नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले विदेशी नागरिकता त्यागेर चुनाव लड्न आउनेहरूको हकमा 'कुलिङ पिरियड' राख्न माग गरेका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार (आज) धारणा राख्दै भट्टराईले यस्तो माग गरेका हुन्।
'कर्मचारीतन्त्रमा कुलिङ पिरियड राख्ने कुरा स्वगतयोग्य छ। अब अर्को एक ठाउँमा पनि कुलिङ पिरियड राख्न जरुरी छ। कुनै नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बनेको छ र फेरि विदेशी नागरिकता त्यागेर नेपालको नगरिकता लिएर आम निर्वाचन लड्न आउँछन् भने उनीहरूका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ,' भट्टराईको माग छ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको उदाहरण दिँदै भट्टराईले कुलिङ पिरियड नराखे त्यो नेपालमाथिकै खतरा हुने बताएका छन्। 'विगतमा यस्तो व्यवस्था नभएको कारणले कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र संवेदनशील पदमा पुगेको कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरियड राख्न जरुरी छ। नत्र भने आज विदेशी नगरिकता छोडेको हल्ला गर्यो। उताबाट विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै भोलिपल्टै नेपाली नगरिकता लियो। पर्सिपल्ट उम्मेदवार बन्यो। चुनाव लड्यो। यस्ता कदमले नेपाल राष्ट्रमाथि नै खतरा पैदा गर्दछ,' उनले थप भनेका छन्।
अमेरिका लामो समय बसेका रवि लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिइसकेका थिए तर, पछि नेपाल फर्किएर चुनाव लडिसकेपछि उनले अमेरिकी नागरिकता त्यागेर पुन: नेपाली नागरिकता लिए। पछिल्लो निर्वाचनमा चितवन-२ बाट निर्वाचित लामिछाने २०७९ पुस १० गते पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए। पछि उनको मन्त्री र सांसद पद नागरिकता विवादकै कारण 'कोल्याप्स' भएको थियो।
यसपछि पुन: २०८० वैशाख १० को उपनिर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित उनी पुन: गृहमन्त्री बने। तर, पछि सहकारी ठगी प्रकरणमा मुछिए र अहिले थुनामा छन्। यही बेला नेता भट्टराईले उनकै उदाहरण दिएर विदेशी नागरिकता त्यागेर चुनाव लड्न आउनेहरूको हकमा कुलिङ पिरियडको माग गरेका हुन्।
भट्टराई वैशाख १० कै उपनिर्वाचनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसँग तनहुँ-१ मा पराजित नेता हुन्। वाग्लेसँग उनी झन्डै १० हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।
प्रकाशित: २० असार २०८२ १७:१४ शुक्रबार