नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७५ वर्षमा कोही पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न नसकेको भन्दै टिकाउने सुझाव दिएका छन्।
सोमबार सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले लगातार ५ वर्ष प्रधानमन्त्री टिकाउन भन्दै पाँच प्रस्ताव गरेका हुन्।
यस्तो छ उनको पाँच प्रस्ताव
१. आमनिर्वाचनमा प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने (अर्थात-दोस्रो / तेस्रो या अन्य दल पुरै अवधि सरकार बाहिर विपक्षमा बस्ने)
२. पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा 'विनर्स टेक अल' (जित्नेले सबै लग्ने) सिद्धान्त बमोजिम निर्वाचन अघिनै आयोगमा बुझाइएको विज्ञहरूको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने ।
३. पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने । प्रधानमन्त्रीले मन्त्री परिषदमा निश्चित संख्यामा विज्ञहरू सोझै सरिक गराउन सक्ने ।
४. त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसदमा विश्वासको मत लिने । दुई वर्ष पुगेपछि त्यसको १ महिनाभित्र पुन विश्वासको मत लिने । पछिल्लो पटक विश्वासको मत लिँदा दुई बर्षे कामको निश्चित आर्थिक, सामाजिक सूचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने र नपाउने टुंगो लाग्ने । विश्वासको मत पुन प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्ने ।
५. प्रधानमन्त्री पदमा कुनैपनी व्यक्ति (वान, टु, थ्री, फोरको सिद्धान्त बमोजिम) दुई पटक मात्रै बन्न सक्ने
प्रकाशित: २३ असार २०८२ १८:५३ सोमबार





