदस्य तथा नियमावलीलाई अन्तिम रूप दिन गठन गरिएको कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिए ।

‘हामीले नियमावलीमा नेपालको कानुनअनुसार नेपाली नागरिक मात्र पार्टीको सदस्य हुने व्यवस्था गरेका छौँ, नागरिकता ऐनले गरेको व्यवस्थाअनुसार विदेशी नागरिकता लिएका गैर आवासीय नेपालीको नागरिकता स्वतः खारेज हुन्छ, त्यसैले अब एनआरएन नेकपाको सदस्य हुन पाउँदैनन्,’ देवकोटाले भने । देवकोटाले नियमावलीमा सिधै एनआरएन पार्टी सदस्य हुन नपाउने विषय नलेखे पनि नेपाली नागरिक मात्र पार्टी सदस्य हुने भन्ने विषयले एनआरएनलाई सदस्य हुनबाट रोक लगाएको देवकोटाको भनाइ छ।

नेकपाको पारित नियमावलीमा कर्मचारी, शिक्षक र प्राध्यापकलाई पनि पार्टी सदस्य हुन नपाउने व्यवस्था गरिएको देवकोटाले जानकारी दिए । नेकपाको केन्द्रीय सचिवालय बैठकले बुधबार बिहान पार्टी नियमावली पारित गरेको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको नियमावली सर्वसम्मत पारित गरेको हो ।

मंगलबार बसेको सचिवालय बैठकले नियमावली टुंगो लगाउन गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि बुधबार बिहान बसेको बैठकले नियमावली पारित गरेको हो । नियमावली परिमार्जनका लागि नेकपाले नेताहरू वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।नियमावलीलाई नेकपाका महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले अन्तिम रूप दिएपछि स्थायी समिति सदस्यले नियमावली हेर्न पाउनुपर्ने र त्यसमा सुझाव दिन पाउनुपर्ने माग राखेका थिए । त्यसपछि नेकपाले नियमावली परिमार्जनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेकपाको नियमावलीलाई महासचिव विष्णु पौडेल सहित स्थायी समिति सदस्य बेदुराम भुसाल तथा देव गुरुङ एवं केन्द्रीय सदस्य खिमलाल देवकोटा अन्तिम रूप दिएका थिए । कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा कुनै विवाद नभएकाले छलफलपछि सवर्बसम्मत तरिकाले नियमावली पारित गरिएको नेकपाले जनाएको छ।

पार्टीको नियमावली पारित भएसँगै अब नेकपाका जनवर्गीय संगठनको एकता तथा तल्लो तहका समितिको टुंगो लाग्ने भएको छ । नेकपाले तीन महिनाभित्रमा एकता टुंगो लगाउँदै तल्लो तहका समितिको पनि टुंगो लगाउने जनाएको छ । नियमावलीको टुंगो नलाग्दा एकीकृत पार्टीका जनवर्गिय संगठनको एकता तथा संघीय संरचनाअनुसार कस्तो संगठन बनाउने भन्ने कुरा टुंगो लाग्न सकेको थिएन ।

नेकपाले पार्टीको नाम, सिद्वान्त, मार्गदर्शक सिद्वान्त, अध्यक्ष, केन्द्रीय सचिवालय, वरिष्ट नेता, महासचिव, केन्द्रीय समिति, स्थायी समिति र चुनाव चिन्हलगायतका विषयलाई पहिले नै टुंगाइसकेको छ ।

प्रकाशित: २८ असार २०७५ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App