नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र र शान्ति प्रक्रियामा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। कोइरालाको १०२औं जन्मजयन्तीका अवसरमा शुक्रबार (आज) शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँग गरेको कबुलविपरीत रहेको पनि उनले औँल्याएका छन्। 'हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौँ, के त्यतैतिर अगाडि बढेका छौं त ?' उनले सोधे।
दाहालले कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । 'अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ ?,' उनले भने।
फरक प्रसङ्गमा दाहालले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको बताए। 'म अहिले जनताको भावना र पीरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भैरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौं भने स्थिति गम्भीर छ,' उनले भने।
प्रकाशित: २० असार २०८२ १७:४१ शुक्रबार





