रुपन्देही-३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। दलहरू उपनिर्वाचनकेन्द्रित भएर छलफलमा जुटिसकेका छन्। सत्तासीन दल नेकपा (एमाले) ले त उम्मेदवार नै छनोट गरिसकेको छ, एमालेबाट खिमलाल भट्टराई उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पनि उपनिर्वाचनकेन्द्रित छलफलमा जुटिसकेका छन्।
यसैबीच सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चा पनि उपनिर्वाचनकेन्द्रित छलफलमा गत हप्तादेखि नै जुटेको हो। मोर्चामा मुख्यत: दुईवटा पार्टीले दाबेदारी पेस गरेका छन्। डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारीका लागि दाबेदारी पेस गरेका छन् तर, सहमति जुटिसकेको छैन।
अन्य पाँचवटा दलहरूले तय भएको उम्मेदवारलाई सघाउने वचन दिइसके पनि जनमत र नागरिक उन्मुक्तिबीच कुरा नमिलेको मोर्चाको घटक दल राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए। तर, ढिलो-चाँडो सहति जुट्ने उनले बताए। ‘सहमति जुट्छ। मोर्चाबाट एकजना मात्रै उम्मेदवार हुन्छ,’ नेता झाले भने, ‘यसबीचमा थप सल्लाह गर्छौँ।’
यसैबीच नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने प्रस्ताव गरेका छन्। मोर्चाका एक नेताका अनुसार चौधरीले कुलमानलाई उम्मेदवार बनाउँदा हरेक हिसाबले राम्रो हुने बताएका छन्। ‘उहाँ (रेशम चौधरी) ले त्यो प्रस्ताव फ्याँक्नुभएपछि नै अरु दल पनि पछाडि हटेका हुन् जस्तो लाग्छ,’ ती नेताले भने।

तर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने कुलमान पार्टी वा मोर्चाबाट उम्मेदवार नबन्ने बताउँछिन्। ‘कुलमान घिसिङजस्ता व्यक्तित्वप्रति जनआस्था हुनु स्वाभाविक हो। उहाँको योगदान ऊर्जा क्षेत्रमा उल्लेखनीय छ। तर, उहाँ नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको वा चुनाव लड्ने भनेर हालसम्म पार्टीमा कुनै औपचारिक संवाद, प्रक्रिया वा निर्णय भएको छैन। त्यसैले हाल फैलिएको चर्चा हल्ला मात्रै हो। नागरिक उन्मुक्ति पार्टी कोही व्यक्तिको प्रतिष्ठा मात्र हेरेर होइन, उसको विचार, राजनीतिक दृष्टिकोण र पार्टीको सिद्धान्तसँग मेल राख्ने आधारमा निर्णय लिन्छ,’ अध्यक्ष श्रेष्ठले भनिन्।
त्यसो त यो हल्ला मात्रै भएको कुलमान निकट स्रोतको दाबी छ। ‘मुख्यत: सामाजिक सञ्जालहरूमा यस्तै हल्ला देखिन्छ तर, यो हल्ला मात्रै हो। झुटो हो यो। अहिलेका लागि उहाँ उज्यालो नेपाल अभियानमा हुनुहुन्छ। त्यसभन्दा दायाँबायाँ केही छैन,’ स्रोतले भन्यो, 'उहाँको विदेश भ्रमण पनि त्यही उज्यालो नेपाल अभियानकै क्रम हो।'
पछिल्लो पटक २०८१ चैत्र ११ गते सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमानले राजनीतिमा आउने छनक दिइरहेका छन्। अहिले उनी विदेश भ्रमणमा छन्। मध्यपूर्वी देशहरू बहराइन, कतार, ओमन, दुबईलगायतका देशहरू घुमिरहेका छन्। असार १७ गते नेपालबाट उडेका कुलमान अहिले बहराइनमा छन्। अब उनी दुबई, ओमन र कतारसमेत पुग्नेछन्। उनले मुख्यत: त्यहाँ कार्यरत नेपाली युवाहरूलाई भेट्ने लक्ष्य राखेका छन्।
यो पनि पढ्नुहोस्
रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्नेप्रकाशित: २० असार २०८२ २१:५९ शुक्रबार