जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएका छन् ।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका छन् । सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीले जति सक्रियता देखाएको छ, त्यति नै ठूलो विवाद पनि चुलिँदै गएपछि यादवले धम्क्याएका हुन् ।
जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकहरूलाई मुद्दामा फसाइने र असली तस्करहरूलाई जोगाइने आरोप प्रहरीले खेप्दै आएको छ । यही विषयलाई लिएर जिल्ला प्रहरी प्रमुख एसपी खड्का र जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवबीच वादविवाद हुँदा अश्लिल शब्द प्रयोग गर्दै धक्की दिएका छन् ।
अध्यक्ष यादवले प्रहरी प्रशासनमाथि खुलेर आरोप लगाउँदै आएका छन् । ‘एसपीलाई मधेशमा लुट्न आएको भनेपछि विवाद चर्केको थियो । यादवले गुण्डागर्दी शैलीमा धम्की दिएका छन् ।
प्रहरीमाथि सार्वजनिक रुपमा प्रश्न उठ्ने अर्को पक्ष जिल्ला प्रहरी कार्यालयकै मुद्दा फाँट रहेको छ । मुद्दा फाँटका प्रहरी निरीक्षक बालिष्टर सिंहमाथि आर्थिक लेनदेनका आधारमा मुद्दा कमजोर बनाइदिने र झुटा मुद्दा लगाउने आरोपहरू सञ्चारमाध्यममार्फत सार्वजनिक भइसकेका छन् । तर, यस्ता गम्भीर आरोपहरूमाथि हालसम्म कुनै छानबिन नहुनुले प्रहरी नेतृत्वमाथि समेत प्रश्न उठेको छ ।
सर्लाहीमा वर्षौंदेखि तस्करीको जालो बलियो रहेको छ । सीमावर्ती क्षेत्र भएकाले यहाँ साना व्यापारीदेखि उच्चस्तरीय तस्करहरू सक्रिय छन् । यादवले प्रहरीमाथि लाग्ने आरोप लगाएपछि एसपी रिसाएको देखिन्छ । तुलनात्मक रुपमा कार्यसम्पादन राम्रो भएका एसपी खड्कालाई धम्की दिएपछि दुवै पक्ष आवेशमा आएको देखिन्छ । ‘हरेक असार महिनामा अध्यक्ष यादवले आतंक सिर्जना गर्ने गरेका छन्, यादवको काम नै मधेशी जनता पहाडी जनताको नाम लिएर आतंक सिर्जना गर्नेै हो, उनले सबै जसो सरकारी कार्यालयमा धम्क्याउने गर्छन’, एक कर्मचारीले सलाहीबाट भने।
जसपा नेता अशोक यादवजस्ता प्रदेशस्तरका नेताले खुलेआम प्रहरीमाथि आरोप लगाउनु र त्यसको प्रतिउत्तरमा प्रहरी प्रमुखले पनि कडा प्रतिक्रिया दिएपछि अहिले परिस्थिति अप्ठेरो हुने बताइएको छ ।
प्रकाशित: २० असार २०८२ १३:३९ शुक्रबार