२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

आज विशेष उत्साह लिएर हुम्ला जाँदै छु : प्रधानमन्त्री ‍ओली

प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदै छन्। ओली कर्णाली करिडोरको खार्पुनाथ-५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन गर्न हुम्ला जान लागेका हुन्। 

आज हुम्ला जाने कुराले आफू उत्साहित भएको प्रधानमन्त्री ओलीले बताएका छन्। कर्णाली करिडोर सडक जोडिएपछि एआई प्रयोग गरी बनाइएको भिडियोसहितको एक पोष्ट सामाजिक सञ्जालमा सेयर गर्दै लेख्दै प्रम ‌ओलीले भने, 'हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु।'

उनले आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलीब्रिजले दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने बताए। यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनाहा नाकाबाट प्रारम्भ हुने र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिने बताए।

'४१० किलोमिटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ। अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एक मात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ,' ओलीले लेखेका छन्, 'कर्णाली करिडोर सडक जोडिएपछि एक युवाले एआई प्रयोग गरी बनाएर पठाएको यो भिडियो र आजको हुम्ला यात्राले मलाई भावनात्मक र उत्साहित बनाएको छ।'

देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोट मात्र हो। २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन। यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ।

प्रकाशित: २२ असार २०८२ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App