२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेपाली राजनीतिका दुई झगडिया: शेरबहादुर सुनाए गिरिजासँग मेल-बेमेलका किस्सा

केही दिनअघि मात्रै आफ्नो रिटायरमेन्टबारे जनाउ दिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिवार एक सार्वजनिक मञ्चमा विन्दास मुडमा झुल्किए । जय नेपाल फाउन्डेसनले राष्ट्रिय सभागृहमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रम थियो त्यो । 

धेरैका लागि स्व. कोइराला र देउवाको सम्बन्ध दुई झगडिया नेताको जस्तो छ । र, यो कुरा सत्य हो पनि। दुई नेताबिच ०५० को दशकको सुरुवातदेखि बढेको राजनीतिक तिक्तता अन्तसम्म पुग्दा पार्टीबाट निष्कासनदेखि विभाजनसम्म पुगेको थियो । 

त्यो बेलाको कांग्रेस राजनीति ७० को वृद्ध वय चढेका कोइराला र बल्ल ५० नाघेका देउवाका नाममा दुई खोलामा बगेको थियो । दशकको अन्तसम्ममा ती खोला एकाकार गर्न न कोइरालाले कोसिस गरे, न देउवाले नै । दुवैले एक अर्काविरुद्ध सकेसम्मको गरे । तत्कालीन कांग्रेस सभापति रहेका कोइरालाले देउवालाई पार्टीबाट निष्कासन गरे, देउवाले कोइराला नेतृत्वको पार्टी नै फुटाएर नेपाली कांग्रेस(प्रजातान्त्रिक) बनाइदिए । यसर्थ नेपाली राजनीति सम्झनेका लागि दुवै झगडिया नेता हुन् । 

यी दुई झगडिया नेतामध्ये कोइराला अहिले जीवित छैनन् । देउवा उनै कोइरालाले निष्कासन गरेको पार्टी कांग्रेसको सभापति छन् । उनी दुई पटक कांग्रेसको निर्वाचित सभापति भइसके । पाँच पटक त्यसै पार्टीको बलमा प्रधानमन्त्री भइसकेका छन्, अब छैटौँ पटक हुने प्रतीक्षामा छन् । 

उहिले झगडिया रहँदा ताकाको कोइरालाको उमेरमा अहिले अहिले देउवा छन् । भर्खरै उनले ७९ वर्ष पार गरेका छन् । उनले भर्खरै महसुस पनि गरिसके–अब बुढो भएँ, रिटायर्डको समय आयो । केही दिनअघि चितवनमा आयोजित एक श्रद्धाञ्जली सभामा पुगेर देउवाले यसको घोषणा पनि गरिसके । 

‘मेरो त अब रिटायर्ड  एजमा भइसक्या छु, अरू के छ र !,’ देउवाले भनेका थिए, ‘तर यो पार्टीको कारणले म प्रधानमन्त्री भएँ, म यो पार्टीको कारणले पार्टी सभापति पनि भएँ । त्यसै कारण यो पार्टीलाई अझैँ राम्रो–बलियो बनाउनुबाहेक मेरो अर्को उद्देश्य छैन । त्यस कारण यो पार्टीलाई एक बनाउनु छ ।’ 

देउवाले यो भनिरहँदा कुनै समय कोइरालासँगको झगडामा कारबाही भोगेर गर्नुपरेको पार्टी विभाजनका डोबहरू अझैँ पुरिएका छैनन् । त्यो विभाजनका बेला कांग्रेसमा केन्द्रदेखि गाउँ गाउँसम्म चिरिएका विभाजनका खाटाहरू उस्तै छन् । उही प्रकारका गुट गाउँ गाउँसम्म सक्रिय छन् । जो चुनावमा एक गुटले टिकट पाए अर्को हराउन जुट्छन् । 

यो कुरा पनि देउवालाई थाहा छ । जुन कुरा चितवनकै श्रद्धाञ्जली सभामा उनले भनेको अभिव्यक्तिले जनाउँछ । ‘हाम्रो पार्टीमा रोग अलिअलि छँदै छ, एक अर्कालाई हराऊ भन्ने रोग,’ देउवाले भनेका थिए । 

उनै झगडिया कोइरालाको स्मृतिमा आयोजना गरिएको सभामा शनिवार देउवाको हाउभाउ निकै फरासिलो देखिन्थ्यो । जहाँ उनी बोली र व्यवहारमै छचल्किए पनि । 

सामान्यतया: मञ्चमा बस्दा निदाउने, अल्छी देखिने देउवा कार्यक्रम अवधिभर लगभग मुस्कान दिइरहे,  अन्य नेताहरूका भाषण चासोपूर्वक सुनिरहे, बिच बिचमा टोकिरहे । 

जब आफू भाषण गर्न रोष्टम चढे, साबिक भन्दा लामो भाषण दिए । अन्य भाषण बढीमा पाँच मिनेटमा सकाउने देउवाले यहाँ भने झन्डै १२ मिनेटभन्दा बढी भाषण दिएका थिए । 

अक्सर देउवाको सबैले नबुझ्ने, बोल्दा हडबडिने र आफै पनि अलमलिएको जस्तो सुनिन्छ। तर शनिवारको भाषणमा उनी प्रस्ट बोलिरहेका थिए । यो भाषणमा उनको बौद्धिकता पनि छचल्किएको छ । 

हाँस्दै सुनाए झगडाका किस्सा 

सबैका भाषण सुनेर रोष्टम चढ्दा देउवा मुस्कानसहित पुगेका थिए । त्यसपछि उनी सुरुमै कोइरालासँगको आफ्नो झगडाको प्रसंगमा प्रवेश गरे । 

‘स्वर्गीय गिरिजाप्रसाद र मेरो बिचमा झगडा भएको यहाँहरूलाई थाहा छ । उहाँले मलाई पार्टीबाट निकाल्दिनुभयो,’ देउवाले भने, ‘अर्को पार्टी खोले मैले फेरि ।’ त्यसपछि उनले आफूले कोइरालाबारे विगतमा दिएको एक अभिव्यक्ति पनि स्मरण गरे । 

‘एकपल्ट मैले के भन्या थिए भने–गिरिजा र राजा एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर भनेको थिएँ,’ देउवाले खुलस्त भने अनि हाँसे । 

त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई शाही आयोग गठन गरेर मलाई जेल हालेको पनि देउवाले सम्झिए । उनले भने, ‘मैले शाही आयोग मान्दै–मान्दिनँ भनेर बयान दिन इन्कार गरेँ ।’ त्यही बेला अरू कसैले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा आफू छुटेको पनि देउवाले सुनाए । ‘अरू कसैले सर्वोच्च अदालतमा मुद्दा हालेर मैले जितिहाले । म छुटिहाले,’ मुस्कानसहित देउवा सुनिए । 

त्यसपछि कोइराला आफूलाई भेट्न आएको प्रसंग पनि देउवाले सुनाए । 

‘म जेलबाट छुटेपछि गिरिजाबाबु मलाई भेट्न आएर अब मिलौँ भन्नुभयो,’ देउवाले भने, ‘मैले भने–मैले मिलौँ भनेकै छु त, तपाईँले नै निकाल्नुभएको त हो नि भनेर उहाँलाई भने मैले ।’ त्यसपछि फेरि पार्टी एकीकरण गरेर दुवै जना मिलेर गएको देउवाले सुनाए ।  

त्यसपछि देउवाले कोइरालाकै कारण नेपालमा गणतन्त्र र संघीयता आएको बताए। उनले भने, ‘जहाँसम्म गिरिजाप्रसाद कोइराला कुरा गर्दा खेरी उहाँ धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने नै थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो ।’ त्यो बेला  गणतन्त्र आउँछ भनेर कसैले नसोचेको पनि देउवाले दाबी गरे। 

‘पहिलो संविधान सभाबाट संविधान नबने पनि उहाँकै कारण पहिलो बैठकबाटै गणतन्त्र पारित भएको हो। त्यस कारण गणतन्त्र ल्याउने पहिलो श्रेय उहाँलाई नै जान्छ,’ देउवाले भने । 

यही भाषणमा सदाझैँ देउवाले वर्तमान संवैधानिक व्यवस्थाले कुनै पार्टीको एकल बहुमत आउन नसक्ने भएकाले गठबन्धन संस्कृतिको विकासमा लाग्नुपर्ने कुरामा जोड दिए । यस्तै जलवायु परिवर्तनको विषयमा खुलस्त धारणा पनि राखेका थिए ।

उसो त देउवा विगतमा कोइरालासँग तिक्त सम्बन्ध रहे पनि जहिल्यै श्रद्धापूर्वक सुनिन्छन् । उनी कोइराला आफ्नो नेता नै रहेको र कोइरालाकै कारण आफू छुट्टिएर पार्टी विभाजन गर्नुपरेको बताउने गर्छन् । 

देउवा ०५० को दशक अघिसम्म कोइरालाकै सहयोगी नेता रहेको जानकारहरू बताउने गर्छन् । त्यसपछि कांग्रेसको आन्तरिक राजनीतिमा कोइरालासँग गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको द्वन्द्व चर्किदा उनी पहिले मध्यमार्गी हुँदै शक्ति आर्जन गर्न सफल भएका थिए । पछि कोइराला र देउवाबिचमा प्रतिस्पर्धात्मक स्थिति सिर्जना हुँदा सम्बन्ध खलबलिएको थियो । 

शनिवारको समारोहमा १४ औँ महाधिवेशनमा देउवासँग सभापति लडेर निकटतम प्रतिस्पर्धी रहेका कोइरालाकै भतिजा डा. शेखर कोइराला देउवाप्रति पहिलेभन्दा नरम सुनिए ।  उनले देउवा जस्ता नेताले विगतमा खाएको डन्डा र दुःखका कारण नेपाल यो अवस्थासम्म पुगेको टिप्पणी गरे । 

‘म फेसबुक त हेर्दिनँ, सामाजिक सञ्जालहरू, सभापति जीलाई तपाईँहरू गाली गरिरहनुहुन्छ । लेखिरहनुहुन्छ, भनिरहनुहुन्छ,’ शेखरले भने, ‘पहिला उहाँले गरेको योगदानलाई हेर्नुपर्‍यो । सायद उहाँहरूजस्ता व्यक्तिहरूले बिपीको आह्वानमा जेल नगएको भए, डन्डा नखाएको भए, दुःख नगरेको भए तपाईँहरू यहाँ हुनुहुन्थ्यो? भनेर म सोध्छु।’ 

प्रकाशित: २१ असार २०८२ २०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App