सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशनको अवज्ञा गरेको भन्दै मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट हटाएका हुन् । आफ्नो निर्देशन नमानेको भन्दै गत असार ३ गते राजीनामा मागेपनि नदिएपछि बिहीबार पदबाटै हटाइएको मुख्यमन्त्री शाहले स्पष्ट पारेका छन् ।
मुख्यमन्त्रीसँगको सम्बन्ध चिसिएपछि मन्त्री चौधरीले सार्वजनिकरुपमै सक्ने भए बर्खास्त गरेर देखाउन चुनौती दिँदै आएका थिए । चौधरी नागरिक उन्मुक्तिबाट मन्त्री भएका हुन् ।
सोअघि पनि नागरिक उन्मुक्तिबाट वनमन्त्री मन्त्री भएका लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनमा मुछिएपछि चैतमा राजीनामा दिएका थिए ।
चौधरीको बर्खास्तीपछि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैं सम्हालेका छन् ।
बजेट निर्माणको विषयलाई लिएर असन्तुष्टि जनाउँदै मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री शाहको राजीनामा मागेका थिए ।
प्रकाशित: १९ असार २०८२ २०:१५ बिहीबार





