११ कार्तिक २०७८ बिहीबार
राजनीति

सङ्लिन नसकेको समय

जानकी मन्दिरमा सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा अाेली र उनका भारतीय समकक्षी नरेन्द्र माेदी। तस्बिर : विजय रार्इ/नागरिक

काठमाडौं – भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदी पहिलो पटक २०७१ साउन १८ गते नेपाल आएका थिए। उनको पहिलो नेपाल भ्रमण यस्तो बेलामा भयो जतिबेला भारतका राष्ट्रपति तथा प्रधानमन्त्रीले नेपाल आउन लगभग बिर्सिसकेका थिए। मोदी १७ वर्षपछि नेपाल आउने पहिलो भारतीय प्रधानमन्त्री बने।

‘यो यस्तो भूमि हो, जसले विश्वलाई अचम्मित पार्ने भगवान् गौतम बुद्धलाई जन्म दियो,’ केही भारतीयहरुले गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम सिर्जना गरिरहेका बेला मोदीले पहिलो नेपाल भ्रमणका बेला संविधानसभालाई सम्बोधन गर्दै यसो भनिदिँदा नेपाली नतमस्तक बनेका थिए। त्यतिमात्र होइन उनले ‘हिन्दुस्तानले त्यस्तो कुनै लडाइ जितेको छैन, जुन जितका लागि नेपालीको रगत नबगेको होस्’ भनिदिँदा संविधानसभा तालिले गुन्जिएको थियो। ‘तपाईं असाध्यै भाग्यमानी हुनुहुन्छ, म तपाईंहरूलाई नमन गर्न आएको हुँ, तपाईंहरूको अभिनन्दन गर्न आएको हुँ। तपाईंहरूको संविधान जुन बन्नेछ, त्यो नेपालका लागि मात्र होइन, विश्वका लागि एउटा स्वर्णिम पृष्ठ बन्नेवाला छ,’ उनले बन्दै गरेको संविधानका विषयमा यसो भनिदिँदा झन्डै तीन करोड नेपाली पुलङ्कित बनेका थिए।

भारतका प्रधानमन्त्रीले यसअघि नेपालको तारिफ यसरी खुलेर गरेका थिएनन्। योलगायत धेरै कारण मोदीको पहिलो दुईदिने नेपाल भ्रमण स्मरणीय बन्यो ।पहिलो नेपाल भ्रमणका बेला मोदीलाई सडकदेखि सदनसम्मबाट तालिको गडगडाहटले स्वागत गरियो। तत्कालीन संविधानसभालाई सम्बोधन गर्दा नेपालको हितमा उनले राखेका बुँदालाई नेपालीले सकारात्मक रुपमा लिए । मोदीको पहिलो भ्रमणलाई नेपालीले यसकारण पनि महत्व दिएका थिए– नेपालमा १७ वर्षपछि भारतीय प्रधानमन्त्रीका रुपमा उनले पाइला राखेका थिए। यसअघि २०५४ जेठ अन्तिम साता तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालले नेपाल भ्रमण गरेका थिए।

भारत र मोदीको नेपालमा गुमेको साख संविधानको स्वागत र नाकाबन्दी लगाएकोमा माफी नमागेसम्म फर्किदैन । नेपाल–भारत सम्बन्ध सुधारको गाँठो यहीं अड्केको छ।

गुजरालपछि २०५८ पुस अन्तिम साता तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयी नेपाल आएका भए पनि उनी द्विपक्षीय सम्बन्धलाई लिएर भन्दा पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ११औं शिखर सम्मेलनमा सहभागी हुन आएका थिए। यो १७ वर्षको अवधिमा नेपालबाट तत्कालीन राजा, राष्ट्रपति र प्रधानमन्त्री गरी १० जनाले १६ पटक भारत भ्रमण गरेका थिए। उच्चस्तरीय भ्रमण नेपालबाट एकतर्फी मात्र भयो भनी आलोचना भइरहेका बेला मोदीको भ्रमणले सरकार र राजनीतिक दलका नेताहरुलाई समेत राहत प्रदान गरेको थियो।

पहिलो भ्रमणको साढे तीन महिना नबित्दै मोदी २०७१ मंसिर ९ गते पुनः नेपाल आए । उनी दोस्रो पटक १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका थिए। प्रधानमन्त्रीका रुपमा दोस्रो पटक नेपाल आउँदा उनको चमक केही घट्यो । कारण– जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने उनको कार्यक्रम विवादित मात्र बनेन अन्तिममा स्थगित भयो। जनकपुरमा सम्बोधन गर्ने विषयलाई लिएर तत्कालीन सत्तासीन दल नेपाली कांग्रेस र एमालेबीच विवाद बढेपछि मोदीको काठमाडौंबाहिरको भ्रमण रोकिएको थियो। जसप्रति उनी रुष्ट बनेका थिए। सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका उनी काठमाडौंबाटै नयाँदिल्ली फर्के। रुष्ट भएका मोदीले स्वदेश फर्किनुअघि काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालका नेतालाई संविधान निर्माण गर्दा संख्यामा मात्र जोड नदिन स्पष्ट सन्देश दिए, जुन बोलीको त्यतिबेला निकै विरोध पनि भयो। र, केही समय नेपाली राजनीति मोदीको यही बोलीको पक्ष÷विपक्षमा तरंगित बन्यो।

प्रधानमन्त्रीका रुपमा मोदी तेस्रोपटक शुक्रबार (२०७५ वैशाख २८) सुरु भएको छ। यसपटक उनले करिब साढे २९ घन्टा नेपालमा बिताउने छन्। दोस्रो भ्रमणमा जान नपाएका जनकपुर र मुक्तिनाथ तेस्रो भ्रमणमा उच्च प्राथमिकतामा परेका छन्। दोस्रो नेपाल भ्रमणका बेला जहाँ जान नपाउँदा अमिलिएर मोदी स्वदेश फर्केका मोदीले तेस्रो भ्रमणको सुरुवात जनकपुरबाट गरेका छन्। तर, मोदीले जुन तालीको गड्गडाहट् पहिलो नेपाल भ्रमणमा पाएका थिए त्यो स्वागत यसपटक जनस्तरबाट पाएनन्।

सामाजिक सञ्जाल ट्विटरमा ‘नाकाबन्दी अपराध हो महासय मोदी’ ह्यास ट्याग ट्रेन्डिङमा आयो। ट्विटरमा ४ करोड २४ लाखभन्दा बढी फ्लोअर्स भएका मोदी यो टे«न्डिङबारे बेखबर छैनन्। यसले उनको मन पक्कै दुखाएको हुनुपर्छ।

मोदी तीन पटक नेपाल आउँदा नेपालका तीन प्रधानमन्त्रीले ५ पटक भारत भ्रमण गरेका छन्। भारतका प्रत्येक भ्रमणबाट फर्केपछि हाम्रा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध थप मजबुत बनेको र असमझदारी हटेको दाबी गरेका छन् । तर मोदीको नेपाल भ्रमणलाई लिएर यसपटक जनस्तरमा जुन आक्रोस देखिएको छ त्यो यसअघि भारतीय प्रधानमन्त्रीहरु यहाँ आउँदा देखिएको थिएन। किन नेपाली जनता मोदीप्रति यति चिढिएका होलान् भन्ने विषय गम्भीर बनेको छ।

‘नेपालले संविधान जारी ग-यो, बदलामा मोदीले नेपालमाथि नाकाबन्दी लगाइदिए, जसका कारण लाखौं नेपालीले दुःख पाए। पछिल्लोपटक नेपाल–भारत सम्बन्ध यहींबाट बिग्रेको थियो । सम्बन्ध जहाँबाट बिग्रेको थियो, त्यहींबाट सुधार्नुपर्र्छ । त्यो हालसम्म भएको छैन । यसो नहुँदा जनतामा आक्रोस बढ्नु स्वाभाविक हो,’ पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने।

नेपाल–भारत सम्बन्ध त्यतिबेला बिग्रियो जतिबेला लाखौं नेपालीको वर्षौंदेखिको आकांक्षा सम्बोधन गर्नेगरी संविधानसभाले नयाँ संविधान जारी ग-यो। संविधान जारी गर्नुअघि त्यसलाई रोक्ने प्रयास भारतले नगरेको होइन । संविधान जारी हुनु केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले विशेष दूतका रुपमा तत्कालीन विदेश सचिव एस. जयशंकरलाई नेपाल पठाए । उनको व्यवहारले नेपालको नेतृत्व झन रुष्ट बन्यो र आफ्नो अडान छोडेन। २०७२ असोज ३ गते नेपालको संविधानसभाबाट नयाँ संविधान जारी भयो। रुष्ट बनेको भारतले लगत्तै संविधानमा मधेसका माग नसमेटिएको र त्यो समावेशी पनि नभएको भन्दै थि नाकाबन्दी लगायो, जुन करिब ५ महिनासम्म चल्यो। २०७२ वैशाख १२ को भूकम्पले थिलथिलो पारेको नेपाललाई भारतको नाकाबन्दीले थप मर्माहत बनायो । भारतले नाकाबन्दीमात्र लगाएन अन्तर्राष्ट्रिय समुदायमा नेपालको संविधानप्रति भ्रम फैलाउने प्रयाससमेत ग-यो। भारत र युरोपेली युनियनले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधान समावेशी नभएको भनियो । त्यतिमात्र होइन राष्ट्रसंघीय सभामा भारतले नेपालमाथि दबाब दिने प्रयास ग-यो, जसको प्रतिवाद नेपालले दमदार रुपमा गरेको थियो।

पहिलो पटक नेपाल भ्रमणमा आउँदा नेपालमा बन्दै गरेको संविधानलाई ‘विश्वका लागि एउटा स्वर्णिम पृष्ठ हुने’ बताएका मोदीले त्यही संविधानले जन्मलिँदा असन्तुष्टि जनाउँदै उपहारस्वरुप नाकाबन्दी दिए। यो अमानवीय कार्यको केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले डटेर सामना ग-यो। उनले नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने अडान लिए । यस्तो अडान यसअघिका नेपालका प्रधानमन्त्रीले सायदै लिएका थिए। नाकाबन्दीबाट गुम्सिएका नेपाली जनतालाई राहत प्रदान गर्न ओलीले चीनसँग पारवहन तथा यातायातलगायत महŒवपूर्ण १० वटा सम्झौता गरे । फलस्वरुप भारतले नाकाबन्दी फिर्ता लियो र ओलीलाई स्वागत ग-यो । ओली नयाँदिल्ली पुगे पनि सम्बन्ध पुरानै अवस्थामा फर्कन भने सकेन । ओलीपछि पुष्पकमल दाहाल दुई पटक, शेरबहादुर देउवा एक पटक र ओली पुनः एक पटक प्रधानमन्त्रीका रुपमा भारत गए। भारतबाट फर्कंदा तीनै प्रधानमन्त्रीले असमझदारी हटेको र सम्बन्ध पुरानै अवस्थामा फर्केको बताए पनि व्यवहारमा त्यो अनुभव दुई देशका जनताले गर्न पाएका छैनन्। नाकाबन्दी हटेको दुई वर्षभन्दा बढी भयो तर न भारतले संविधानको स्वागत गरेको छ न नाकाबन्दी गल्ती थियो भनी नेपालीसँग माफी नै मागेको छ । भारत अझै आफ्नो पुरानै अडानमा छ । ‘नेपालका प्रधानमन्त्रीहरु भारत जानुभएकै हो । सम्बन्ध सुध्रियो भनेकै हो। खोइ कहाँ सुध्रियो त,’ पूर्वपरराष्ट्र सचिव आचार्य भन्छन्, ‘नेपाल–भारत सम्बन्ध अझै सङिलएको छैन। सङ्लिन नसक्नुको मुख्य कारण भारतले संविधानको स्वागत नगर्नु र नाकाबन्दी गरेकोमा माफी नमाग्नु हो।’

भारत आफ्नो पुरानै अडानबाट पछि हटेको छैन भन्ने उदाहरण प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणलाई पनि लिन सकिन्छ। ओलीले गत चैत अन्तिम साता भारत भ्रमण गर्दा पनि मोदीले नेपालमा ‘समावेशी समाज’ निर्माण भन्न छुटाएनन्। मोदीले स्पष्ट शब्दमा भनेका थिए, ‘प्रधानमन्त्री ओलीजीले नेपालको तीव्र आर्थिक र समावेशी समाजको निर्माणका लागि आफ्नो ‘बोल्ड भिजन’ का बारे मलाई विस्तारमा जानकारी दिनुभएको छ। यो भिजनलाई साकार पार्न भारत नेपालसँग कसरी सहकार्य गर्नसक्छ भन्ने विषयमा पनि हामीले छलफल ग-यौं ।’

आचार्यले भने, ‘सम्बन्ध सुध्रिसकेको थियो भने यति छिटो एकअर्काको देशमा भ्रमण गरिरहनु पर्दैनथ्यो। भ्रमण विषयलाई सरकारले पनि स्पष्ट पार्न सकेको छैन । ओलीजी भारत गएको महिना दिन नबित्दै मोदीजी नेपाल आउनुभएको छ । सम्बन्ध सुध्रिएको भए किन यति छिटो मोदीले नेपाल भ्रमण गर्नुप-यो त। सम्बन्ध सुधार भएको भए जनतालाई बुझाउन सक्नुपथ्र्यो। बुझाइएको हुन्थ्यो भने जनस्तरमा मोदी भ्रमणको यति धेरै विरोध हुँदैनथ्यो।’

भारतका लागि नेपालका पूर्वराजदूत तथा नेपाली कांग्रेस नेता दीपकुमार उपाध्याय नेपाल–भारतबीच समस्या समाधान नभएर भन्दा पनि सरकार पारदर्शी नहुँदा भ्रमणका बेला विरोध बढी हुने गरेको बताउँछन्। सरकारले वास्तविक सूचना संप्रेषण गरे विरोधी आवाज मलिन हुने धारणा उनको छ। ‘दुई देशको सम्बन्ध सुध्रेको परिणाममा देखिनुप-यो। बोलीमै मात्र सीमित राख्ने हो भने कसैले पत्याउँदैन । नेताहरुको बोली र व्यवहारमा १८० डिग्रीको भिन्नता छ,’ उपाध्यायले नेपाल–भारत सम्बन्ध सुध्रिनसकेको उल्लेख गर्दै भने।

भारतीय प्रधानमन्त्री मोदी नेपालसँगको सम्बन्ध सुधान मात्र नेपाल आएका होइनन्, यो भ्रमणका पछाडि भारतको आन्तरिक राजनीति पनि जोडिन्छ । मोदीले सरकारको नेतृत्व गरेपछि छिमेकी राष्ट्रसँगको सम्बन्ध भारतको इतिहासमै सबैभन्दा नराम्रो भएको बुझाइ भारतभित्रै धेरैको छ। तहाँको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले यसैलाई समातेर सत्तासीन दल भारतीय जनता पार्टीमाथि प्रहार गरिरहेको छ। गत चैत पहिलो साता सम्पन्न कांग्रेसको ८४औं महाधिवेशनमा मोदीले अँगालेको छिमेकनीतिको व्यापक आलोचना भयो। कांग्रेसले मोदी सरकारको विदेश नीतिलाई ‘दिशाहीन र लक्ष्यहीन’ ठहर ग-योे । ‘नेपाल, माल्दिभ्स, म्यानमार र श्रीलंकामा हाल भइरहेका घटनाक्रमले हाम्रा सामु गम्भीर चिन्ता उत्पन्न गरेका छन्। यी घटनाहरुलाई समयमै एकदमै सावधानीपूर्वक सम्हाल्न जरुरी छ । अब हामीले यो सुनिश्चित गर्नुपर्छ भारतसँगको सम्बन्ध सम्बन्धित छिमेकी देशको आन्तरिक राजनीतिलाई प्रभावित गर्ने कारक नबनोस्,’ भारतीय राष्ट्रिय कांग्रेसले आफ्नो विदेशनीतिमा उल्लेख गरेको छ। भारतले लगाएको नाकाबन्दीविरुद्ध अडान लिएकै कारण निर्वाचनमा नेपालमा वाम गठबन्धनले धेरै सीट ल्याएको बुझाइ पनि भारतीय कांग्रेसको छ। अब मोदी सामु चुनौती छ– छिमेकी राष्ट्रहरुलाई कसरी आफ्नो पक्षमा पार्ने। नेपाललाई फकाउनकै लागि पनि यसपटक ओली भारत गएको महिना दिन नबित्दै उनी नेपाल आएका हुन्।

सन् २०१९ मा भारतमा आमनिर्वाचन हुँदैछ। भारतीय राष्ट्रिय कांग्रेसले निर्वाचन अभियानमा मोदी सरकारले छिमेकी राष्ट्रसँग सम्बन्ध बिगारेको विषयलाई हतियारको रुपमा प्रयोग गरिरहेको छ र केही ठाउँमा यस्ले काम गरिरहेको पनि छ । आउँदो निर्वाचनमा आफ्नो साख यथावत राख्न र प्रमुख प्रतिपक्षी दलको मुख बन्द गर्न पनि मोदीलाई नेपाललगायत छिमेकीसँग सम्बन्ध सुधार्न आवश्यक छ। अहिले मोदीको नेपाल भ्रमणलाई यसैरुपमा पनि बुझ्न सकिन्छ । ‘भारतको आउँदो वर्ष हुने निर्वाचनले गर्दा नेपालसँग सम्बन्ध सुर्धान मेदीलाई भारतभित्रैबाट दबाब परेको छ । निर्वाचन मुखमै छ, यसमा मोदीको स्वार्थ छ। अर्को स्वार्थ कोर्ष करेक्सन पनि हो,’ पूर्वराजदूत एवं नेपाली कांग्रेसका नेता उपाध्यायले भने।

नेपालका हिन्दु पिठहरु (जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथ) मा गएर भारतका हिन्दु मतदातालाई आकर्षित गर्न सकिने र नेपालसँग जलस्रोतका विषयमा छलफल गरेर विहार र उत्तरप्रदेश राज्यका मतदातालाई प्रभावित पार्न सकिने विश्वासका साथ मोदी नेपाल आएको हुनसक्ने आकलन उपाध्यायको छ।

भारतको नेपाललगायत छिमेकी राष्ट्रको सम्बन्ध पछिल्ला वर्ष भारतसँग कम र चीनसँग बढ्दो छ। चीन पनि आक्रामक रुपमा दक्षिण एसियाली राष्ट्रमा प्रवेश गर्न खोजिरहेको छ । पछिल्लो समय नेपाल, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, अफगानिस्तान, बंगलादेशमा चीनको प्रभाव बढिरहेको छ। भारतको दुवै संसद्मा यो विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ । मोदीको व्यवहारका कारण छिमेकसँग सम्बन्ध बिग्रेको निष्कर्ष धेरैको छ । यो निष्कर्षलाई गलत साबित गर्न पनि छिमेकसँगको सम्बन्ध सुधार्नैपर्ने बाध्यता मोदीलाई छ, जसले चीनतर्फ ढल्किन खोजेका छिमेकीलाई पुनः आफैतर्फ तान्नेछ। मोदीको नेपाल आउनुको धेरैमध्ये एउटा कारण यो पनि हो– कसरी नेपाललाई भारतमै बढी आश्रित बनाइराख्ने।

भारतसँग एकैपटक सम्बन्ध नसुध्रिने तर सुधार प्रयास गर्दै जानुपर्ने तर्क नेकपा एमाले नेता तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य राजन भट्टराईको छ। राजनीतिक तहमा हुने उच्चस्तरका भ्रमणलाई सामान्य प्रक्रियाका रुपमा बुझ्नुपर्ने तर्क उनको छ। उनी भन्छन्, ‘भारतका प्रधानमन्त्रीलाई नेपाल आउनै दिनहुन्नभन्दा नेपालको हित हुँदैन। आफूलाई बलियो बनाउँदै लाग्नुपर्छ । परनिर्भरता घटाउँदै लानुपर्छ। यातायात, पारवहन सन्धिलाई विविधिकरण गर्नुपर्छ। सबल बनाउँदै लगेर जवाफ दिँदै जाने हो।’

नेपाल सबल बन्दै जाला र जबाफ पनि दिँदै जाला। तर अहिले सामाजिक सञ्जालमा भूकम्प, संविधान र नाकाबन्दीलाई लिएर नेपालीले जुन आक्रोस पोखिरहेका छन् त्यसको जबाफ मोदीले देलान् त ? नेपाल–भारत सम्बन्ध सुधारको गाँठो यहीं अड्केको छ। सरकारको नेतृत्व गर्नेहरुले सम्बन्ध सुध्रियो भने पनि जनताले यसलाई पत्याएका छैनन्। ‘मोदीजी सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय नेताहरुमध्ये पर्नुहुन्छ । उहाँको नेपाल भ्रमणलाई लिएर नेपालभित्र धेरै विरोध भएको पक्कै थाहा पाउनुभएको छ । यसलाई सम्बोधन त गनुपर्ला,’ पूर्वराजदूत उपाध्यायले भने। जनकपुरमा शुक्रबार नागरिक अभिनन्दनपछि सम्बोधन गर्दा पनि मोदीले नेपाली जनताको आक्रोस मत्थर पार्नेगरी बोलेनन् । भारत र मोदीको नेपालमा गुमेको साख संविधानको स्वागत र नाकाबन्दी लगाएकोमा माफी नमागेसम्म फर्किदैन । यसको लागि शनिबार काठमाडौंमा हुने मोदीको नागरिक अभिनन्दनपछिको सम्बोधन उपयुक्त माध्यम हुनसक्छ। मोदीले यो भ्रमणमा यो गर्न सक्नुपर्छ। नत्र नेपाल–भारत सम्बन्ध सङ्लिन अझै समय लाग्नेछ।

प्रकाशित: २९ वैशाख २०७५ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App