नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले मन्त्रीदेखि वडा सदस्यका भूमिकासँग जनता सन्तुष्ट नभएको बताएकी छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रवार आफ्नो धारणा राख्दै नेतृ गौतमले यस्तो बताएकी हुन्।
‘पार्टी र जनप्रतिनिधिको भूमिका कमजोर बन्दै गएको छ। यसलाई कसरी सुधार गर्ने पार्टीले गम्भीर रूपमा लिनुपर्छ, ’ गौतमले भनिन्, ‘वडा सदस्य देखि मन्त्रीसम्मका नेताहरूको भूमिका प्रति कार्यकर्ता र जनता सन्तुष्ट हुन सकेका छैनन्।’ तीनै तहका सरकारले विनियोजन गरेका बजेटका विषयमा पारदर्शिता नदेखिएको पनि उनले बताइन्। ‘सरकारका मन्त्रीहरूको बजेट वितरण पारदर्शी भएन। लूटको धन फुपूको श्राद्ध भनेजस्तै आफ्नै क्षेत्रमा लगेको जस्तो भयो,’ उनले भनिन्। अब पार्टीले बजेट विनियोजन प्रणालीलाई वैज्ञानिक बनाउनुपर्ने पनि उनले बताइन्।
अर्को प्रसङ्गमा नेतृ गौतमले पार्टी बैठकलाई दुनियाँले हेरिरहेको बताउँदै एउटाले अर्को नेतालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गरिन्। ‘आफूले गरेको काम र निर्णयको जिम्मेवारी आफैँ लिने हो। काम आफू गर्ने अनि दोष अर्कालाई थुपार्नुको कुनै तुक छैन,’ उनले भनिन्।
सामाजिक सञ्जालमा जिम्मेवारीमा बसेका नेताले पार्टीलाई खुइल्याउने कामले कसैलाई फाइदा नपुग्ने गौतमको भनाई थियो।
प्रकाशित: २० असार २०८२ २१:०८ शुक्रबार





